बुद्धको विज्ञान, आइन्स्टाइनको अध्यात्म
विज्ञान र प्राकृतिक नियममा टेकेर धारणाहरू राख्ने आइन्स्टाइनले बुद्धलाई धार्मिकभन्दा आध्यात्मिक पात्र स्विकारेका थिए।
ईश्वरको अस्तित्वको प्रश्नलाई प्रसिद्ध भौतिकशास्त्री र वैज्ञानिक अल्बर्ट आइन्स्टाइन संसारको सबैभन्दा कठिन प्रश्नमध्येको एक ठान्दथे। ईश्वर ‘छन्’ या ‘छैनन्’ जस्तो सामान्य रूपमा दिन नसकिने हुँदा हाम्रो सीमित दिमागका लागि यो प्रश्न अति विशाल भएको उनी स्विकार्थे। जर्मनीको यहुदी परिवारमा जन्मिएको भएता पनि आइन्स्टाइनको परिवार आफ्नो समयअनुसार कट्टर धार्मिक पृष्ठभूमिको थिएन। यहुदी पारिवारिक संस्कारको हुर्काइसँगै आइन्स्टाइनले क्याथोलिक क्रिश्चियन धर्मको प्राथमिक धार्मिक शिक्षा प्राप्त गर्ने अवसर पनि प्राप्त गरेका थिए। आइन्स्टाइनको कलिलो मस्तिष्कमा क्याथोलिक क्रिश्चियन प्रभाव मात्रै नहोस् भन्ने उद्देश्य उनका अभिभावकमा थियो। त्यसैले यहुदी धर्मका विषयमा पनि प्रशिक्षित गराउन आफन्तलाई निजी शिक्षकका रूपमा भर्ना गरेका थिए।
यहुदी र क्याथोलिक दुवै धर्मको प्रभावले शिक्षित आइन्स्टाइनले आफ्नो जवानी उमेरमा ‘परमेश्वर’लाई खुसी पार्नु नै जीवनको उद्देश्य भएको बुझेका थिए। आइन्स्टाइनले जीवनको त्यो कालखण्डलाई ‘धार्मिक स्वर्ग’ भनी उल्लेख गरेका छन्। आइन्स्टाइनको धर्मान्धताको मधुमास धेरै समय भने टिक्न सकेन। चिकित्सा शास्त्र अध्ययनरत उनका साथीले त्यो समयका विज्ञान, तर्कमा आधारित दर्शन, गणित र ज्यामितिका पुस्तकहरू सितको परिचयको परिणाम आइन्स्टाइनले बाइबलको सत्यतामाथि प्रश्न उठाउन थालिसकेका थिए। गहन विश्लेषण र परीक्षणका आधारमा मात्र निष्कर्षमा पुग्ने उनी कहिल्यै विचलित भएनन्। उनले विज्ञानसँगको संसर्गले विगतका आफ्ना वैचारिक कैदबाट मुक्त भई स्वतन्त्र चिन्तकको रूपमा नयाँ यात्राको थालनी गरे। आइन्स्टाइनले आफन्तलगायत धेरै समकक्षीलाई त्यो बेला स्तब्ध पारे। तर्क र विज्ञानप्रतिको झुकाव र ईश्वरको अस्तित्वप्रतिको सन्देहको बीचमा पनि आइन्स्टाइनले आफूलाई कहिल्यै नास्तिक मान्न तयार भएनन्।
कट्टरपन्थी धार्मिक परम्परालाई एक प्रकारको रुढीवादी परम्पराको निरन्तरता ठान्ने आइन्स्टाइन ब्रह्माण्डको सुन्दर र सामञ्जस्यपूर्ण अस्तित्वलाई भने कुनै सृष्टिकर्ताको अभिव्यक्तिका रूपमा हेर्थे। पाप र पुण्यका आधारमा मान्छेलाई सजाय वा पुरस्कार दिने सर्वशक्तिमान र अहंकारी ईश्वरीय अस्तित्वको परम्परागत विचारलाई उनले खारेज गरेका थिए। सोको कारण र प्रभाव अर्थात् कर्ममा आधारित ‘प्राकृतिक नियम’मा उनी विश्वास राख्थे। कुनै पनि परिणामका पछाडि कारक तत्वको अस्तित्व हुने प्राकृतिक नियम र प्राचीन कर्मको विज्ञानभित्रको रहस्यलाई नै आइन्स्टाइन धर्म नभई धार्मिक
