छठ पर्व : यमुना नदीको विषाक्त फिजमै डुबुल्की
नयाँ दिल्ली : छठका श्रद्धालु भक्तजनहरुले विषाक्त फिजमै डुबुल्की मारेर (स्नान गरेका) छन् । धार्मिक रुपमा पवित्र मानिने भारतको यमुना नदीमा फैलिएको विषाक्त फिजमै भक्तजनहरुले डुबुल्की मारेका हुन् ।
हिन्दुस्तान टाइम्सका अनुसार विगत केहि दिनदेखि यमुना नदीमा विषाक्त फिज फैलिरहेको छ। प्रदूषणका कारण बनेको विषाक्त फिजमै छठ पर्व मनाइरहेका श्रद्धालु हिन्दु धर्मावलम्बीहरुले सो नदीमै स्नान गरिरहेका छन् ।
छठ पूजाको अवसरमा सो फिजमै स्नान गरिरहेका भक्तजनहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्तन सक्ने भन्दै सरकारले बुधबारदेखि फिज हटाउन सुरु गरेको समेत हिन्दुस्तान टाइम्समा उल्लेख छ ।
यमुना नदीमा फैलिएको विषाक्त फिज हटाउन दिल्ली सरकारले १५ वटा डुङ्गा खटाएको छ भने त्यहाँको सिचाइ तथा बाढी नियन्त्रण विभाग, राजस्व विभाग, प्रदूषण नियन्त्रण विभागले संयुक्तरुपमा नदी सफा गरिरहेको बताइएको छ ।
औद्योगिक र अन्य क्षेत्रबाट निस्केको प्रदूषण यमुना नदीमा मिसिदा सो फिज बनेको बताइएको छ। सो फिजमा अमोनिया र फोस्फेटजस्ता विषालु पदार्थको मात्रा बढी हुने हुँदा स्वास्थका लागि निकै हानिकारक मानिन्छ।