बालउद्यानमा सत्तारुढ दलले तालाबन्दी गरेपछि सिन्धुलीमा विवाद
सिन्धुली : सिन्धुलीमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता कार्यकर्ताबीच विवाद भएको छ। मंगलबार कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा रहेको बालउद्यानमा तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो। बालउद्यन पार्कमा राखिएको बीपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव ईश्वर पोखरेलबाट बुधबार गर्ने तयारी कमलामाइ नगरपालिकाले गरेपछि दुईपक्षबीच विवाद सुरू भएको हो।
आज २५४ औं सिन्धुलीगढी विजयोत्सव समारोहका समेत प्रमुख अतिथी रहेका पोखरेल नेकपा एमालेका महासचिव भएको र नगर प्रमुखले पोखरेललाई बोलाएर एमाले करण गर्न खोजेको आरोप छ। बिहान ९ बजे सालिक अनावरण गर्ने कार्यक्रम तय भएपनि दुबैतर्फका नेता तथा कार्यकर्ताहरू बिहानै देखि लोकतान्त्रिक चोकमा भेला भएका छन्।
विवाद बढेपछि व्यापकमात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सहमतिका लागि अहिले सर्वदलीय बैठकसमेत बसिरहेको छ।