जेल परेपछि घरबार तहसनहस हुँदोरहेछ...
काठमाडौं : ‘छोराछोरीलाई कसेर अँगालो हाल्न मन छ। यत्रो वर्ष टुहुरो बनाएँ भन्दै हात जोडेर माफी माग्न मन,' कारागारमा भेटिएकी एक ४४ वर्षीया महिलाले डरलाग्दो भविष्यको अनुमान गर्दै थिइन्, 'अरुले मेरोबारे नराम्रो कुरा पो लगाइदिए कि? छोराछोरीले मलाई त्यागिदिने त हैनन्?’ जेलमुक्त हुने दिन नजिकिदै गर्दा ती महिलामा छोराछोरीप्रति भयानक डर बसेको छ।
'तोते बोल्ने छोराछोरी अहिले जवान भइसके। उनीहरुलाई स्पर्श गर्न नपाएको १२ वर्ष भयो। आँखाभरि उनीहरुसँग मिलनको सपना छ। यत्रो वर्ष भेट्न नपाउँदा हुने छट्पटी र पीडा कसरी सुनाउ? यस्तो कसुरमा फसिएला भन्ने कसले कल्पना गरेको थियो?' उनी आफैँमाथि प्रश्न तेर्स्याइन्।
'जति पीडा भए पनि छोराछोरीको मायाले मर्नचाहिँ नदिँदो रहेछ।' आँखाको डिलैसम्म बगेको आँसुलाई माझी औँलाले पन्छाउँदै सुकसुकाइन्। मैले थप प्रश्न गर्न सकिनँ।
एघार वर्षअघि लागुऔषध ओसार पसार मुद्दामा अदालतले ती महिलालाई दोषी ठहर गर्दै १४ वर्षको जेल सजाय तोकेको थियो। ११ वर्षदेखि जेलको चार दिवारभित्र सीमित रहेकी उनलाई टुहुरा भएका छोराछोरीलाई सहारा दिन छटपटी छ।
छोराछोरी कहाँ छन्?
लामो साँस फेर्दै भनिन्, 'माइतीले कहाँ हेर्छन् बच्चा? छोरी जेल परेपछि त माइतीको इज्जत बदनाम भयो नि। गल्ती गरेर होस् या नगरेर महिला जेल परिसकेपछि घरबार तहसनहस हुने रहेछ।
जेलमुक्त भएपछि कहाँ जाने? कोसँग जाने? उनले केही भेउ पाउन सकेकी छैनन्। 'महिला जेल पर्नु भनेको एकैपटकमा सर्वस्व सकिनु रहेछ। जिन्दगी शून्यमा झर्दो रहेछ। हिम्मत भएकाहरु त जीवनको नयाँ अध्याय सुरु गर्दा हुन्? नहुनेहरु चाहिँ…' उनी थप केही बोल्न सकिनन्।
'गाउँघरमा मागेर, संघसंस्थाले पालिदिएर हुर्किदैछन् छोराछोरी। गाडी भाडा भयो भने २-४ वर्षमा भेट्न आउँछन्। खै देखेको छैन? कसरी के गर्दैछन्? झुप्रो बनाएर काम गरी पेट पाल्छन् रे !' उनले सुनेको कुरा ठम्याए।
हुनतः उनलाई अदालतबाटै दोषी ठहराएको छ। निर्दोष छु भनेर उनले लडेका कानुनी लडाइँ फेल भए। उनी भन्छिन्, 'थाहा नपाएरै फसे। मुद्दा लड्ने पैसासमेत भएन। पैसाको लोभमा पर्दा नसोँचेको दुःख भोग्दैछु।'
१२ वर्षअघि के भएको थियो?
