दस महाविद्याको पूजा र परिक्रमा सम्पन्न
भक्तपुर : भक्तपुर नगरभित्र रहेका दस महाविद्याको बुधबार पूजा र परिक्रमा गरिएको छ । तन्त्र चर्चाको आयोजनामा श्रीयन्त्रकार भक्तपुर नगरमा दस महाविद्याको तान्त्रिक विधिबाट पूजा गरिएको थियो।
काठमाडौं तलेजु भवानीका पुजारी उद्धव कर्माचार्य, पाटन तलेजु भवानीका पुजारी निरण ज्वालानन्द राजोपाध्याय र भक्तपुर तलेजु भवानीका पुजारी प्रज्ञेश राजोपाध्याय र गजानन्द राजोपाध्यायले भक्तपुरस्थित काशी विश्वनाथ मन्दिरमा दस महाविद्याको संकल्प पूजा गरेका थिए ।
तन्त्र चर्चाका अध्यक्ष सन्दिप सापकोटाका अनुसार श्री काली, श्री भैरव, श्री तारा, श्री सिद्धिलक्ष्मी, श्री धुमावती, श्री बगलामुखी, श्री मातंगी, श्री भुवनेश्वरी, छिन्नमस्ता र त्रिपुरासुन्दरीको पूजा र परिक्रमा गरिएको हो ।
पूजामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङ, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, संस्कृति अध्येता ओम धौभडेललगायतको सहभागिता थियो । पूजा र परिक्रममामा विभिन्न संघसंस्थाका प्रतिनिधि र साधक गरी ८४ जनाको सहभागिता थियो ।