अफगानिस्ताबारे भारतले बोलाएको वार्ता अफगान प्रतिनिधीबिनै समापन, चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी

अफगानिस्ताबारे भारतले बोलाएको वार्ता अफगान प्रतिनिधीबिनै समापन, चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी

अफगानिस्ताबारे भारतले बोलाएको वार्ता अफगान प्रतिनिधीबिनै समापन

नयाँ दिल्ली : अफगानिस्तान मुद्दामाथि भारतले बोलाएको अन्तर्राष्ट्रिय बैठक अफगान प्रतिनिधिबिना नै समापन भएको छ। भारतले बुधबार आयोजना गरेको सो बैठक अफगान प्रतिनिधिलाई निम्तो नदिएरै समापन भएको हो। 

बुधबार दिल्लीमा आयोजित सो बैठकमा भारतको परराष्ट्र मन्त्रालयसहित रुस, इरान, उज्वेकिस्तान, तुर्केमेनिस्तान, काजकिस्तान र किर्गिस्तानका वरिष्ठ सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो। अफगानिस्तानको मुद्दाबारे चर्चा गर्न बोलाइएको सो बैठकमा कुनै पनि अफगान प्रतिनिधिलाई भने निम्ता नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। 

‘दिल्ली रिजनल सेक्युरिटी डायलग अफ अफगानिस्तान’ नाम दिएइएको सो बैठकमा चीन र पाकिस्तानले समेत उपस्थिति जनाएका थिएनन्। तालिबानले अफगानिस्तान कब्जामा लिएपछि भारतले पहिलोपटक सो बैठक आयोजना गरेको हो। 

सो बैठकमा अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउने र त्यहाँको सुरक्षामा केन्द्रित हुनेबारे छलफल भएको बताइएको छ। सो बैठकमा उपस्थित प्रतिनिधिहरुले अफगानिस्तानमा रहेको आतंकवादीविरुद्ध लड्ने प्रतिज्ञा समेत गरेको भारतीय सञ्चारमाध्यममा खबर छ। 
०००

चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी
बेइजिङ : चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)ले चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी गरेको छ। आगामी जाडो मौसममा सैन्य सञ्चालनको लागि पिएलएले सीमामा पूर्ण तयारी गरेको हो। 

उच्च स्थानमा रहेको सीमामा सैन्य सञ्चालनका लागि सुविधायुक्त उपकरण र अन्य आवश्यक वस्तुसहित सेनाले पूर्ण तयारी थालेको चिनियाँ सञ्चारमाध्यममा खबर छ। ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार जाडोयाममा सो क्षेत्रमा खटिएका सैनिक र अन्य अधिकारीको बसाई र कामको अवस्थामा सुधार ल्याउन पीएलएले पहिलो पटक भव्य तयारी गरेको हो। सो तयारीले कठिन हिमाली सीमा क्षेत्रमा खटिएका सैनिकको मनोबल बढ्ने, खराब मौसममा पनि सैन्य गस्ती र अन्य कार्यमा सेनालाई सहज हुने बताइएको छ। 

करिब ४ हजार ५ सय मिटर उचाईमा रहेको चीन–भारत सीमामा सेना सञ्चालनको तयारी गरिएको हो। सो क्षेत्रको तापक्रम जाडोयाममा माइनस ४० डिग्री सेल्सियसभन्दा कम हुने गर्छ। 

सो क्षेत्रमा भारतीय सेनाले समेत सैन्य सञ्चालन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
०००

राष्ट्र संघद्वारा कोप २६ को प्रतिवेदन सार्वजनिक 
ग्लास्गो : संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले बुधबार कोप २६ को पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ। संघले २६ औं जलवायु सम्मेलन कोप २६ को पहिलो प्रतिवेदन सार्वजनिक गरेको हो।  

सो प्रतिवेदनमा जलवायु संकटको न्यूनीकरणका लागि विश्वका मुलुकहरुले गरेको राजनैतिक निर्णय प्रकाशित गरिएको छ। जलवायु सम्मेलनमा सहभागी करिब २ सय मुलुकका प्रतिनिधिहरुले प्रतिवेदनको मस्यौदाअनुसार काम गर्नेछन्।  

अक्टोबर ३१ देखि ग्लास्गोमा आयोजित जलवायु सम्मेलन गएको शुक्रबार समापन भएको थियो। 

कोप २६ मा संसारका मुलुकहरुले गरेको प्रतिवद्धता सम्झौता के कसरी कार्यान्वयन गर्ने र कत्तिको प्रभावकारी बन्ने भन्नेबारे सो प्रतिवेदनले निर्धारण गर्नेछ।
००० 

पाकिस्तानमा अमेरिकी विशेष दूत र तालिबानले भेट्दै
इस्लामावाद : अफगानिस्तानका लागि नयाँ अमेरिकी दूतले तालिबानका विदेशमन्त्री, चीन र रुसका विशेष कुटनीतिज्ञसँग भेटवार्ता गर्ने भएका छन्। अमेरिकी दूत थोमस वेस्टले तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकी र अन्य विशेष कुटनीतिज्ञसँग यही हप्ता भेटवार्ता गर्न लागेका हुन्। 

