कोप २६ मा जलवायु परिवर्तन रोक्न नेताहरूले उल्लेख्य कदम नचालेको भन्दै प्रदर्शन, फाइजरले बनाएको कोरोनाविरुद्धको चक्की औषधी ८९ प्रतिशत प्रभावकारी रहेको दाबी

कोप २६ मा जलवायु परिवर्तन रोक्न नेताहरूले उल्लेख्य कदम नचालेको भन्दै प्रदर्शन, फाइजरले बनाएको कोरोनाविरुद्धको चक्की औषधी ८९ प्रतिशत प्रभावकारी रहेको दाबी

शुक्रबार उत्तर कोरियामा भोकमरी जाडो महिना सुरु भएसँगै बढ्दै जाने समाचार चर्चामा रह्यो। त्यस्तै प्रतिबन्धित उत्तर कोरियली श्रमिक प्रयोग गरेको उद्योगसँग क्यानडाका प्रख्यात कम्पनीहरूले कपडाको व्यापार गरेको खुलासा भएको छ। औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाविरुद्धको चक्की औषधी बनाएको बताएको छ। प्रस्तुत छ, शुक्रबार चर्चामा रहेका केही विश्वका प्रमुख खबरहरू :


फाइजरले बनायो कोरोनाविरुद्ध चक्की औषधी

न्यूयोर्क : औषधी उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध चक्की औषधी बनाएको दाबी गरेको छ। उक्त चक्की औषधीले अस्पताल भर्ना दर कम गर्ने तथा मृत्यु हुने जोखिम घटाउने कम्पनीले जनाएको छ।

अहिले औषधीको परीक्षण भइरहेको शुक्रबार जानकारी दिइएको छ।

कम्पनीले अहिले वयस्क उमेर समूहका उच्च जोखिममा रहेका व्यक्तिहरूमा परीक्षण गरिरहेको सीएनएनले जनाएको छ। सो औषधी लक्षण देखिएको तीन वा पाँच दिनमा दिइएको छ। 

औषधीले कोरोना संक्रमितलाई अस्पताल भर्ना तथा मृत्यु हुने सम्भावना ८९ प्रतिशतले कम गर्ने दाबी गरिएको थियो। यद्यपि त्यसको कुनै ठोस प्रमाण प्राप्त भइसकेको छैन। कम्पनीले थप अनुसन्धानपछि ठोस प्रमाणसहित सार्वजनिक गर्ने जनाएको छ।
०००

‘प्रतिबन्धित’ उत्तर कोरियाली श्रमिक प्रयोग भएको उद्योगबाट गोप्य रूपमा क्यानडाका कम्पनीले कपडा खरिद गरेको खुलासा
ओटावा : क्यानडाका प्रख्यात कपडा कम्पनीहरूले ‘प्रतिबन्धित’ उत्तर कोरियाली श्रमिक प्रयोग भएको उद्योगबाट गोप्य रूपमा कपडा खरिद बिक्री गरेको खुलासा भएको छ। चीनका उद्योगबाट रेटम्यान्स, वाईएम इन्कर्पोरेशन, सिरेन्सलगायतका ब्रान्डहरूले व्यापार गरेको खुलेको हो।

सानो परिमाणमा पनि कम्पनीहरूले कम्तिमा २१ पटक त्यस्तो कपडा क्यानडा लगेको अनुसन्धानबाट खुलेको छ। सीबीसी न्यूजका अनुसार ती कम्पनीले चीनको डान्दोङ हुयाङ टेक्स्टाइल्स तथा गार्मेन्ट कम्पनीबाट २०१९ सम्म व्यापार गरेका हुन्।

यद्यपि कतिपय कम्पनीले भने सो कुराको खण्डन गरेका छन्। वाईएम इन्कर्पोरेशनले त्यस किसिमको जबरजस्ती श्रमिक राखिएको उद्योगसँग कुनै साझेदारी नभएको बताएको छ। कपडा उद्योगले पनि त्यस्तो कुनै श्रमिक प्रयोग नगरिएको सीबीसीसँग बताएको छ।

उत्तर कोरियासँगको सिमाना नजिक रहेको डान्दोङ कपडा उद्योगले उत्तर कोरियाली श्रमिक प्रयोग गर्दै आएको बताइएको छ। उत्तर कोरियाका श्रमिकको विप्रेषण घातक मिसाइल निर्माणमा प्रयोग हुने भन्दै संयुक्त राष्ट्र संघले सन् २०१९ देखि उत्तर कोरियाली श्रमिक प्रयोगमा प्रतिबन्ध लगाएको छ।
०००

भारतले अफगानिस्तान मुद्दामा क्षेत्रीय सम्मेलन गर्दै
नयाँ दिल्ली : भारतले अफगानिस्तानको पछिल्लो अवस्था तथा समस्याको समाधान गर्न भन्दै क्षेत्रीय सम्मेलन आयोजना गर्न लागेको छ। हिन्दुस्तान टाइम्सका अनुसार यही नोभेम्बर १० मा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा पाकिस्तानलाई पनि बोलाइएको जनाइएको छ। यद्यपि पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले सो सम्मेलनमा आफूहरू सहभागी नहुने बताएका छन्। शुक्रबार चीनलाई पनि औपचारिक निमन्त्रणाको अपेक्षा गरिएको सो सवालमा जानकार एक अधिकारीले बताएका छन्।

