कसैको कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्नू : देउवा
काठमाडौं: प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने आफ्नो हातमा नरहेको बताएका छन् । कांग्रेस भक्तपुरले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना रहेको बताए ।
‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन,’ देउवाले भने, ‘कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ । निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको छु ।’ कसैको कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न देउवाले निर्देशन दिए । ‘जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ । स्थानीय तहदेखि नै सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्,’ देउवाले भने ।
पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने देउवाको भनाइ थियो । देउवाले कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रहसमेत गरे ।