सर्वोच्चको विवादले लोकतन्त्र नै समाप्त हुन सक्छ : महामन्त्री कोइराला
सिन्धुली : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्चको विवाद समाधान नभए लोकतन्त्र नै समाप्त हुने बताए। मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सर्वोच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्यायधीश आफैंले अग्रसर भएर ननिकाले देश धेरै अप्ठेरोमा पर्ने र बल्लतल्ल लडेर ल्याएको लोकतन्त्र नै समाप्त हुने बताएका हुन्।
‘सर्वोच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्याधीश आफैंले अग्रसर भएर निकाल्नु पर्छ। सर्वोच्चको विवाद लम्बिंदै जाँदा लोकतन्त्र नै खतरामा पर्छ', उनले भने, 'देशमा संवैधानिक संकट आउन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेरले राजीनामा गरेर होस् अथवा आफ्ना साथीलाई सम्झाएर समाधान त गर्नैपर्छ’, उनले भने।
सर्वोच्चको विवाद समाधान गर्न राजनीतिक दलबाट निकास ननिस्कने भन्दै प्रधानन्यायाधीश आफैं बसेर सरसल्लाह गरिी निकास दिनुपर्ने उनको सुझाव छ।
उनले भने, ‘अब फेरि कुनै पनि बहानामा महाधिवेशनको मिति सार्ने छुट कसैलाई छैन। समयमा महाधिवेशन नभए पार्टीको अस्तित्व माथि नै प्रश्न उठ्छ।’
यतिबेला कार्यकर्ताको ध्यान महाधिवेशनमा भएको र आफूले सभापतिमा उम्मेद्वारी दिने महामन्त्री कोइरालाको भनाइ थियो। आफू बीपी पुत्र भएकाले सभापतिको दरिलो उम्मेद्वार आफू नै भएको उनको जिकिर छ।
महामन्त्री कोइरालाले सरकार रहुन्जेल यो गठबन्धन कायम रहने उल्लेख गर्दै आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनावमा जाने स्पष्ट पारे। उनले नेपालमा एमसीसी आवश्यक भएको भन्दै संविधान अनुरुप नै छिट्टै दुईतिहाइ बहुमतका साथ सदनबाट सरकारले एमसीसी पास गर्ने समेत खुलसा गरे।