भावनाको स्रोत मान्थे। जसरी भौतिक विज्ञानभित्र गुरुत्वाकर्षणको नियमले ब्रह्माण्डको एउटा सत्य प्रमाणित गर्छ। आइन्स्टाइनका अनुसार बौद्ध दर्शनभित्र पनि विज्ञानले ग्रहण गर्न योग्य प्राकृतिक संसार बुझ्ने तरिकाहरू भेटाएका सन्दर्भ धेरै
ठाउँमा उल्लेख गरेका छन्।
सन् १९३० मा अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्समा आइन्स्टाइनले लेखेका छन्, ‘मानव इतिहासमा घटेका आध्यात्मिक आन्दोलन र त्यसको विकासलाई हेर्ने हो भने मानव जातिले अनुभव गरेका दुःख र पीडालाई शान्त तुल्याउन चालिएका उपक्रमहरूसँग सम्बन्धित छन्।’ आइन्स्टाइन प्रकृति र समग्र सृष्टिको गहिरो रहस्यका विस्मयहरूमाझ आफूलाई भेटाउँदाका क्षणहरूलाई आफ्ना लागि धार्मिक अनुभव भएको मान्दथे। सत्य र तथ्यमा आधारित ज्ञान विज्ञानले मात्र दिन सक्ने हुँदा धार्मिक संस्थापनहरूले विज्ञानलाई सधैं संदिग्ध दृष्टिकोणले हेरेको पृष्ठभूमि छ। सोही आधारमा आफ्नो समयको सबैभन्दा प्रसिद्ध वैज्ञानिक यिनले ‘धर्म’ र ‘ईश्वर’को अस्तित्वका बारेमा लेखेर बेलाबेलामा तरंग पैदा गरिरहन्थे। अन्वेषण र अनुसन्धानका विधिहरूका माध्यमले सत्यको खोज गर्ने परम्पराको जग बसालेको आधुनिक विज्ञानमा उभिएर आइन्स्टाइनले समय, गुरुत्वाकर्षण र समग्र ब्रह्माण्डको बारेमा आममानिसको बुझाइमा ल्याएको परिवर्तन युगान्तकारी थियो।
जसरी बुद्धले आफ्नो समयको जडता र केही हदसम्म क्रूरतामा आधारित सांस्कृतिक र धार्मिक आधारहरूलाई परिमार्जन गरी वैज्ञानिक र जीवन्त बनाउने चेष्टा गरे। त्यसरी नै अल्बर्ट आइन्स्टाइनले आफूभन्दा दुई सय वर्षअघि अर्का भौतिकशास्त्री आइज्याक न्युटनले अघि सारेका जटिल सिद्धान्तहरूलाई थप विस्तार गरी वैज्ञानिक चमत्कारका नयाँ ढोकाहरू खोले। एउटा वैज्ञानिक जस्तै सत्यको खोजमा निरन्तर अन्वेषणका कारण बुद्धले आफ्नो समयको सामाजिक संरचना र सम्बन्धहरू माथि उठाएका प्रश्नहरू नयाँ समाजको निर्माणका लागि विद्रोह थियो। मानव सभ्यतालाई अघि बढाउन विज्ञानले सत्य खोज्छ र स्थापित मान्यताहरूको उत्तम विकल्पहरू रोज्छ। बुद्धले आफ्नो समयमा त्यही गरे र एउटा