बच्चाहरु स-साना थिए। साँझ-बिहानको छाक टार्न समस्या थियो। घरमा उब्जनी थिएन। गाउँमा आइराख्ने एक जना दाइले 'अत्यन्तै महत्वपूर्ण सामान छ म जान भ्याइनँ। तिमीले सामान छाडिदिएर आउ न' भने। काठमाडौं गएबापत केही पैसा पनि दिने र काठमाडौं घुम्ने वातावरण मिलाइदिने भन्दै लोभ देखाए। उनी अर्को दिन उदयपुरबाट बस चढेर काठमाडौंका लागि हिँडिन्।
दाइले दिएको झोला साथैमा बोकेकी थिइन्। निकै जतन गरेर ल्याएकी थिइन्। बाटोमा झोला चेकजाँच गर्ने क्रममा उनी प्रहरीको फन्दामा परिन्। प्रहरीले समातेपछि उनी छाँगोबाट खसेजस्तै भइन्। उनको साथमा भएको झोलामा लागुऔषध भेटियो।
…
कर्तव्य ज्यानअन्तर्गत २० वर्ष कैद सजाय भोगेर जेल बाहिर निस्किँदै गर्दा एक ६० वर्षीया महिलाको जाने ठाउँ थिएन। केही महिनाअघि मात्रै जेलमुत्त भएकी उनी धार्मिक संस्थामा सम्पर्क गरेर आश्रममा गइन्। कारागारको गेट बाहिर निस्किँदै गर्दा उनीसँग संस्थाको ठेगाना लेखिएको कागजको चिटबाहेक अरु केही थिएन। वितेको २० वर्षमा उनी जोडिएका सबै सम्बन्ध छुटे। जेल परेकी बुहारी, श्रीमतीको लागि घरको ढोका सदैव बन्द भयो। सँगै जीवन बाच्ने कसम खाएका श्रीमानसमेत एक दिन भेट्न आएनन्। छोराछोरीले आमा चिन्नै पाएनन्। माइतीले त झन् नाता नै तोडिदियो।
…
त्यस्तै सिन्धुपाल्चोककी तामाङ थरकी एक महिला पनि लागुऔषध ओसारपसार कसुरमै १७ वर्षको कैद सजाय भोगिरहेकी छन्। उनी १४ वर्षदेखि जेलमा छिन्। 'अबको तीन वर्ष कहिले कट्ला भएको छ। जेलभित्रको समय यति पीडादायी हुन्छ, म बयान पनि गर्न सक्दिनँ,' उनी भन्छिन्, 'बच्चाहरु आउँछन्, कहिले निस्किने भन्दै सोध्छन्। के भन्ने? म आवाजविहीन हुन्छु।'
'बाहिर निस्किएपछि त जे गरेर पनि खाइन्छ जस्तो लाग्छ। लामो समय जेल परेका महिलाहरु प्रायः सबैको घरबार बिग्रिसकेको हुन्छ। पुरुष बन्दीलाई निरन्तर परिवार भेट्न आइरहेको हुन्छ। तर महिला बन्दीलाई भेट्न आउने संख्या निकै कम हुन्छ। मुद्दा फैसला नहुँदै उसको श्रीमानले अर्को विहे गरिसकेको हुन्छ,' उनले समस्या सुनाइन्।
…
श्रीमान विदेश भएका बेला गाउँमै सुरु भएको अवैध सम्बन्धका कारण छोरा जन्मिएपछि एक १९ वर्षीय युवती धर्मसंकटमा परिन्। आवेसमा आएर नवजात शिशुको हत्या गरिन्। उनका प्रेमी फरार भए। उनी दस वर्षका लागि कारागार चलान भइन्। जेलमुक्त हुँदा उनको जाने ठाउ थिएन। उनी भन्छिन्, ‘आवेसमा गल्ती गरियो। सजाय भोगे पनि जीन्दगीभर पश्चाताप लाग्ने रहेछ। लोकलाजको डरले घर र माइत जानै सकिनँ।’ कारागारभित्र चिनजान भएका साथीहरुको सहारामा उनले अन्य जिल्लामा बसाई सरिन्।
…
यी त केही उदाहरणमात्रै हुन्। कारागारको सजाय सुनाएर बन्दी जीवन विताएका अधिकांश महिला कैदमुक्त हुँदासम्म सबै गुमाइसकेका हुन्छन्। धेरैजसो महिलाहरु कर्तव्य ज्यान, लागुऔषध ओसारपसार, जीउ मास्ने, बेच्ने, गर्भपतन, नवजात शिशु हत्यालगायत मुद्दामा दोषी देखिने गरेका छन्। हुन त अपराधमा संग्लन भएको पुष्टि भएर कारागार चलान हुनु आफैँमा राम्रो कुरा होइन। तर पुरुष बन्दीको तुलनामा महिला बन्दीको जीवन झन् कठिन हुन्छ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार २०७८ सालको असोज महिनासम्म विभिन्न अपराधको कसुरमा १३ हजार ६६७ जना व्यक्ति दोषी करार भई बन्दी जीवन विताइहेका छन्। जसमध्ये १२ हजार ९९९ पुरुष र ७४८ महिला छन्।
त्यस्तै कारागारमा रहेका थुनुवाको संख्या ११ हजार १२ रहेको छ। जसमध्ये १० हजार ४५१ जना पुरुष र ५६१ जना महिला छन्। देशभरि विभिन्न ठाउँमा रहेका ८ वटा सुधारगृहमा ८४१ जना १८ वर्षमुनिका बालबालिका छन्। जसमध्ये २४ जना बालिका र ८१७ जना बालक रहेका छन्। त्यस्तै विभिन्न कसुरमा संग्लन भएका ४० बढी देशका १ हजार ३१५ विदेशी नागरिक कारागार चलान भएका छन्।
