हामीले आफ्नै चिहान खनिरहेका छौं : राष्ट्रसंघका महासचिव
ग्लास्गो : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार संसारका नेताहरुले आफ्नै चिहान खनिरहेको बताएका छन् । स्कटल्याण्डको ग्लयास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप– २६ को उद्घाटन समारोहमा बोल्दै गुटेरेसले यस्तो बताएका हुन् ।
बढ्दो जलवायु परिवर्तन संकट र वैश्विक तापक्रम वृद्धिको प्रसंगमा संसारका नेता असफल भएको सन्दर्भमा उनले सो बताएका हुन् । ‘हामीले जैविक इन्धन बालेर आफ्नो चिहान खनिरहेका छौं र पर्यावरण विनाश गरिरहेका छौं, 'उनले भनेका छन्, ‘जैविक इन्धन बाल्नु र यसैमा निर्भर हुनु हाम्रो लत बनिसकेको छ । त्यसैले या त हामीले यसलाई पूर्णरुपमा रोक्नुपर्छ हैन भने यसले हामीलाई रोक्नेछ ।’
जैविक इनधनलाई रोक्न सबैले हरसम्भव प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले कोप २६ सम्मलेनले वैश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसमा कायम राख्ने लक्ष्य राखेको बताए ।
सो लक्ष्य कायम राख्न संसारका हरेक नेताहरुले जैविक इन्धन प्रयोगमा रोक लगाउनुपर्ने बताए । ‘वैश्विक तापक्रमसम्बन्धी हामीले हाम्रो लक्ष्य पुरा गर्न र जैविक विविधता र पर्यावरण जोगाउन सबथोक ‘पुग्यो’ भन्न सक्नुपर्छ,' उनले भनेका छन्, ‘हाम्रो पृथ्वीलाई हाम्रो हेराइभन्दा पहिले परिवर्तन नभएको देख्न हामीले प्रकृतिलाई शौचालयजस्तो व्यवहार गर्न छोड्नुपर्छ, कार्बन उत्सर्जन र जैविक विविधतालाई मार्न छोड्नुपर्छ ।’
करिब दुई हप्ता लामो समयसम्म चल्ने सो सम्मेलनमा करिब १२० मुलुकका राष्ट्र प्रमुख ग्लास्गोमा उपस्थित भएका छन् ।