वैज्ञानिकका हिसाबले आइन्स्टाइनले पनि त्यही गरेका हुन्। बुद्धले आफ्नो समयमा गरेका आध्यात्मिक अन्वेषण, धार्मिक जडतामाथि खडा गरेको प्रश्नचिह्न र दार्शनिक अनुसन्धानको पृष्ठभूमिमा निकालेका निष्कर्षहरू प्राचीन ग्रीस, पर्सिया (आधुनिक इरान), इजिप्टको सामाजिक–सांस्कृतिक चेतनाहरूभन्दा धेरै गुणा उन्नत र वैज्ञानिक थिए।
जसरी बुद्धले आफैंभित्रको बुद्धत्व नियाल्ने कोसिस गरे। आफ्ना ज्ञानमार्फत संसार परिवर्तन गरे आइन्स्टाइनले पनि आफ्नो खोज र अन्वेषणमार्फत मानव सभ्यतालाई २१औं शताब्दीमा टेकाइदिए।
आधुनिक विज्ञानले विकसित गरेका गहन परीक्षणका विधिहरूमार्फत विश्वसनीय निष्कर्षमा पुग्ने संस्कारलाई बुद्धले आफ्नो आध्यात्मिक अन्वेषणको अंग बनाएका थिए। धार्मिक अतिवाद, कट्टरपन्थ, अलौकिकमा पूर्ण विश्वास र आशक्तिबाटै अवैज्ञानिक कुरीतिहरूले जन्म लिन्छन् भन्ने मान्यता बुद्धले राख्थे। उनले आफूले प्राप्त गरेका ज्ञानलाई तर्कसंगत र प्राकृतिक नियमसँग मेलखाने विज्ञानसँग उपयुक्त भएको परीक्षणका सन्दर्भहरू असंख्य पाइन्छन्। रुढिवादको कसिलो सांस्कृतिक पासोबाट फुत्किन बुद्धले आफूभित्रको विवेकी विद्रोहलाई सतहमा ल्याएका थिए। त्यसरी नै आइन्स्टाइनले भौतिक विज्ञानको क्षेत्रका माध्यमले संसारलाई विज्ञानको अर्थपूर्ण सत्यको खोजेको नवीन युगमा प्रवेश गराए। एउटा भौतिकशास्त्री भएका नाताले आइन्स्टाइनले भौतिक संसारका नियमहरू र ती प्राकृतिक रीतिहरूमा आधारित सिद्धान्तहरूको प्रतिपादन गरे। उनका कतिपय विचारहरू भने विज्ञान र आध्यात्मबीचको अन्तरसम्बन्धलाई केलाउने काम गरेको पनि देखिन्छ।
आइन्स्टाइनका जटिल लाग्ने र परिष्कृत सिद्धान्तहरू भित्रका खोजहरू धर्म र आध्यात्मिकताका बारेमा उनले भनेका र लेखेका छन्। ती सन्दर्भहरूमा खासगरी बौद्ध धर्मको वैज्ञानिक विशेषताहरूले बढी महत्व पाएको देखिन्छ। बौद्ध धर्मले कट्टरपन्थ र धर्मशास्त्रको अन्धभक्तिलाई बेवास्ता गर्छ र आफू स्वयंको अनुभवबाट उत्प्रेरित भावनामा आधारित प्राकृतिक र आध्यात्मिकलगायत सम्पूर्ण अस्तित्वको अर्थपूर्ण सामञ्जस्यता नै भविष्यका लागि ब्रह्माण्डिक धर्म ‘कस्मिक रिलिजन’ हुने आइन्स्टाइनको बुझाइ थियो। जुन उनका अनुसार बौद्ध धर्मले मात्र सम्बोधन गर्न सक्छ। मूलतः आधुनिक वैज्ञानिक आवश्यकताहरूको सामना गर्न सक्ने कुनै आध्यात्मिक परम्परा छ भने त्यो बौद्ध धर्म नै हो भन्ने आइन्स्टाइनको मान्यता हो। पश्चिमी वैज्ञानिक सोचका प्रतिनिधि पात्र अल्बर्ट आइन्स्टाइन जस्तै अब्राहामिक धार्मिक परम्परामा आधारित छ वर्तमान समय। यसैको पश्चिमी समाजको वर्चस्वशाली क्रिश्चियन धर्म उदय हुनुभन्दा पाँच सय वर्षअघि नै बुद्धले ईश्वरको अस्तित्वबारे विश्वस्त हुन नसकेको बताएका थिए।
