नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह
लन्डन : नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गरेकी छिन्। मंगलबार उनले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै आफू विवाह बन्धनमा बाँधिएको बताएकी हुन्।
शैक्षिक अभियन्ता मलालाले पाकिस्तान क्रिकेट बोर्डका व्यवस्थापकसँग विवाह गरेकी हुन्। बीबीसीका अनुसार उनले पाकिस्तान क्रिकेट बोर्डका अपरेशन म्यानेजर एसर मलिकसँग विवाह गरेकी हुन्। मलिक लाहोरका हुन्।
‘आज मेरो जीवनको अमूल्य दिन हो’, इन्स्टाग्राममा तस्बिर राख्दै मलाले भनेकी छिन्, ‘एसर र मैले जीवनभरको साथीका लागि गाँठो कसेका छौँ।’ उनले बर्मिङ्घममा सामान्य पारिवारिक जमघटमा विवाह गरेको बताएकी छिन्।
मलालाले सबैसँग आशिर्वाद दिन अनुरोध गरेकी छिन्। ‘तपाईंहरू आशिर्वाद दिनुहोला। हामी आगामी यात्रा सँगै अघि बढ्न उत्साहित छौँ’, मलालाले भनेकी छिन्।
मलाला तालिबानको बालिकालाई शिक्षाबाट बञ्चित गराउने कार्यविरुद्ध अभियान सञ्चालन गरेर विश्वव्यापी रूपमा परिचित भएकी थिइन्। उनी १५ वर्षको उमेरमा तालिबानको गोली लागेर उपचारका लागि बेलायत पुगेकी थिइन्।
उनलाई बालिकाका लागि शैक्षिक अभियान चलाएको भन्दै सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। त्यसबेला उनी १७ वर्षकी थिइन्।