एकताको महापर्व छठ : पर्व एक सन्देश अनेक
जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने समाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ। आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ।
मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष मानव र प्रकृतिबीच सम्बन्ध मेटाउँदै-हराउँदै-बिलाउँदै र लोप हुँदै गएको प्रकृतिक वस्तुहरुलाई संरक्षण नै यसको मुल महत्व हो।
प्रकृतिबीचको सम्वेदनशील रागाँत्मक, संवाद-सम्बन्धको सबलीकरण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने महापर्व हो छठ। भनिन्छ, ‘भक्त र भगवानसँग सिधा वार्तालाप हुने पर्व छठ नै हो।’ यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन।
छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ। त्यसैले पुजारी चाहिँदैन। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन विधिहरु सिधै सिक्ने र नयाँ पुस्तामा हस्तान्तरण हुने हुन्छ। केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन। व्रतालुहरु सूर्य मन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्।
चार दिवसीय छठमा सबैभन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम-शक्ति र महत्वको हिसाबले कात्तिक शुक्ल षष्ठीको दिन नै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन जनकपुरधामसहित संघीय राजधानी काठमाडौंका साथै नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको हो छठ। सूर्यको उपासनाको पर्वमा छठी माताको पूजा गरिन्छ। साँझ अस्ताउँदो र भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ।
धनी-गरिब, ब्राह्मण-दलित, उच-निचको ख्याल नगरि एकै साथ मिलेर मनाइनु नै छठको मुख्य विशेषता हो। समाजमा रहेका छुवाछुत कुसंस्कार, कुरिती र विकृति हटाउन छठ सहायक शिद्ध भईरहेको सांस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्। छठको सबैभन्दा महत्वपूर्ण पक्ष पवित्रता र लोकपक्षसँग जोडिएको छ। लाल भन्छन, ‘भक्ति र अध्यात्मिकताले भरिपूर्ण छठमा मन्दिर वा आडम्बरको आवश्यकता हुँदैन। यो पर्वले समाजमा सबैको आ–आफ्नो महत्व उत्तिकै हुन्छ भन्ने आभाष दिलाउँछ’ उनले भने।
संस्कृतिविद् डा.रामभरोष कापडिले छठको मुख्य आशय नै सबैप्रति सहानुभूति र समान व्यवहार गर्नु हो। ‘जसरी माटोको सामाग्री कुम्हाल, बाँसको सामाग्री डोम, नङ्ग काटन लोहार, सख्खर–चामलका लागि किसान, पूजा प्रसाद बनाउन महिला, घाटमा लैजान पुरुष आवश्यक हुन्छ। सोही अनुरुप दिन दुःखी बिना जुत्ता–चप्पल कसरी हिँड्छन्, बिना साधन कसरी काम गर्दछन्, त्यसको आभाष गराउनका लागि घाटमा प्रसाद लैजानेहरु धनी होस् या गरिब जुत्ता, चप्पल बिना हिँडेर लैजानु समान व्यवहारत समान मानवजात भएको दर्शाउँछ।’ यसले प्रकृतिमा भएको प्राकृतिक वस्तुहरुको समान महत्व भएको दर्शाउँछ’ कापडिले भने, ‘छठको लोक गीत–संगीतले जीवनको सार्थकताको उद्देश्यलाई पवित्रताका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्छ’ उनले भने।
समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिने गरेको समाजशास्त्री शोभा महतो बताउँछिन। ‘सूर्यले सबै प्राणीहरुलाई समान रुपमा प्रकाश दिन्छ, त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गर्ने परम्परा रहेको छ’ उनले भनिन्।