दूधको मूल्य समायोजन गर्न माग
काठमाडौं : पशुपालक किसान दूधको मूल्य बढाउन माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। विगत लामो समयदेखि दूधको मूल्य वैज्ञानिक आधारमा समायोजन नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
सो अवधिमा दाना, औषधि, पराल, घाँसलगायतका सम्पूर्ण पशु आहारामा अत्याधिक मूल्य बढेकाले किसानले दूधको मूल्य बढाउन माग गरेका हुन्। पशुपालनमा घाटा भएकाले पेसाबाटै विस्थापित हुने अवस्था आएको थानकोटका किसान ईश्वर बलामीले बताए। किसानको आवाज सरकारसम्म नपुगेको र उनीहरूको पहिलो माग विगत दुई वर्षदेखि नबढेको दूधको मूल्य बढाउनुपर्ने बताएका छन्।
किसानले दूधको मूल्य काठमाडौंका डेरीमा ६५ देखि ७० सम्म पाउँछन्। सात वर्ष विदेशमा बसेर फर्किए पछि नेपालमा कृषि पेसा अँगालेकी भोजपुरकी शर्मिला अधिकारी राउतको पीडा पनि उस्तै छ। उनले कीर्तिपुरमा ६ रोपनीमा राम लक्ष्मण अर्गानिक फर्म सञ्चालन गर्छिन्।
कालीमाटी बस्दै आएका सीताराम भुजेलले दूधको भाउ तय गरिनुपर्ने बताए। किसानले कृषि एम्बुलेन्सको पनि माग गरेका छन्। कृषि उत्पादनको बजार सुनिश्चित गरिनुपर्ने, हचुवाको भरमा नभई अध्ययन र सम्भाव्यताको आधारमा सुविधा सम्पन्न कृषि क्षेत्रको निर्माण गरिनुपर्ने, कृषि मेसिनरी उत्पादन गर्ने कारखाना देशभित्रै सञ्चालन गरिनुपर्नेलगायतका माग किसानले राखेका छन्।