चार मन्त्री रिहा गर्न सुडानी सेना प्रमुखको आदेश
काठमाडौं : सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल–बुर्हानले आफ्नो नियन्त्रणमा रहेका चार मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन्। सैनिक शासनविरुद्ध आन्दोलन चर्काउन थालेपछि केही दिन अघि त्यहाँको सेनाले चार मन्त्रीलाई नियन्त्रणमा लिएको थियो।
मन्त्रीलाई पक्राउ परेको विषयमा अन्तराष्ट्रियस्तरमा चर्को विरोध हुन थालेपछि सुडानका सेना प्रमुखले आफ्नो नियन्त्रणमा रहेका मन्त्रीलाई रिहा गर्न आदेश दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले खबर छापेका छन्। सुडानको सरकारी टेलिभिजनका अनुसार, त्यहाँको सेनाले दूरसंञ्चार,उद्योग, खेलकुद र सूचना मन्त्रीलाई तत्काल रिहा गर्न आदेश दिएको हो। सुडानी सेनाले अक्टोबर २५ मा सैनिक कु गरी सत्ता हातमा लिएको थियो।
सुडानको राजनीतिलाई सहज बनाउन संयुक्त राष्ट्रसंघले समन्वय गरिरहेका बेला सुडानी सेनाले पक्राउ परेका मन्त्री रिहा गर्न आदेश दिएका हुन्। सुडानमा देखिएको पछिल्लो राजनीतिक संकट छिट्टै समाधान हुनेमा संयुक्त राष्ट्रसंघले विश्वास लिएको छ। सैनिक कु भएपछि प्रजातन्त्र समर्थक जनताहरुले त्यसको विरोधमा ठूला प्रर्दशनहरु गर्दै आएका छन्।