नयाँ दिल्लीमा हुन लागेको सो सम्मेलनमा रुस, इरान तथा प्रत्यक्ष सम्बन्ध राख्ने मध्य एसियाका मुलुकले सहभागी हुने पक्कापक्की गरिसकेका छन्। 
०००

कोप २६ मा जलवायु परिवर्तन रोक्न उल्लेख्य निर्णय नभएको भन्दै प्रदर्शन
लन्डन : स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न कोप २६ सम्मलेनले जलवायु परिवर्तन रोक्न ठोस निर्णय नगरेको भन्दै हजारौँ युवाहरूले शुक्रबार प्रदर्शन गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेताहरूले खतरनाक मुद्दामा तत्काल कुनै ठोस निर्णय गरेको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन्।

ग्रेटा थनवर्गको अगुवाइमा भएको सो प्रदर्शन विश्वभर निरन्तर गरिने बताइएको छ। 

‘हामीलाई सहयोग गर्न अब सडकमा युवाहरू मात्र नभएर प्रौढलगायतका मानिस पनि आउनुहुन्छ भन्ने आशा छ’, अभियन्ता इजाबेल्ला एक्सेलसनले रोयटर्ससँग भनेकी छन्, ‘जो खतरनाक जलवायु परिवर्तनलाई रोक्न चाहनुहुन्छ उहाँहरू जो कोही पनि हाम्रो अभियानलाई सहयोग गर्न आउनुहुन्छ।’

शुक्रबारको प्रदर्शन कोप २६ सम्मेलन सकिएको पहिलो सातामै भएको हो।
०००

जाडो बढ्दै जाँदा उत्तर कोरियामा भोकमरी
सियोल : उत्तर कोरियामा भोकमरी लागेका खबरहरु सार्वजनिक भएका छन्। उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका डिफेक्टरहरुले उत्तर कोरियाका कयौं परिवारहरु भोकभोकै रहेको बताएका हुन्। 

त्यहाँका बालबालिकासमेत उच्च जोखिममा छन्। जाडोको समयमा खान नपाएर उनीहरुको ज्यानसमेत जान सक्ने डिफेक्टरहरुले बताएका छन्। अनाथ बालबालिकाहरु खान नपाएर सडकमै मरिरहेको उनीहरुले बताएका छन्। जाडोको समयमा उत्तर कोरियामा झन् भोकमरी बढ्ने डिफेक्टहरुले बताएका छन्। 

सडकमा धेरै अनाथ बालबालिकाहरू भोकमरीले मर्ने गर्छनु, डेली एनकेका सम्पादक ली साङ योङले भने। उत्तर कोरियामा तल्लो वर्गका जनताहरु बढी पीडित छन्। उनका अनुसार, अपेक्षा गरेभन्दा बढी उत्तर कोरियामा खाद्यान्य अभाव रहेको छ। चीनमा कोरोना फैलन थालेपछि उत्तर कोरियाले सबै नाका बन्द गराएको छ,जसले गर्दा उत्तर कोरियाको जानकारी पाउन कठिन हुँदै गएको बीबीसीले जनाएको छ।
०००

चार मन्त्री रिहा गर्न सुडानी सेना प्रमुखको आदेश
खार्तोम : सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल–बुर्हानले आफ्नो नियन्त्रणमा रहेका चार मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन्। सैनिक शासनविरुद्ध आन्दोलन चर्काउन थालेपछि केही दिन अघि त्यहाँको सेनाले चार मन्त्रीलाई नियन्त्रणमा लिएको थियो। 

मन्त्रीलाई पक्राउ परेको विषयमा अन्तराष्ट्रियस्तरमा चर्को विरोध हुन थालेपछि सुडानका सेना प्रमुखले आफ्नो नियन्त्रणमा रहेका मन्त्रीलाई रिहा गर्न आदेश दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले खबर छापेका छन्। सुडानको सरकारी टेलिभिजनका अनुसार, त्यहाँको सेनाले दूरसंञ्चार,उद्योग, खेलकुद र सूचना मन्त्रीलाई तत्काल रिहा गर्न आदेश दिएको हो। सुडानी सेनाले अक्टोबर २५ मा सैनिक कु गरी सत्ता हातमा लिएको थियो।

सुडानको राजनीतिलाई सहज बनाउन संयुक्त राष्ट्रसंघले समन्वय गरिरहेका बेला सुडानी सेनाले पक्राउ परेका मन्त्री रिहा गर्न आदेश दिएका हुन्। सुडानमा देखिएको पछिल्लो राजनीतिक संकट छिट्टै समाधान हुनेमा संयुक्त राष्ट्रसंघले विश्वास लिएको छ। सैनिक कु भएपछि प्रजातन्त्र समर्थक जनताहरुले त्यसको विरोधमा ठूला प्रर्दशनहरु गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.