पाकिस्तानी अधिकारी र अमेरिकी विभागका अनुसार बिहीबार इस्लामावादमा आयोजित ‘ट्रोइका प्लस’ नामक बैठकमा उनीहरुले भेटवार्ता गर्न लागेका हुन्। सो भेटमा अफगानिस्तानको सुरक्षा सम्बन्धमा छलफल हुने बताइएको छ।

अफगानिस्तानका लागि नयाँ दूत वेस्टले चीनले अफगानिस्तानमा सकारात्मक भूमिका खेलिरहेको समेत बताएका छन्।
०००

इथियोपियाद्वारा संयुक्त राष्ट्रसंघका ७० भन्दा बढी ड्राइभर हिरासतमा 
नाइरोबी : इथियोपियाली अधिकारीहरुले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई हिरासतमा राखेका छन्। अधिकारीहरुले संघका करिब ७० भन्दा बढी सवारी चालक (ड्राइभरसहित) र १६ भन्दा बढी स्थानीय  कर्मचारीलाई हिरासतमा राखेका हुन्। 

राष्ट्रसंघले बुधबार इमेलमार्फत सो जानकारी दिएको हो। त्यहाँको विद्रोही समूह टाइग्रेयनले इथियोपियामा कार्यरत संघका कर्मचारीलाई पक्राउ गर्दै हिरासतमा राख्दै आएको इथियोपियाको मानव अधिकार आयोगले जानकारी दिएको छ। 

टाइग्रेयनले गत हप्ता राजधानीसहित इथियोपियाका मुख्य सहरहरु कब्जा गरेको थियो। संघका कर्मचारीहरुलाई राजधानी अडिस अबाबाको हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। 
०००

जापानका प्रधानमन्त्री किशिदा पुनर्निवाचित
टोक्यो : जापानका प्रधानमन्त्री फुमिदो किशिदा प्रधानमन्त्रीको रुपमा पुनर्निवाचित भएका छन्। उनी बुधबार संसदबाट प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएका हुन्। 

बुधबार भएको संसदीय चुनावमा सत्तारुढ पार्टीबाट भारी बहुमत प्राप्त गरेसँगै किशिदा प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएको स्थानीय सञ्चारमाध्यममा खबर छ। यसअघि गत महिना पूर्व प्रधानमन्त्रीले राजीनामा दिएपछि किशिदा जापानको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए। 

प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएपछि उनले जापानमा नयाँ पूँजीवादको लक्ष्य प्राप्त गर्ने प्रतिज्ञा गरेका छन्। 

०००

म्यानमारद्वारा अमेरिकी पत्रकारमाथि आतंकवादी र देशद्रोहको मुद्दा 
वसिङटन : म्यानमार सरकारले अमेरिकी पत्रकारमाथि आतंकवादी र देशद्रोहको मुद्दा लगाएको छ। हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्सटरमाथि म्यानमार सरकारले बुधबार सो मुद्दा लगाएको हो। 

पत्रकार ड्यानी गत मे महिनामा पक्राउ परेका थिए। पक्राउपछि म्यानमार सेनाले उनलाई हिरासतमा राखेको थियो। 

ड्यानीका वकिल थाङ जो आउङले बुधबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएअनुसार म्यानमारले उनीमाथि थप नयाँ आरोप लगाउँदै मुद्दा अघि बढाएको छ। उनीमाथि लागेको देशद्रोह र आतंकारीको आरोप सावित भएमा उनले जन्मकैदको सजायसमेत भोग्नुपर्ने छ। 

३७ वर्षीय अमेरिकी पत्रकार फेन्स्टर फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन्।
०००

इरानले जफत गरेको भियतनामी तेल ट्यांकर स्वतन्त्र
दुबई : इरानले जफत गरेको एक भियतनामी तेल ट्यांकर स्वतन्त्र गराइएको छ। आन्ध्रप्रदेशस्थित इरानको बन्दर अब्बास पोर्टमा सो ट्यांकर बुधबार स्वतन्त्र छोडिएको हो। 

इरानको शक्तिशाली अर्धसैनिक रिभोलुसनी गार्ड सैनिक समूहले अक्टोबर २४ मा तेल बोकिरहेको ट्यांकर नियन्त्रणमा लिएको थियो। 

इरानले विस्फोटका लागि सो ट्यांकर कब्जा गरेको हुन सक्ने अनुमान विभिन्न विश्लेषकहरुले गर्दै आएका थिए।
०००

श्रीलंकामा भारी वर्षाका कारण १६ को मृत्यु, हजारौँ विस्थापित
कोलम्बो  : श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तिमा १६ मानिसको मृत्यु भएको छ। करिब एक हप्ता लामो भारी वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको बुधबार त्यहाँका अधिकारीहरुले बताएका छन्।

श्रीलंकाको विपद् व्यवस्थापन विभागका अनुसार करिब एक हप्तादेखि जारी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तिमा १६ को मृत्यु भएको छ भने ५ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन्। सरकारले पीडित परिवारको उद्दार र राहत वितरण कार्य जारी राखेको समेत विभागले जनाएको छ। 

श्रीलंकामा अक्टोबर र नोभेम्बर महिनामा बढी पानी पर्ने गर्छ। यसपटक विगतमा भन्दा बढी पानी परेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

-संयोजन : अस्मिता खड्का 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.