‘खरना’देखि ‘परना’सम्म
लोकपर्वका रूपमा मनाइने छठ पर्व शास्त्रसम्मत एवं तर्कसंगत देखिन्छ। जुन पूर्ण वैज्ञानिक र व्यावहारिक पनि छ।
तराई–मधेसको संस्कृतिमा सूर्याेपासनाको मूर्तरूप छठ लोक पर्वमा अनुभव गर्न सकिन्छ। साक्षात् देवता सूर्यको उपासना र आराधना चार दिनसम्म लगातार उपवास बसेर यहाँका बासिन्दाले प्रत्येक वर्ष नियमित र निष्ठापूर्वक मनाउने गर्छन्। मधेसवासीहरू उदाउँदो सूर्यका साथै अस्ताउँदो सूर्यको पनि पूजाआजा गर्छन्। अवसरवादी व्रतालु उदाउँदो सूर्यको मात्र उपासना एवं आराधना गर्छन् किनभने यसमा उष्णता, तेज, दीप्ति, प्रकाश र शक्ति हुन्छ। तर, अस्ताउँदो सूर्य असमर्थता र अँध्यारोको अग्रदूत भएर दिनहुँ अस्त हुने गर्छ। उदाउँदो सूर्यको रक्तिम रश्मिबाट नै सम्पूर्ण संसारमा प्रकाशको पदार्पण र अँध्यारोको अन्त्य हुन्छ। अतः तराई–मधेसमा सूर्योपासनाको धेरै प्राचीन परम्परा छ र यसको संस्कृतिमा यसको आफ्नै पृष्ठभूमि र परिवेश सदियौंदेखि सुरक्षित र सञ्चित रहेको पाइन्छ।
सम्पूर्ण तराई–मधेसमा सूर्योदय र सूर्यास्त हुनासाथ मठ मन्दिरमा शंख र घण्टको सुमधुर ध्वनि तथा महिलाहरूको मुखबाट गुञ्जित छठलोक गीत गल्ली, गोरेटोहरूमा सुन्न सकिन्छ। ब्रह्म बेलामा पूजाआजाका अवसरमा व्रतालुहरू लोकगीत गाउन थालेपछि छठ आगमनको सूचना प्रवाहित र प्रतिध्वनित हुन थाल्छ। सूर्याेपासनाको एउटा माध्यम के छ भने यसलाई दिनहुँ गर्ने र अर्को माध्यम हो छठ लोकपर्वको चार दिनको कठोर उपवास। छठमा व्रतालुको यसै अनुष्ठानको जाँच हुन्छ किनभने चार दिनसम्म अन्न, जल ग्रहण नगरी यसलाई निष्ठा र भक्तिपूर्वक सम्पन्न गर्नुपर्छ। तराई–मधेसमा सूर्यको कुनै पनि मन्दिर अवस्थित नभएकाले यिनको पूजाआजा जहाँ पनि नदी, खोलाको किनारामा गर्न सकिन्छ। विगत केही दशकदेखि वीरगन्जको घडीहर्वा पोखरीमा सूर्यको मूर्ति निर्माण भएपछि वीरगन्जवासी यसै पोखरीमा छठ पूजा गर्ने गर्छन्।
छिमेकी राष्ट्र भारतमा कोर्णाकको सूर्य मन्दिर धेरै प्राचीन मानिन्छ। तराई–मधेसमा वीरगन्जबाहेक अन्यत्र सूर्य मन्दिर नभएकाले व्रतालु नदीनाला र खोलाकिनारमा घाट सफासुग्घर पार्छन्। त्यहीँ छठ पर्व मनाउनु प्राचीन प्रचलन नै प्रमाणित भइसकेको छ। काठमाडौं उपत्यकामा रानीपोखरी उपयुक्त स्थल मानिन्छ। बागमतीका विभिन्न तटमा व्रतालुले यस पर्वलाई श्रद्धापूर्वक मनाउँदै आएका छन्। त्यसैले यो एउटा आदर्श स्थल बनेको छ। मिथिलाको पूर्वराजधानी जनकपुरमा अवस्थित धनुषसागर, गंगासागर, अरगजा आदि सरोवरमा पनि व्रतालुलाई छठ मनाउनु सुखद् अनुभूतिको कुरो भएको छ। हिन्दूहरूको महान् पर्व दीपावलीको ६ दिनपछि छठ सम्पन्न हुन्छ। तराई प्रदेशमा एउटा लोकोक्ति प्रसिद्ध छ जुन यस प्रकार छ :‘दसैंको सोरह दिन बाद सुखराति आओर, सुखराति के ६ दिन वाद छठ।’
