दिल्लीको वायु गुणस्तर ‘अत्यन्तै नाजुक’, कोभिड महामारीका कारण घट्यो मानिसको औसत आयु

दिल्लीको वायु गुणस्तर ‘अत्यन्तै नाजुक’, कोभिड महामारीका कारण घट्यो मानिसको औसत आयु

कोभिड–१९ महामारीका कारण मानिसको औसत आयु घटेको एक अध्ययनले देखाएको छ। बिहीबार स्काई न्यूजमा प्रकाशित समाचार अनुसार सो अध्ययनले कोभिडकै कारण २ करोड ८० वर्ष जीवन गुमेको छ। बिहीबार भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर ‘अत्यन्तै नाजुक’ बनेको समाचार भारतीय सञ्चारमाध्यमले लेखेका छन्। स्वास्थ्यलाई आवश्यक पर्ने सामान्य गुणस्तरभन्दा गुणस्तर निकै खस्किएको हो। यसैगरी युरोप कोरोना महामारीको इपिसेन्टर बनेको डब्लूएचओले बताएको समाचार बिहीबार प्रमुख बन्यो। प्रस्तुत छ, बिहीबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


दिल्लीको वायु गुणस्तर ‘अत्यन्तै नाजुक’ अवस्थामा

नयाँ दिल्ली : बिहीबार भारतको राजधानी दिल्लीको वायु गुणस्तर अत्यन्तै नाजुक भएको बताइएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार दिउँसो दिल्लीको वायुको गुणस्तर निकै खस्किएको हो।

दीवाली (दीपावली) का बेला वायुको गुणस्तर खस्किने चिन्ता भइरहेका बेला यसको गुणस्तर खराब भएको हो। अधिकारीहरूका अनुसार दिवालीमा पटकालगायत प्रदूषणमा सघाउ गर्ने वस्तु नपड्काए पनि वायुको गुणस्तर अझ घट्ने खतरा रहेको छ। 

यसअघि बुधबार पनि दिल्लीको वायु निकै खराब रहेको थियो।

राष्ट्रिय प्रदूषण नियन्त्रण परिषद्का अनुसार बुधबार दिल्लीको औसत वायु गुणस्तर इन्डेक्स (एक्यूआई) ३१४ मापन गरिएको थियो। सो गुणस्तर बिहीबार ३०३ रहेको छ भने सोमबार २८१ मपन गरिएको थियो।

सामान्यत: १०० भन्दा मुनि रहेको एक्यूआई स्वस्थकर मानिन्छ। १०० भन्दा माथिको एक्यूआई स्वास्थ्यका लागि खतरा हुन सक्छ।
०००

युरोपमा कोभिड–१९ संक्रमण दर गम्भीर अवस्थामा : विश्व स्वास्थ्य संगठन
कोपनहेगन : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा पछिल्लो समय देखिएको कोरोना भाइरस संक्रमण दर गम्भीर चिन्ताको विषय भएको बताएको छ। संगठनको क्षेत्रीय कार्यालयले बिहीबार यस्तो बताएको हो।

पछिल्लो समय बढिरहेको संक्रमणका कारण युरोपका मुलुकहरूले आउँदा केही साता गम्भीर चुनौतिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने समेत चेतावनी दिइएको छ। डा. हान्स क्लजले पछिल्लो समय युरोपमा फैलिरहेको कोरोनाको गति तीव्र भएको भन्दै यो गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

‘हामी पुन: अर्को चरणको महामारी बढ्ने गम्भीर मोडमा पुगेका छौँ’, डा. क्लजले भनेका छन्, ‘एक वर्ष पहिले जस्तै युरोप महामारीको इपिसेन्टर भएर आएको छ।’
०००

अमेरिकी दूतावासका कर्मचारीले स्वैच्छिक रूपमा इथोपिया छाड्न पाउने
वासिङटन : इथोपियास्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीले स्वैच्छिक रूपमा इथोपिया छाड्न सक्ने भएका छन्। पछिल्लो समय इथोपियामा बढ्दै गएको हिंसात्मक द्वन्द्वका कारण अमेरिकाले आफ्ना कर्मचारीलाई स्वैच्छिक रूपमा इथोपिया छाड्न अनुमति दिएको हो।

यद्यपि आकस्मिक बाहेकका कर्मचारी तथा परिवारका सदस्यले मात्र इथोपिया छाड्न सक्ने बिहीबार जारी विज्ञप्तीमा भनिएको अलजजिराले लेखेको छ। यस्तो निर्णय अमेरिकाले बुधबार इथोपियाको अवस्था ‘गम्भीर चिन्ताको विषय’ बनेको भनाइ सार्वजनिक गरेको एक दिनपछि नै आएको हो।

विज्ञप्तीमा इथोपियाको भ्रमण अहिले सुरक्षित नभएको र त्यहाँको सरकारले इन्टरनेट, टेलिफोनलगायतका सेवाहरू बन्द गरेको भनिएको छ।

पछिल्लो समय इथोपियामा गृहयुद्ध चर्किएको छ। उत्तरी क्षेत्रको टीग्रे समूहले राजधानी एडीस अबाबातर्फ आफूहरू बढेको बताएसँगै सरकारले संकटकाल घोषणा गरेको छ।
०००

