संघीय शिक्षा ऐन ल्याउने गृहकार्यमा जुटेका छौं : मन्त्री पौडेल
बेनी : शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउने गृहकार्यमा जुटेको बताएका छन्। म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले संघीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरुबीच छलफल भएको बताए।
शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपुर्ति गर्न प्रक्रिया थालेको र नियमावली संसोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताए।
प्रेस सेन्टर म्याग्दीको चौंथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आएका मन्त्री पौडेल जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र एकिकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना स्वागत कार्यक्रममा सहभागि भएका थिए।
विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधी अन्तिम चरणमा पुगेको बताए।
'पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,’ उनले भने, 'भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुननिर्माण कार्यक्रमलाई पुर्णता दिन मन्त्रीपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्विकृत गरेको छ।’
अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरुलाई प्राथमिकिकरण गरेर तीन महिने कार्ययोजना बनाउन लागेको जानकारी दिए।
मन्त्री पौडेललाई इकाईका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिविधी, विद्यालय भवन पुननिर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराएका थिए।
प्रेस सेन्टर म्याग्दीको चौंथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ। कमिटिको उपाध्यक्षमा पदम विश्वकर्मा, आशिका मल्ल, सचिवमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन भएका छन्।
सम्मेलनको अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको थियो। सेन्टरले वि.स. २०७१ मा द्वन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु. एक लाखको कोष स्थापना गरेको थियो।
भिमदत्त चलचित्रको विशेष प्रर्दशनीबाट स्थापना भएको कोषमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका सहिद मदन केसीका भाइ बिनोद केसीले पनि सहयोग गरेका थिए। प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली लगायतले पुरस्कार वितरण गरेका थिए।