प्राणीहरूको जीवन सूर्याश्रित भएको कुरो सर्वविदित छ। सिंगो सृष्टिचक्रको सञ्चालक नै सूर्य हो। सूर्योपनिषद्मा पनि सूर्यलाई ब्रह्मा, विष्णु तथा रुद्रको रूपमा मानिएको छ। सूर्यको प्रत्यक्ष अस्तित्व भएकाले सूर्यको उपासनाको क्रम आदिम कालदेखि अहिलेसम्म अनवरत रूपमा चल्दै आएको छ। सूर्यको पावन दर्शनले पुनर्जन्म हुँदैन भनिन्छ। ‘भाष्करं दृष्टवा पुनर्जन्म न विद्यते’ लेखिएको उपनिषद् पुराण अत्यन्त पवित्र ग्रन्थ मानिन्छ। तराई–मधेसको समाजमा सायद उदीयमान र अस्ताचलगामी सूर्यको पूजा गर्ने परम्परा सदियौंदेखि चल्दै आएको छ। आज पनि तराई–मधेसको जीवन्त संस्कृतिमा छठ पर्वका माध्यमबाट सूर्य भगवान्को उपासना विधिविधानपूर्वक एवम् शास्त्रसम्मत ढंगबाट गरिन्छ।
दीपावलीको प्रकाशमय वातावरणपछि स्वच्छ शारीरिक र मानसिक स्थितिमा सूर्यको आराधना गर्ने प्रचलनअनुसार स्नान गरेर शाकाहारी भोजन गरिन्छ। त्यसको भोलिपल्ट उपवास गरिन्छ। बेलुकी एक छाक गमढीको रोटी र खीर खाइन्छ, जसलाई ‘खरना’ भनिन्छ। त्यस उप्रान्त भोलिपल्ट बेलुका पवित्र वस्त्र धारण गरेर गाउँको पोखरी या नदीमा सूर्यलाई सन्ध्या अध्र्य अर्पण गरिन्छ। भक्तिअनुसार भोलिपल्ट प्रातकालमा प्रातदर्शनीय सूर्यलाई अध्र्य प्रदान गरिन्छ। अध्र्यमा नैवेद्य, चन्दन, अक्षता, पान, सुपारी, कपुर, तिल, दूबो, पञ्चगव्य, दूध, ठेकुवा, भुसवा, कसार र ऊखु छठका प्रसिद्ध प्रसाद मानिन्छन्। सझियाघाटमा बेलुकीपख अध्र्य अर्पित गरेपछि व्रतालु आआफ्ना घर फर्कन्छन्। कहीँकहीँ राति घाटमै बस्ने व्यवस्था हुन्छ। फर्किने व्रतालु भोलिपल्ट ब्रह्म बेलामै पूजा घाटमा पुग्छन्, बिहानको अध्र्य अर्पित गर्न। स्मरणीय कुरो के छ भने छठ पर्वमा ‘खरना’देखि ‘परना’सम्म उपवास गर्ने विधिविधान कडाइका साथ पालना गरिन्छ। यो व्रतभरि शाकाहारी शुद्ध र पवित्र चीज तथा परिकारहरूको विशेष महत्व हुन्छ। बिहान र बेलुका छठपर्वका अवसरमा दण्ड दिने विधिविधान छ। लोकबाजाको सुमधुर ध्वनिबाट सम्पूर्ण वातावरण प्रतिध्वनित हुन्छ।
प्राणीहरूको जीवन सूर्याश्रित भएको कुरो सर्वविदित छ। सिंगो सृष्टिचक्रको सञ्चालक नै सूर्य हो। सूर्योपनिषद्मा पनि सूर्यलाई ब्रह्मा, विष्णु तथा रुद्रको रूपमा मानिएको छ।
