सौर्य एयरलाइन्सको भैरहवा–विराटनगर सिधा उडान सुरु
भैरहवा : विगत आठ वर्षदेखि हवाई सेवा दिँदै आएको सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान सुरु गर्ने भएको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै एयरलाइन्सले तिहारलगत्तै कार्तिक २२ गतेदेखि नियमित उडान सुरु गर्ने सौर्य एयरलाइन्सका भैरहवा स्टेसन म्यानेजर जितेन्द्र यादवले बताए ।
यात्रुहरुको सहजताका साथै प्रदेश १ लाई बुद्ध जन्मस्थल लुम्बिनीसँग हवाई सेवाबाट जोडेर पर्यटन र औद्योगिक प्रवद्र्धनको उद्देश्यले एयरलाइन्सले उडान सुरु गर्न लागेको उनले बताए । भैरहवा–विराटनगर सिधा उडान भर्ने यो पहिलो एयरलाइन्स हो ।
‘अहिलेसम्म कुनै एयरलाइन्स कम्पनीले भैरहवा–विराटनगर सिधा उडान नगर्दा यात्रुहरुलाई असहज भएको थियो,' स्टेशन म्यानेजर यादवले भने, ‘यात्रुहरुको मागलाई मध्यनजर गर्दै सौर्य एयरलाइन्सले सिधा उडान भर्ने निर्णय गरेको हो ।’
हाल ६ हजार रुपैयाँमा दैनिक भैरहवा–विराटनगर दिउँसो ३ बजेर ४५ मिनेटमा र विराटनगर–भैरहवा साँझ ५ बजेर १० मिनेटमा उडान भर्ने एयरलाइन्सले जनाएको छ । ‘भैरहवा र विराटनगर दुवै औद्योगिक क्षेत्र पनि हुन्,' स्टेशन म्यानेजर यादवले भने, ‘यसलाई हवाई सेवाबाट सिधारुपमा जोडेर दुवै क्षेत्रको पर्यटन साथै व्यवसायिक तथा औद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि उडान सुरु गर्न लागेका हौँ।’
यसअघि हवाईको माध्यमबाट भैरहवा–विराटनगर जानुपरेमा भैरहवादेखि काठमाडौं र त्यसपछि विराटनगर पुग्ने हुँदा लामो समय लाग्ने हुँदा यात्रुहरुलाई असहज हुने गरेको थियो ।
अब सिधा उडानले यात्रुहरुलाई सहज हुनुका साथै पर्यटन, व्यवसायिक र औद्योगिक क्षेत्रको प्रवद्र्धन हुने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्स कम्पनीका अनुसार ५० सिट क्षमताको जेट विमानबाट उडान भर्ने भैरहवा–विराटनगरको करिब ४५ मिनेटको यात्रा हुनेछ । जेट विमान भएकाले आकाशमा १८/२० हजार फिटमाथि उडान भर्दा यात्राको क्रममा विमान हल्लिने (टर्बोलेन्स) लगायत डर हुँदैन ।
हाल एयरलाइन्स कम्पनीले काठमाडौं, भैरहवा, विराटनगर, भद्रपुर, धनगढीमा दैनिक हवाइ सेवा दिँदै आएको छ ।