भान्सामा सिलिन्डर ‘बम’

भान्सामा सिलिन्डर ‘बम’

काठमाडौं : ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ। त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो। 

ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन्। यी दुवै घटनाबारे जानकार भीम शाक्यका अनुसार कात्तिक १९ गते एउटा सिलिन्डर भने केही भएको थिएन। ‘आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने हो’, ललितपुर महानगरपालिका १२ नवाहल टोल सुधार समितिका अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो र मिति सकिएको भन्ने सूचना पाएको छु।’ 

उनका अनुसार सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो। सुनसरीको इटहरी उपमहानगरपालिका–११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्ले पनि १० वर्षअघि यस्तै दुर्घटनामा परेका थिए। हलेसी महादेव दर्शनमा हिँडेका बेला उदयपुर कटारीमा टोलीकी एक महिलाले खाना पकाउने क्रममा एक्कासि ग्यास सिलिन्डरमा आगो बल्यो। उनले पानी ल्याएर खन्याइन्। त्यसपछि बिस्फोट हुँदा काफ्ले गम्भीर घाइते भए। उनी डेढ महिना उपचारपछि निको भए। ती महिलाको भने उपचारका क्रममा मृत्यु भयो। 

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन। ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। हामीले तथ्यांक संकलन गर्न थालेका छौं।’ 

भान्सामा प्रयोग गर्ने ग्यास सिलिन्डर बिस्फोट हुँदा धनजनको क्षति हुने गरेको छ। यसमा  सरकारको लापरबाही मुख्य कारक रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन््। ‘ग्यास सिलिन्डरजस्तो अति संवेदनशील वस्तु गुणस्तरीय छ/छैन ? लिक भइरहेको पो छ कि ? सरकारी निकायले नियमन गर्नुपर्ने हो’, अध्यक्ष बानियाँ भन्छन्, ‘एउटा सिलिन्डर १०–१२ वर्षसम्म मात्रै प्रयोग गर्न उपयुक्त देखिन्छ। तर, यहाँ २० औं वर्ष पुराना सिलिन्डर पनि हाम्रा भान्सामा देखिन्छन्। ग्याससँगै लेदो भेटिन्छन्। कसले गर्ने नियमन ?’ आधिकारिक निकाय नेपाल आयल निगम भए पनि उसको प्राथमिकतामा नपरेको बानियाँ बताउँछन्। 

राखेको ठाउँमा सिलिन्डर आफैं पड्किन्छ भन्नुमा सत्यता नभएको तर्क गर्छन् एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठ। भन्छन्, ‘सिलिन्डर पड्किन आगोको नजिक पर्नुपर्ने हुन्छ।’ महासचिव श्रेष्ठका अनुसार नेपालमा ग्यास उद्योगको सुरु २०२८ सालमा भएको हो। अहिले ६० वटा उद्योग छन्। यी उद्योगमा १ करोड ५० लाख सिलिन्डर छन्। 

देशभर चारवटा कम्पनीमार्फत खाली सिलिन्डर उत्पादन हुन्छ। त्यसपछि प्रत्येक कम्पनीले सिलिन्डरको हाइड्रो जाँच गर्नुपर्छ। सरकारले गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै ग्यास भरी बजारमा पठाइने हुँदा सिलिन्डरको क्षमतामा प्रश्न गर्ने ठाउँ नरहेको श्रेष्ठको दाबी छ। भन्छन्, ‘सयमा सय सिलिन्डर नै चेकजाँच हुन्छ। ग्यास भरिसकेपछि पनि सिलक्याप लगाउने बेला पुनः चेकजाँच हुन्छ।’ 

उनका अनुसार सिलिन्डरको म्याद यति नै भन्ने छैन। ‘उत्पादनको पहिलो ७ वर्षमा पूरै रिफाइन गर्ने र अर्को ५/५ वर्षमा पुनः रिफाइन गर्ने गरेका छौ। खराबी नआउँदासम्म प्रयोग गर्ने गरेका छौं’, उनी भन्छन्, ‘नेपाल ग्यासको ४० वर्ष पुरानो सिलिन्डर पनि प्रयोगमै छ।’ 

उनका अनुसार पुराना र खराबी देखिएका सिलिन्डर स्क्राप ‘काटेर टुक्रा–टुक्रा बनाउनु’ गरी कवाडीमा पठाउने गरिएको छ। २०७५ माघसम्म ६० ग्यास उद्योगबाट २९ हजार १ सय ९६ वटा पुराना सिलिन्डर स्क्राप गरिएको थियो।

मञ्चकै सदस्य अजय अधिकारी भान्सा–भान्सामा कमसल सिलिन्डरकै कारण बिस्फोटका घटना  बढेको तर्क गर्छन्। भन्छन्, ‘एउटा सिलिन्डर कति वर्ष प्रयोग गर्न पाइने हो भनेर कुनै नियम छैन। कोही १० वर्षमै स्क्राप गरिएका पनि छन्। कोही ४० वर्षसम्म पनि बजारमा चलिरहेको छ। सिलिन्डरको नियमन र अनुसन्धान कसले गर्ने ?’ 

