५१ लाख भन्दा बढीको तस्करीको सामान बरामद
भैरहवा : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली गरेर भित्र्याइएको ठूलो परिणाममा लिप केयर र कपडा बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका– १ तिनाउ पुलस्थितबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको दुई वटा पिकअप गाडीमा तस्करीले सामान भित्र्याइएको सूचना प्राप्त भएपछि लिप केयर, कपडा, जुत्ता लगायतका साम्रगी बरामद गरेको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी सत्य नारायण थापाले बताए ।
उनका अनुसार ५१ लाख ४८ हजार ५ सय मूल्य बराबरको ६० हजार पिस लिप केयर, उनी कुर्थासुरुवाल २ सय ३६ सेट, चुन्नी ६ सय थान र बनारसी साडी ६७ थान बरामद गरिएको छ ।तस्करीमा प्रयोग भएको उक्त गाडी नियन्त्रण लिनुका साथै गाडी चालकहरु रुपन्देही सैनामैना नपा २ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारीलाई पक्राउ गरी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।