कोइलाको प्रयोग रोक्न १९० मुलुक र संघसंस्था सहमत
लन्डन : जलवायु परिवर्तनका कारकमध्ये एक प्रमुख कोइलाको प्रयोग रोक्ने प्रतिवद्धता पत्रमा ४० बढी मुलुकसहित १९० संघसंस्थाले हस्ताक्षर गरेका छन्। स्कल्याण्डमा भएको कोप २६ सम्मेलनमा ती मुलुक र संस्थाहरूले कोइलाको प्रयोग रोक्ने सहमति गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोइला प्रयोग हुने प्लान्ट बन्द गर्ने तथा नयाँ प्लान्टमा लगानी नगर्ने प्रतिवद्धता भएको हो। धनी राष्ट्रले कोइला प्रयोग हुने ऊर्जाका प्लान्टहरू सन् २०३० तथा गरिब मुलुकहरूले २०४० सम्ममा बन्द गर्ने प्रतिवद्धता गरेका हुन्।

बीबीसीका अनुसार पोल्यान्ड, भियतनाम र चिलीलगायतका मुलुकले सो प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्। तर धेरै कोइला प्रयोग हुने मुलुकहरू भारत, चीन र अस्ट्रेलियाले भने सो प्रतिवद्धतामा हस्ताक्षर नगरेको बताइएको छ।
०००

कोभिड महामारीका कारण करिब ‘३ करोड वर्ष जीवन गुम्यो’ र औसत आयु घट्यो : अध्ययन
लन्डन : कोरोना महामारीका कारण २ करोड ८० लाख वर्ष ‘अतिरिक्त जीवन’ गुमेको एक अध्ययनले देखाएको छ। अक्स्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार कोभिडका कारण ज्यान गुमाएका र सामान्य रूपमा बाँच्न सक्ने समयको हिसाब गर्दा सो समयावधि बराबर जीवनको समय गुमेको हो।

सो अध्ययनका अनुसार कोरोना भाइरस संक्रमणका कारण अल्पायुमै मरेकाहरूको सामान्य आयु हिसाब गर्दा २ करोड ८० लाख वर्षको जीवन गुमेको हो। 

यसैगरी अध्ययनले कोरोना महामारीकै कारण मानिसको औसत आयु पनि घटेको देखाएको छ। अध्ययनकर्ताले ३७ मुलुकको तथ्याङ्क अध्ययन गरेर सो निष्कर्ष निकालेको स्काई न्यूजले समाचार लेखेको छ।

अध्ययनका अनुसार न्यूजिल्यान्ड, ताइवान र नर्वेबाहेक सबै मुलुकको औसत आयु घटेको छ। बेलायतको औसत आयु एक वर्षले घटेको छ। रुस, अमेरिका र बुल्गेरियामा सबभन्दा बढी औसत आयु घटेको अध्ययनले देखाएको छ।
०००

चिनियाँ भूतपूर्व उच्च अधिकारीमाथि यौन दुव्र्यवहारको आरोप
बेइजिङ : चिनियाँ टेनिस स्टार खेलाडीले भूतपूर्व उच्च अधिकारीलाई यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । ३५ वर्षीय टेनिस खेलाडी पेङ शुवाइले भूतपूर्व उच्च अधिकारीलाई यस्तो आरोप लगाएकी हुन् ।

सत्तारुढ कम्युनिस्ट पार्टीका नेता झाङ गाओलीले आफूमाथि तीन वर्ष पहिले यौन दुव्र्यवहार गरेको शुवाइले आरोप लगाएकी छिन् । शुवाइले मंगलबार राति सामाजिक सञ्जाल विबोमा यौन दुव्र्यवहार भएको बताएकी थिइन् । तर लगत्तै उनले आफ्नो पोस्ट् हटाएकी जनाइएको छ ।

०००

तिब्बती बालबालिकालाई मातृभाषा सिक्न चीनको रोक
बेइजिङ : चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्। 

विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकाहरुलाई रोक लगाएका हुन्। विद्यालयमा आफ्नो मातृभाषा पढ्न नपाएपछि तिब्बती बालबालिकाहरुले बिदाको समयमा तिब्बती भाषा पढ्दै आएका थिए। चिनियाँ अधिकारीहरुले बिदाको समयमा समेत मातृभाषा पढ्नबाट रोक लगाएको रेडियो फ्री एसियमा (आरएफए) समाचार छ। उत्तरपूर्वी तिब्बतको आम्दो गाउँबाट एक स्थानीयले यो सूचना आरएफएलाई दिएका थिए। 

विद्यालय बन्द हुँदा कुनैपनि व्यक्ति वा संस्थालाई हिउँदको बिदामा तिब्बती भाषा सिकाउन वा अनौपचारिक कक्षा वा कार्यशाला सञ्चालन गर्न अनुमति छैन भन्दै चिनियाँ सरकारले स्थानीय प्रशासन र विद्यालयहरुलाई निर्देशन दिएको थियो। सरकारको आदेश उल्लंघन गरेको पाइएमा गम्भीर सजाय भोग्नुपर्ने स्थानीय सरकारले विद्यालय र शिक्षकहरुलाई चेतावनी दिएको छ। त्यहाँका तिब्बती समुदायहरुले तिब्बती भाषा मेटाउने प्रयासमा चीनले यस्तो कदम चालेको भन्दै आन्तरिक रुपमा विरोध जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.