म्यानमार सैनिकद्वारा सयौँ घर र चर्चमा आगजनी, सैनिक अस्पताल आक्रमणमा तालिबान सेनाका मुख्य कमान्डरको मृत्यु

म्यानमार सैनिकद्वारा सयौँ घर र चर्चमा आगजनी, सैनिक अस्पताल आक्रमणमा तालिबान सेनाका मुख्य कमान्डरको मृत्यु

म्यानमार सेनाले सयौँ घर र चर्चमा आगजनी गरेको समाचार बुधबार चर्चामा रह्यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेनाले आदिवासीको घर र चर्चमा आगजनी गरेको हो। यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र चीनका राष्ट्रपतिको कडा आलोचना गरेको खबर पनि निकै चर्चामा रह्यो। कोप २६ मा सम्मेलनमा उपस्थित नभएको भन्दै बाइडेनले चीन र रुस वातावरण जस्तो गम्भीर मुद्दाबाट टाढिएको आरोप लगाएका हुन्। प्रस्तुत छ, बुधबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


बाइडेनद्वारा रुस र चीनका राष्ट्रपतिको आलोचना 

ग्लास्गो : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी र चिनियाँ राष्ट्रपतिको आलोचना गरेका छन्। २६ औं जलावायु सम्मेलन (कोप २६) मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी नभएको भन्दै बाइडेनले उनीहरूको आलोचना गरेका हुन्। 

मंगलबार राति कोप २६ समारोहमा बोल्दै बाइडेनले जलवायु एउटा महत्वपूर्ण मुद्दा भएको तर संसारका शक्ति राष्ट्र चीन र रुस त्यस मुद्दाबाट टाढिएको बताएका छन्। 

स्कटल्याण्डको ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १४ सम्म जारी कोप २६ सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित छन्। यद्यपि, दुवै नेताले वार्ताका लागि आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। 

बाइडेनले जलवायु जस्तो महत्वपुर्ण सम्मेलनमा चीन र रुस आफ्नो नेतृत्व दिन असफल भएको आरोप समेत लगाएका छन्। ‘जलवायु परिवर्तनलाई सम्बोधन गर्न चीन र रुस दुवै मुलुक असफल भएका छन्’, बाइडेनले भनेका छन्, ‘यो सम्मेलनमा दुवै देशका शीर्ष नेता उपस्थित हुन नसक्नु सबैभन्दा ठूलो गल्ती हो। बाहिर आफूहरुलाई विश्वकै नेता भनेर चिनाउन खोज्ने दुवै देशका राष्ट्रपति जलवायु जस्ता महत्वपूर्ण मुद्दाबाट भने टाढिएका छन्।’
००० 

कोप २६ : एक दशकमा ३० प्रतिशत मिथेन ग्यास कटौती गर्न १ सय देश सहमत
ग्लास्गो : ग्लास्गोमा जारी २६ औं जलवायु सम्मेलनमा संसारका १ सय मुलुकले मिथेन ग्यास कटौती गर्ने प्रतिज्ञा गरेका छन्। सन् २०३० सम्म ३० प्रतिशत मिथेन ग्यास उत्सर्जन कटौती गर्ने गरी १ सय मुलुकले प्रतिज्ञा गरेका हुन्। 

करिब सयभन्दा बढी मुलुक सम्मिलित राष्ट्र प्रमुखहरुले एक दशकभित्रमा करिब १ तिहाई मिथेन ग्यास उत्सर्जन कम गर्ने बाचा गरेका हुन्। मिथेन ग्यास उत्सर्जन कटौतीले विश्व तापमान वृद्धि कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। 

यद्यपि मिथेन ग्यास उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने भारत, चीन, अष्ट्रेलिया र रुसले भने सो प्रतिज्ञामा सामेल नभएको बताइएको छ। कार्बनडाइअक्साइडपछि मिथेन ग्यासलाई खतरनाक हरितगृह ग्यास मानिन्छ। पृथ्वीको तापक्रम वृद्धिको लागि मिथेन ग्यास प्रमुख जिम्मेवार मानिन्छ।
०००

म्यानमार सैनिकद्वारा सयौँ घर र चर्चमा आगजनी
चीन : म्यानमार सेनाले आदिवासी समूहका सयौँ घर र चर्चमा आगजनी गरेका समाचार सार्वजनिक भएको छ। 

म्यानमारको पश्चिमी चीन राज्यको थान्टलाङ टाउनका २ सयभन्दा बढी घरमा सेनाले आगजनी गरेको रेडियो फ्रि एसिया (आरएफए) मा समाचार छ। सेनाले गएको शुक्रबार र शनिबार मात्र २ सयभन्दा बढी घर,  होटेल र त्यहाँका चर्चमा आगजनी गरेको स्रोतले रेडियो फ्रि एसियालाई बताएको छ। 

गत हप्ता सो क्षेत्रमा चीनल्याण्ड डिफेन्स फोर्सका दुई सैनिकलाई अज्ञात समूहले मारेपछि सेनाले आगजनी र यातना दिन थालेको बताइएको छ। राज्य विभागका प्रवक्ता नेड प्राइसले ग्रामीण इलाकामा म्यानमार सेनाको बढ्दो अत्याचार रोक्न अन्तर्राष्ट्रिय निकायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

थान्टलाङ टाउनमा करिब १० हजार मानिस बसोबास गर्दै आएका छन्। म्यानमार सेनाले करिब ९ महिनाअघि सैन्य ‘कू’ लागू गरेको थियो। 
०००

चीन र उत्तर कोरियाबीच रेल ढुवानी सेवा पुन: सञ्चालन
बेइजिङ : चीन र उत्तर कोरियाले रेल ढुवानी सेवा पुन: सञ्चालन गरेका छन्। दुवै देशले महामारी व्यापार अन्त्यको घोषणा गर्दै सोमबारदेखि रेल ढुवानी पुन: सञ्चालन गरेका हुन्। 