आधुनिक विज्ञानले प्रमाणहरूका आधारमा निष्कर्षमा पुग्न सकिने विचारलाई मान्यता दिएको थियो। त्यसभन्दा दुई हजार वर्षअघि नै बुद्धले ज्ञान प्राप्तिको मार्गमा आत्म–अवलोकन, प्रत्यक्ष अनुभव र तर्कमा आधारित बुद्धिमत्तालाई प्रयोगमा ल्याए। आध्यात्ममा बुद्धले र आधुनिक विज्ञानमा आइन्स्टाइन दुवैले वैज्ञानिक आधारमा गरिएका अनुसन्धानहरूमा टेकेर ‘अलौकिकता’लाई खारेज गरिदिए। जसरी बुद्धले आफैंभित्रको बुद्धत्व नियाल्ने कोसिस गरे। आफ्ना ज्ञानमार्फत संसार परिवर्तन गरे आइन्स्टाइनले पनि आफ्नो खोज र अन्वेषणमार्फत मानव सभ्यतालाई २१औं शताब्दीमा टेकाइदिए। चार सय वर्षयता तर्क र परीक्षणका आधारमा विज्ञानले मानव सभ्यतालाई जसरी परिभाषित गर्यो। त्यसरी नै हजारौं वर्षदेखि हाम्रो अस्तित्व र प्रकृतिबीच सामञ्जस्यता कायम राख्न आध्यात्मले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्यो। धार्मिक कट्टरपन्थ र सांस्कृतिक संकुचनले बेला–बेलामा मानव जातिको अस्तित्वलाई नै जोखिम पारिरहने असंख्य घटनाबीच विज्ञानले जस्तै आध्यात्मले मानवतालाई एकै ठाउँमा ल्याएको छ।
विज्ञान र प्राकृतिक नियमहरूमा टेकेर मात्र आफ्ना धारणाहरू राख्ने आइन्स्टाइनले बुद्धलाई धार्मिकभन्दा पनि आध्यात्मिक पात्रका रूपमा स्विकारेका थिए। बुद्धको आध्यात्मिक अनुभवहरू नै कालान्तरमा धर्ममा रूपान्तरित भएको थियो। साथै मानवताको हितमा बुद्धले दिएको योगदानले मानवता उनीप्रति सदैव ऋणी हुने आइन्स्टाइनलाई उद्धृत गरेर लेखेको अभिलेख प्रिन्स्टन विश्वविद्यालयद्वारा प्रकाशित ‘अल्बर्ट आइन्स्टाइन, द ह्युमन साइड’ भन्ने पुस्तकमा छ। सन् २००० मा टाइम पत्रिकाले विश्वभर गरेको सर्वेक्षणले दिलाएको ‘पर्सन अफ द सेन्चुरी’ले सम्मानित आइन्स्टाइनको यो स्विकारोक्ति विज्ञानले गरेको बुद्धको आध्यात्मिक निष्कर्षको अनुमोदन पनि हो। अनुभवजन्य अनुसन्धान र अन्धभक्तिबीचका द्वन्द्वहरूबाट प्राप्त तथ्यका आधारहरूलाई मात्र स्विकार्ने परम्परा नै विज्ञान र आध्यात्मको मिलन विन्दु हो। बुद्ध र आइन्स्टाइनहरूले भेटाएको यही मार्ग नै २१औं शताब्दीको आध्यात्म हो।