तिहारमा स्वास्थ्य : स्वास्थ्यमैत्री खानपिन
चाडबाडमा पूजा र भोजका लागि बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने काम हुन्छ। यसले विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोग लाग्ने गरेका उदाहरण छन्। चाड मनाउने भनेको धेरै रक्सी खाने, धूमपान गर्ने, मासु खाने एकसाथ आउँछन्। निष्क्रिय धूमपान गर्न बाध्य भइन्छ र बनाइन्छ। चाडवाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्यामा पर्ने गरेका छौं।
चाडपर्वका बेला खाद्यपदार्थमा गुणस्तरहीन वस्तु मिसाउने सम्भावना बढी हुन्छ। मिसाइने रंग, कम गुणस्तरको खाद्यपदार्थ तथा लामो समय जोगाउन राखिने रसायनले मुख तथा जिब्रोमा ससाना घाउखटिरा, पेटमा गडबड, पखाला, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्हाउनेजस्ता अल्पकालीन तथा क्यान्सर र मृत्यृसम्मको दीर्घकालीन समस्या निम्त्याउँछ। धेरै तेल, घिउ वा तारेभुटेका खाद्यपदार्थमा बोसो बढी हुने भएकाले मोटोपना, मुटु तथा धमनीका रोग, उच्च रक्तचाप, मधुमेह, अपच, कब्जियत वा पखाला, आन्द्राको रोग, पित्तथैलीमा समस्या, पत्थरी, आन्द्राको क्यान्सर बनाउँछ। मसलादार, पिरो तरकारी तथा अमिलो अचारले एसिडिटी बढाई घाँटी, छाती पोल्ने र अल्सर गराउनेसम्म हुन्छ। चिल्लोपिरो खानाले पेटको माथिल्लो मुख खुली पेट पोल्ने समस्या, अम्लपित्त, अल्सर उत्पन्न हुन्छ।
चाडपर्वमा पिरो, चिल्लो तथा मसलादार खाद्यपदार्थले जटिल समस्या पनि उत्पन्न गराउँछ। खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ। अपच, अमिलो डकार, वायुले पेट ढुस्स हुने, फुल्ने, आउँ, पखाला, रिगंटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ।
सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु एकदुई साताअघि नै बनाइन्छ। मिठाई बनाउँदा प्रयोग गरिने अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ। पसलेले मिठाई ढोकाबाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुवाँधुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन्। अर्कोतिर झिंगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन्। विभिन्न प्रकारका रंगहरू, सिम्रिक, सिन्दूर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंगहरू राख्ने गरिन्छ। यस्तो खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्छन्।
मिठाईलाई चम्किलो रातो बनाउन रोडाइमान बी, हरियोका लागि मालाच्युट ग्रिन, पहेंलोका लागि मेटालिन एल्लो प्रयोग भएका थिए। जुन औद्योगिक प्रायोजनका लागि बनाइएका रंग हुन्। चप, पकौडाजस्ता पहेंला रंग हुने खाद्य परिकारमा समेत मेटालिन एल्लो पाइन्छ। गलैंचा र कपडा रंगाउने यस्ता रंगहरू हालेर बनाइएका परिकारहरू लामो समयसम्म खाँदा क्यान्सरसम्म लाग्न सक्छ। रगतको हेमोग्लोबिन नष्ट पार्ने फास्टरेड कार्मोइससन रातो रंग दिन, आँखाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफसीएफ सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रंग जेरी, चप, पकौडा, सेल हुन्। यस्तै बिस्कुटमा पहेंलो रंग दिन, पुरुषको शुक्रकिट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रंग सुरक्षित गर्न मिठाईलाई आकर्षक तुल्याउन चाँदीको पातलो पत्र, वर्फी र लड्डु राख्न प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन।
धेरै नागरिकले कोरोना खोप पाएकाले जटिलता र मृत्यृ नगन्य छ। खोप लगाएकामा सामाजिक मापदण्ड पालनामा लापरवाह छन्, कानमा तथा चिउँडोमा मास्क छ, भीडभाड छ। महामारीको त्रास र जोखिम कायमै छ। पर्वको नाममा हरेक चाडलाई बाध्यात्मक बनाउने हाम्रो मानसिकता छ। कोही पनि यो साल घर जान कठिन भयो। अर्काे साल जाउँला भन्ने छैनन्। परिवारले पनि यसपालि जोखिम मोलेर नआउनु अर्काे साल पर्व मानौंला भन्ने पक्षमा भएनन्।