उनका अनुसार हरेक ग्यास कम्पनीले प्रत्येक सिलिन्डरको १५ लाख बराबरको बिमा गरेका हुन्छन्। बिमा गर्दाको सिरियल नम्बर पनि सिलिन्डरमा लेखिएको हुन्छ। ‘तर, हामीले पसलबाट ग्यास ल्याउँदा सिरियल नम्बरसहितको बिल पाउँदैनौं। हामीलाई यस्तो बिल किन दिइन्न ?’, उनी भन्छन्, ‘पक्कै पनि नापतौल, आयल निगम र ग्यास कम्पनीको मिलेमतो हुनुपर्छ। रिटेष्ट नगरी मिति मात्र फेरेर कमसल सिलिन्डर बजारमा पठाएको हुनुपर्छ। ग्यास कम्पनीले सिलिन्डर पड्किन्न भनेर हुन्छ ? बजारमा गुणस्तरीय पठाउने भए मक्किएका, कुच्चिएका, बिग्रिएका, लिक भएका सिलिन्डर हाम्रा भान्सामा कहाँबाट आए ? यस्ता सिलिन्डरबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ? हामीले पूरै पैसा तिरेपछि सुरक्षित र सग्ला सिलिन्डर पाउनुपर्ने होइन ?’ 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार धेरैजसो दुर्घटना मानवीय लापरबाहीले हुने दाबी गर्छन्। ‘सुरक्षित तरिकाले प्रयोग गर्न जाने जोखिम कम हुन्छ’, प्रवक्ता उपाध्याय भन्छन्। उनका अनुसार सरकारबाट गुणस्तर चिह्न प्राप्त सिलिन्डर मात्रै बजारमा जान्छ। यसको अनुगमन तथा नियमन गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभाग हो। दुर्घटनाबाट जोगिन प्रयोगकर्ता सचेत हुनुपर्ने उनको भनाइ छ। भन्छन्, ‘ग्यास उत्पादक गुणस्तर र सुरक्षा मापदण्डमा आउनै पर्छ।’ 

निगमकै ग्यास विभाग प्रमुख नेत्र काफ्लेका अनुसार प्रत्येक महिना देशभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ। बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यास खपत बढ्दो छ। 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता महर्जन ग्यास सिलिन्डर पड्किने कारण एउटै मात्रै नहुने बताउँछन्। ‘घटनाअनुसार कारण फरक–फरक हुन्छ। प्रायःजसो रेगुलेटरबाट ग्यास लिक भएर दुर्घटना हुन्छ’, उनी भन्छन्, ‘सिलिन्डर राम्रोसँग प्रयोग नगर्ने, कमसल चुल्हा, रेगुलेटर र रबर प्रयोग गर्ने, प्रयोग गरेपछि ग्यास पूर्णतया बन्द नगर्ने जस्ता लापरबाहीले गर्दा धेरैजसो ग्यास सिलिन्डर पड्किने गरेको छ।’ 

निगमका ग्यास विभाग प्रमुख काफ्ले थोरै मात्रै पनि सचेतना अपनाए दुर्घटना ९० प्रतिशत घटाउन सकिने तर्क गर्छन्। ‘सिलिन्डरमा हरेक पटक ग्यास भर्दा त्यसभित्र जम्मा भएको लेदो सफा गर्नुपर्ने नियम छ। सरकारले अनुगमन गर्नुप¥यो। हरेक सिलिन्डरको पहिलो ५ वर्ष र त्यसपछि हरेक ३/३ वर्षमा हाइड्रोलिक चेक गर्नुपर्छ। सिलिन्डरको अवस्था सही  भएमा थप ५ वर्ष म्याद थप्न सकिन्छ’, उनी भन्छन्, ‘म्याद नाघेका, वेल्डिङ गरेर पुनः मर्मत गरेका सिलिन्डर भने प्रयोग गर्न पाइँदैन।’ सिलिन्डरको यति नै वर्ष म्याद हुन्छ भन्ने कहीँ कतै उल्लेख नगरिएको उनको भनाइ छ। 

उनका अनुसार दुर्घटना भइहाले प्रत्येक ग्यास उत्पादक कम्पनीले हरेक सिलिन्डरको बिमा गरेका हुन्छन्। ग्यास सिलिन्डर कमसल भएर पड्किएको एकिन भएमा कम्पनीको नियमअनुसार ५ देखी १५ लाखसम्म क्षतिपूर्ति प्रदान गरिनेछ। घाइतेलाई उपचार खर्च तथा मृतक परिवारलाई क्षतिपूर्ति भराउने नियम छ। 

नेपाल गुणस्तर तथा नापतौल विभागका सूचना अधिकारी संजीवकुमार ठाकुर ४७ वटा ग्यास कम्पनीले गुणस्तर चिह्न प्राप्त गरेका बताउँछन्। अन्य कम्पनी पनि दर्ता र स्वीकृति प्रक्रियामा छन्। ठाकुरका अनुसार विभागले निरन्तर ग्यास उद्योगमा नियमन र अनुसन्धान गर्ने गर्छ। गुनासो आएका उद्योगलाई कारबाहीको सिफारिससमेत गर्दै आएको उनको भनाइ छ। 

बजारमा पुग्ने ग्यास सिलिन्डरहरू अन्तर्राष्ट्रिय स्तरकै मापदण्डको भएको हुँदा सिलिन्डर आफैं बिस्फोट नहुने तर्क गर्छन् उनी। भन्छन्, सिलिन्डरमा खराबी नदेखिँदासम्म प्रयोगमा ल्याउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.