पुल बन्यो, बनेन बाटो

पुल बन्यो, बनेन बाटो

नुवाकोट : विकासमा स्थानीयवासीको आवश्यकतालाई व्यवस्थापन गर्न नसक्दा नुवाकोटमा बनेको एउटा पक्कि पुल विवादमा परेको छ। पुल बनेको दुई वर्षमासमेत त्यसलाई छिचोल्ने बाटो नबन्दा विकासले गिज्याइरहेको छ। 

नुवाकोटको केउरेनीमा त्रिशूली नदीमाथि अजंगको लामो पक्कि पुल बनेको छ। सो पुल त्रिशूली-देवीघाट-गल्छी सडकमार्ग भएर यात्रा गर्ने सकैको आकर्षणको केन्द्र बनेको छ। यद्यपि, पुल बनेको दुई वर्षमासमेत पुलबाट आवतजावत गर्नका लागि मोटरबाटो बनेको छैन भन्दा जोसुकैलाई पनि आश्चर्य लाग्नसक्छ। 

नुवाकोटको वेलकोटगढी नगरपालिकाको केउरेनी र धादिङको गल्छी गाउँपालिकाको फोस्रेटार जोड्ने सो पुल त्रिशूली नदीमाथि निर्माण गरिएको हो। पुल निर्माण भएपछि दुवै जिल्लावासीलाई आवतजावतमा पक्कै सुविधा भएको छ। तर, पुल छिचोलेर जाने मोटरबाटो नहुँदा सर्वसाधारणको बारी हुँदै यात्रा गर्नुपर्ने वाध्यता छ। 

नेपाल सरकारले १५ करोड ११ लाख ३५ हजार रुपैयाँको लागतमा सात वर्ष लगाएर सो पुल निर्माण गरेको हो। दुई वर्ष अगाडि बन्दै गरेको अवस्थामा पुल हावाहुरीले भत्काएको थियो। 

वर्षौं लगाएर बनाएको पुलको पारीपट्टि मोटरबाटो नै नभएको हाल आएर स्थानीयवासी तथा जनप्रतिनिधिले वल्ल जानकारी पाए। सो पुलले धादिङवेसीबाट मलेखु नपुगी गल्छी हुँदै काठमाडौं पुग्न २२ किलोमिटर छोटो हुने स्थानीयवासी बताउँछन्। 

एकसय ९१ दशमलव आठ मिटर लम्बाइको मोटरेवल पुलमा पाँच वटा स्पान संख्या रहेको छ। तर, पक्कि पुलको पारीतर्फ मोटर हिँड्नका लागि बाटो नै नभएको आफूहरुलाई पछि मात्रै जानकारी भएको स्थानीय उपभोक्ता लवराज खतिवडाले बताए। आफूहरुले पुल निर्माण हुन थालेका बेला पहिले नै डिभिजनल सडक कार्यालय नुवाकोट र निर्माण पक्षले पुलको पश्चिमतर्फ बाटो नभएको विषयमा जानकारी गराउँदा कुनै चासो नदिएका कारण हाल समस्या आएको उनको भनाई छ। सम्वन्धित निकायले छिट्टै बाटोमा पर्ने स्थानीवासीको जग्गा मुआव्जा वितरण गरेर रेखाङ्कन गर्नु पर्ने खतिवडाको भनाई छ। 

स्थानीय ६ घरपरिवारको डेढदेखि दुई रोपनी जग्गा मोटरबाटाका लागि अधिग्रहण गर्नुपर्ने छ। स्थानीय चलनचल्तीको मूल्य अनुसार सो स्थानको जग्गाको प्रति आना आठ लाख रुपैयाँ मूल्य पर्ने स्थानीयको भनाई छ। पुलको आसपासमा स्थानीयवासीको साँढे दुई सय मिटरभित्रको जग्गा अधिग्रहण गरेर मात्रै बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग रहेको अर्का उपभोक्ता रुद्र खतिवडाले बताए। स्थानीयवासीले तत्काल सो माग पुरा गर्नु पर्ने बताएका छन्। 

माग पुरा नभएमा पुलमा यातायात नै अवरोध गर्ने चेतावनी स्थानीयले दिएका छन्। अर्का स्थानीयवासी कृष्णकुमार खतिवडा पुल बन्नु अगाडि पहिचान गरेर बाटो बनाइसक्नु पर्नेमा त्यसो नगरिदा स्थानीयवासी मर्कामा परेको बताएका छन्। 

यस सम्वन्धमा डिभिजनल सडक कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले पुलका कारण स्थानीयलाई समस्या नभई सहयोग गर्नु पर्नेमा आफुहरु सकारात्मक रहेको बताउँछन्। उनले आफूले यस विषयमा अध्धयन सुरु गरिसकेको र एप्रोच सडक बनाएकोमा काम पुरा हुन वाँकी रहेको हुन सक्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.