राजमार्ग संरक्षण अभियान: एकैदिन पुरिए सयौं खाल्डाखुल्डी
स्याङ्जा : सिद्धार्थ राजमार्ग जीर्ण बन्दै गएको छ। पहाड र तराई जोड्ने अनि पुरानो राजमार्ग जीर्ण बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले संरक्षणका लागि पहल सुरु गरेका छन्। अभियानअन्तर्गत स्याङ्जा अन्र्तगतका राजमार्गमा एकैदिन ८२ किलोमिटर मर्मत सम्पन्न पूरा भएको छ। पोखरा-सुनवल जोडने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाखण्डका सयौं ठाउँका खाल्डाखुल्डी भर्ने काम भएको हो।
सडक डिभिजन कार्यालय पोखरामार्फत बर्सेनि टालटुलका बजेट बिनियोजन गर्छ। ठेकेदारले काम गरेको पनि देखिन्छ। तर, टालटुले मार्ग केही महिनामै भत्किने गर्छ। जसका कारण पैदलयात्री र सवारी साधनले सास्ती भोग्नु परेको छ। यसले दुर्घटनालाई समेत बढवा दिएको छ। वर्षामा हिलो र हिउँदमा धूलोले राजमार्गका दायाँबायाँका बासिन्दा हैरान मात्र छैनन् रोगी समेत बनेका छन्।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र गाउँपालिकाका तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुख र कर्मचारी, सडक डिभिजन कार्यालयलगायतका कर्मचारी तथा स्वस्फूर्तरुपमा आएका स्थानीयले राजमार्गका खाल्डाखुल्डी भर्ने काम गरेका हुन्। फेदिखोला गाउँपालिकाको कुभिण्डेदेखि गल्याङ् नगरपालिकाको राम्दीपुलसम्मका खाल्डाखुल्डी पुरिएको प्रजिअ पौडेलले जानकारी दिए।
बेमौसमी वर्षा र सडक विस्तारका नाउमा फोडिएका भित्ताले राजमार्गलाई जीर्ण बनाएको छ। जसका कारण राजमार्ग भत्किनुका साथै ठूल्ठूला खाडल परेका छन्। तिनै खाडलमा पानी जमेर यात्रु आगामनलाई अहसज बनाएको छ।
'व्यक्तिले चाह्यो भने ठूलो कुरो होइन रहेछ, स-साना कुराका समन्वय गर्दे जाने हो भने स-साना कामले ठूलो परिवर्तन र सकारात्मक प्रभाव पर्दोरहेछ’ पुतलीबजार नगरपालिका ११ का कार्यवाहक वडाध्यक्ष मनोज पौडेलले बताए।
यसरी राजमार्गका खाल्डाखुल्डी बालुवा, ढुंगा र माटाले पुरे पनि दिर्घकालीन समस्या समाधान हुँदैन। केही समयका लागि सहज बनाउन यस्ता अभियान संचालन गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, फेदिखोलाका अध्यक्ष घनश्याम सुवेदी, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँण र गल्याङ् नगरप्रमुख भूपराज अधिकारीलगायत जनप्रतिनिधिको प्रत्यक्ष सहभागी थिए।