खेलाडीलाई मैदानकै पिरलो
![खेलाडीलाई मैदानकै पिरलो](https://annapurnapost.prixacdn.net/media/albums/bardiyaaa_20210123093138_8tQ7RT8hm3.jpg)
गुलरिया : जिल्लामा क्रिकेट खेलमा युवाहरूको आर्कषण भए पनि गुणस्तरीय मैदानको अभावका कारण उनीहरू समस्यामा परेका छन्। जिल्लाको एक मात्र कभर्डहलमा क्रिकेट पिच भए पनि त्यहाँ ट्रयाक बनेपछि खेलाडीहरूलाई खेल्न कठिनाइ भएको छ।
बर्दियामा प्रतिभावान खेलाडी थुप्रै भए पनि गुणस्तरीय मैदानका कारण उनीहरू समस्यामा परेको नेपाल क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए। ‘जिल्लामा प्रतिभावान खेलाडीहरू छन्। तर, उनीहरूले राम्रो मैदानमा खेल्न पाउँदैनन्’ अध्यक्ष राजभडारीले भने, ‘कभर्डहलमा पिच त छ। तर, त्यहाँ ट्रयाक बनेकाले खेल्न समस्या छ।’
उनले स्तरीय मैदानकै अभावमा महिला खेलाडीहरू उत्पादन हुन नसकेको बताए। ‘हामीलाई खेल सामग्रीको कुनै अभाव छैन। ग्राउन्ड मात्र राम्रो भइदिए उत्कृष्ट खेलाडीहरू उत्पादन हुन सक्छ’, उनले भने, ‘हामीलाई ग्राउन्डको धेरै आवश्यकता छ।’
अध्यक्ष राजभण्डारीले चौधरी ग्रुपको प्रायोजन तथा नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जिल्लाको टोली लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भए पनि अभ्यासका लागि मैदानको समस्या भएको बताए। यू–१९ राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षक र ब्यवस्थापकसहित २० सदस्यीय टोली घोषणा गरिएको छ। प्रादेशिक क्रिकेट प्रतियोगिताका लागि बर्दियाबाट प्रशिक्षक सिद्धार्थ श्रेष्ठ, ब्यवस्थापक डेविड थापा, कप्तान विशाल विक्रम केसी, उपकप्तान सुमित श्रेष्ठ चयन भएका छन्। अन्य खेलाडीहरूमा साहिल शेख, भविष्य धामीलगायत रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)