व्रतालु महिला यस पर्वको अनुष्ठानदेखि ‘सझिया’ घाट र ‘भिनसरवा’ घाटसम्म छठका लोकप्रिय एवं कर्णप्रिय लोकगीत गाइरहन्छन्। सझियाघाट अर्थात् कार्तिक शुक्ल षष्टी र भिनसरवाघाट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन प्रत्येक वर्ष यो पर्व धार्मिक अनुष्ठानका साथ धुमधाम मनाइन्छ। सूर्यसँग सम्बन्धित भएकाले छठलाई हिन्दूको मात्र पर्व नभनेर अन्य धर्मावलम्बीका लागि पनि उपयुक्त मानिन्छ। तसर्थ यसको लोकप्रियता बढ्दै गएको छ। छठलाई माईको पूजाआजासँग पनि जोड्ने गरिन्छ। छठी माईको उपासना र आराधना पनि यसमा गर्ने लामो परम्परा अद्यापि जीवित छ। दसंैदेखि सुरु हुने देवीको आराधना एवं उपासनाको क्रम छठसम्म चल्ने परम्परा छ। यो लोकपर्व शास्त्रसम्मत एवं तर्कसंगत देखिन्छ। जुन पूर्ण वैज्ञानिक र व्यावहारिक पनि छ।
पर्वका विकृतिहरू
अचेल गाउँगाउँमा लोकगीतको गायन समाप्त हुन लागेको छ। जुन यसको मौलिकतामाथि नै आघात भएको अनुभव हुन थालेको छ। रेकर्ड गरिएका गीत बजाइन्छन् जुन समयोचित र समुचित होइन। व्रतालुहरूले आफ्नो कण्ठ र स्वरबाट नै लोकगीत गाउनु राम्रो हो किनभने यो पर्व गीतात्मक एवं संगीतात्मक मानिन्छ। यसको बेग्लै महत्व हुन्छ। सरसफाइ पनि सबै घाटमा नगरी केही घाटमा मात्र गर्ने गरिन्छ। अरू घाट अशुद्ध एवं अपवित्र नै छाडिन्छ। छठ समाप्तिपछि ती ठाउँ पनि सरसफाई गरिँदैन। यो नराम्रो परम्परा हो। यसले वातावरण प्रदूषित गर्छ। साथै पोखरी र नदीनालाको पानी पनि प्रदूषित हुन्छ, जसको प्रभाव मानिसको स्वास्थ्यमा पर्छ।
छठ पर्वमा अनावश्यक आडम्बर पनि देखिन्छ। जस्तो महिलाले लगाउने महँगो साडी र अन्य प्रशाधन तथा गरगहना। यो देखावटी पर्व होइन। यसमा मौलिकता थप्न शुद्ध र सफा पहिरन नै आवश्यक हुन्छ। प्रसादको परिकारमा पनि बढी विकृति आएको छ किनभने बजारबाट किनेर ल्याएको कृत्रिम मिठाईहरूको प्रयोग हुन थालेको छ। यो पर्व धनी र गरिब दुवैले मनाउनु परेकाले बाह्य प्रदर्शन गर्नु वाहियात हो। यसबाट गरिब व्रतालुमा ग्लानी र हीन भावना पैदा हुन्छ। तसर्थ यस पर्वमा देखावटी पक्षलाई निरुत्साहित गरिनु पर्छ। यो समानताको पर्व हो। साम्प्रदायिक सद्भावको पर्व हो। तसर्थ यसमा बाह्य आडम्बर वर्जित गर्नुपर्छ। स्थानीय सरकारले पनि गरिब र निर्धन तथा निर्धो व्यक्तिलाई केही आर्थिक अनुदान दिनुपर्ने देखिन्छ। नेपाल कोरोनामुक्त नभएकाले हरहिसाबले सावधानी जरुरी छ।