छठको उल्लास : आज अस्ताउँदो सूर्यलाई ‘सझका अर्घ’ दिइदै
जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठअन्तर्गत आज (बुधबार) अस्ताउँदो सूर्यलाई अर्घ दिइदैछ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठअन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको हो । पछिल्लो समयमा छठ तराई मधेश मात्र नभइ देशकै महत्वपूर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाडौंमा समेत भव्यतापूर्वक मनाइदैछ ।
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । खासगरी महिलाले मनाउने यस पर्वमा प्रारम्भ भएसँगै चोखो निधो भएर सम्पूर्ण विधिहरु गर्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका १४ बस्ने सुनिता सिंह महतो बताउँछिन् ।
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरिन्छ । समाजिक सद्भाव एवं उल्लसाको पर्व छठको दोस्रो दिन व्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाने विधिलाई ‘खरना’ भन्ने गरिन्छ ।
भागवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा छ । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एका बिहानै नुहाइ धुहाइ गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा छ ।
तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ । पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
तराई मधेशका जिल्लामा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा छ । दुवै छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन् । तथापि चैते छठभन्दा कार्तिक छठ मनाउनेको संख्या अत्यधिक मात्रामा हुने गंगासागर पोखरी अभियान एवं सांसद रामअशिष यादवको भनाइ छ ।