भारतमा बस–ट्रक जुध्दा आगो दन्कियो, १२ यात्रु जले
राजस्थान : भारतको राजस्थान राज्यस्थित जोधपुर नेसनल हाइवेमा बस र ट्रक एकआपसमा जुध्दा दुईटै सवारी साधनमा आगो दन्किएको छ। बुधबार मध्यान्ह सवारी साधनमा आगो लाग्दा बसभित्र सवार करिब १२ यात्रुको जलेर मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानको बार्मेर जिल्लास्थित जोधपुर नेसनल हाइवेमा विपरित दिशाबाट आइरहेको बससँग ट्रक जुध्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परि १२ यात्रुको जलेर मृत्यु भएको छ भने २२ भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्। घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सो घटनापश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै मृतक परिवारलाई जनही २ लाख भारु दिने घोषणा गरेका छन् भने घाइतेलाई जनही ५० हजार भारु दिने घोषणा गरेका छन्।