विश्व कोरोना महामारी सुरु भएपछि उत्तर कोरियाले चीनसँगको व्यापार समेत बन्द गरेको थियो। दुवै देशले रेल ढुवानी पुन: सञ्चालन गरेसँगै चीनको डाङडोङ–यालु नदी सीमा हुँदै उत्तर कोरियाको सिनुइजुसम्म रेल सेवा सञ्चालन हुनेछ। 

सो सेवा पुन: सञ्चालन भएपछि कोरोना भाइरस र आर्थिक मन्दीका कारण खाद्य संकट सामना गरिरहेको उत्तर कोरियामा सहयता सामग्री पठाउने प्रतिज्ञा चीनले गरेको छ।

संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक रिपोर्टअनुसार उत्तर कोरियामा तत्काल ८ लाख ६० हजार टन खाद्यान्न अभाव छ। 
०००

सैनिक अस्पताल आक्रमणमा तालिबान सेनाका मुख्य कमान्डरको मृत्यु 
काबुल : काबुलको सैनिक अस्पतालमा मंगलबार दिउँसो भएको दुई वटा हमलामा तालिबान सेनाका वरिष्ठ कमान्डरको मृत्यु भएको छ। करिब १९ मानिसको ज्यान जाने गरी भएको हमलामा सेनाका वरिष्ठ कमान्डर हम्दुल्लाह मोख्लिसको मृत्यु भएको हो। 

सेनाका कमान्डर हम्दुल्लाहको जवाफी आक्रमणको क्रममा मृत्यु भएको एएफपीमा समाचार छ। हम्दुल्लाह हक्कानी सञ्जालका मुख्य सदस्य र बद्री कप्र्स विशेष बलका कमान्डर रहेको बताइएको छ।

मंगलबार दिउँसो काबुलस्थित अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा दुईवटा हमला भएका थिए। सो हमलामा १९ को मृत्यु भएको थियो भने करिब ५० भन्दा बढी घाइते भएका थिए। 

सो हमलाको जिम्मा बुधबार इस्लामिक स्टेट खोरासान (आइएस–के) ले लिएको बताइएको छ। 
०००

भर्जिनियामा रिपब्लिकनको जित 
लिजवर्ग : अमेरिकाको भर्जिनिया राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारले जित हासिल गरेका छन्। डेमोक्रेट्स प्यानललाई हराउँदै रिपब्लिकनका उम्मेदवार ग्लेन योङकिनले राज्यको गर्भनरका रुपमा जित हासिल गरेका हुन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बुधबार बिहान प्रकाशित समाचारअनुसार ५४ वर्षीय योङकिनले सो जित हासिल गरेका हुन्। योङकिनले कोभिड १९ को अन्त्य र जातीय मुद्दालाई प्राथमिकतामा राखेको बताइएको छ। 

योङकिनको जितसँगै भिक्टोरियामा लामो समयपछि रिपब्लिकनको जित भएको छ। विगतका वर्षहरुमा सो राज्यमा डेमोक्रेट्सहरुले जित हासिल गरेका थिए। 
०००

पाकिस्तानमा पत्रकारविरुद्ध हिंसा बढ्यो 
कराची : पाकिस्तानमा पत्रकारविरुद्ध हिंसा बढेको बताइएको छ। पत्रकारहरुमाथि गरिने शारिरीक र मानसिक यातनाका घटना बढिरहेको बताइएको छ। 

सो हिंसाको विरोधमा त्यहाँका समाचार संगठनलगायतले सरकारविरुद्ध मोर्चा समेत खोलेका छन्। स्थानीय मिडिया डन न्यूजका अनुसार पाकिस्तानको इमरान खान सरकारमा पछिल्लो समय मात्र करिब दुई दर्जनभन्दा बढी पत्रकारहरु गिरफ्तारमा परेका छन्। दर्जनौ पत्रकार एवम् सञ्चारकर्मीलाई सरकार  निकट व्यक्तिले शारिरीक र मानसिक यातना दिइरहेका छन्।

समाचार निर्देशकहरुको एडिटर्स फर सेफ्टी र पाकिस्तान प्रेस फाउन्डेसन पीपीएफको सामूहिक मञ्चले पत्रकारमाथि हुने दुर्व्यवहार र हिंसाको विरोध गरेको छ भने इमरान खान नेतृत्वको सरकारको कारबाही र अनुसन्धानको लागि माग गर्दै अभियान सञ्चालन गरेको छ। सो अभियान अनलाईन माध्यममार्फत समेत सञ्चालन गरिने बताइएको छ।
०००

इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार
दमास्कस : इजरायल सेनाले सिरियाको राजधानी दमास्कसनजिकै क्षेप्यास्त्र प्रहार गरेको छ। राजधानी दमास्कसमाथि हमला गर्ने लक्ष्यसहित इजरालयलले बुधबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो। 

इजरायलको क्षेप्यास्त्र प्रहारबाट भौतिक क्षति भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ। यद्यपि, सो क्षेत्रमा मानवीय क्षतिको विवरण भने प्राप्त नभएको साना न्यूज एजेन्सीले उल्लेख गरेको छ। 

इजरायलको सुरक्षा बलले भने क्षेप्यास्त्र प्रहारबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन। करिब तीन दिनअघि इजरायली सेनाले दमास्कस क्षेत्र वरिपरिका विभिन्न स्थानमा बम हमला गरेको बताइएको छ। 

यसअघि अक्टोबर १४ मा इजरायलको हवाई हमलामा परी सिरियाली सरकारका ९ सैनिकको मृत्यु भएको थियो। 

– संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.