केन्द्रीय कारागार सुन्धाराका जेलर डोरेन्द्र प्रसाद निरौलाले पुरुष बन्दीको तुलनामा महिला कसुरदारको संख्या थोरै देखिए पनि उनीहरुको जीवन निकै कष्ठकर हुने गरेको बताए। उनले भने, 'पुरुष बन्दीलाई भेट्न आउने महिलाको संख्या निकै छ। तर महिला बन्दीलाई भेट्न आउने पुरुषको संख्या कम छ। अर्थात् श्रीमती जेल परिसकेपछि थोरै श्रीमानले मात्रै उनीहरुको साथ दिन्छन्। कारागार चलान भएका ८० प्रतिशत बढी महिला बन्दीको घरबार कैदमुक्त हुँदासम्म समाप्त भएको हुन्छ। उनीहरुले पुनः नयाँ जीन्दगी सुरु गर्नुपर्ने हुन्छ। पुरानो ठाउँ छाड्नुपर्ने हुन्छ। श्रीमानको घरमा गएर बाँकी जिन्दगी विताउने महिलाको संख्या कम छ।'
नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्लले कारागार चलान भएका व्यक्तिको पारिवारिक पुनःमिलनका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘उनीहरुलाई समाजमा पुनःस्थापना गरी बाँकी जिन्दगी सहजताका साथ बिताउने वातावरण सिर्जना हुनुपर्छ। अपवादबाहेक धेरै अपराधका घटना आर्थिकरुपमा कमजोर, विपन्न परिवारमा घट्ने गर्छ। पैसाको लोभमा गलत काम गरेको देखिन्छ। उनीहरु परिवार छोराछोरी पाल्नकै लागि विभिन्न प्रलोभनमा परेको देखिन्छन्,’ उनले भने।
परिवारका लागि गरेको अपराध कर्मको सजाय भोगेर बाहिर निस्किदासम्म उनीहरुको परिवार छिन्नभिन्न भइसकेको हुन्छ। अपराधसँग कहीँ न कहीँ व्यक्तिगत दुस्मनी, आर्थिक प्रलोभन, अवैध सम्बन्ध कारण भएर आउँछ। पछिल्लो समय महिलाहरु अवैध सम्बन्धले जन्माएको नवजात शिशु हत्या तथा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने खालको जघन्य अपराधमा पनि संग्लन भएका छन्। १०-२० हजारको प्रलोभनमा लागुऔषध ओसारपसार, मानव बेचबिखनमा पनि संग्लन भएको देखिन्छ।
‘एउटै कसुरमा महिला-पुरुष दुवै जना कारागार चलान भएमा जेलमुक्त हुँदा प्राय पुरुषको घरपरिवार ठीकठाक नै हुन्छ। कतिपय महिलालाई लिन आउने मानिससमेत हुन्नन्,’ डीआइजी मल्लले भने, ‘हामी बाँचिरहेको पुरुषप्रधान समाज हो। यहाँ पुरुषका ठूला गल्ती पनि ढाकछोप गरिन्छ। तर, महिलाका स-साना गल्ती पनि स्वीकार गरिन्न। कर्तव्य ज्यान, बलात्कारजस्ता कसुरमा परेर घर फर्किएका पनि केही समयमा त्यही घर, समाजमा सेटल भएका देखिन्छन्। तर, महिलाको हकमा कठोर छ समाजको नियम।’
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव राज रेग्मीले कारागारमा कैदी जीवन बिताइसके पनि महिलाहरुको हकमा समाजमा पुनःस्थापना हुन सहज नभएको बताए। ‘पुरुषलाई सर्वोच्चसम्म पनि मुद्दा लड्नका लागि परिवारको आर्थिक र अन्य सहयोग भइरहेको हुन्छ। तर, महिलालाई त्यस्तो खालको सहयोग हुन्न। महिलाहरुले जिल्ला अदालतबाटै भएको फैसलामा चित्त बुझाइरहेका हुन्छन्,’ उनले भने।
महिलाहरुले गर्ने कसुर घरायसी समस्या समाधान गर्नका लागि हुन्छ। तर, त्यसमा फसिसकेपछि उनीहरुले घरपरिवारकै साथ नपाउने गरेको उनको बुझाइ छ। ‘महिलाहरु कारागारबाट मुक्त भइसकेपछि पुरुषजस्तै सहजरुपमा समाजमा पुनःस्थापना हुन सकेको अवस्था छैन,' उनले थपे, ‘सरकारले महिलाहरुलाई पनि सहज पुनःस्थापना हुने खालका कार्यक्रम ल्याउनुपर्छ। कारागारमा हुँदा पनि महिलाहरुलाई आर्थिक उर्पाजनका कामहरुको व्यवस्था गर्न सक्यो भने राम्रो हुन्छ।’
महिलाहरुको हकहित, अधिकार संरक्षण र सम्बर्द्धन गरी विकासको मूलप्रवाहमा समावेश गराउन भन्दै २०५८ फागुन २३ गते राष्ट्रिय महिला आयोग स्थापना भएको छ। तर बन्दी जीवन विताएका महिला, उनीहरुको बालबच्चा र समाजमा पुनःस्थापनाका लागि आयोगले अहिलेसम्म कुनै कार्यक्रम ल्याएको छैन। यस विषयमा महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई सम्पर्क गर्दा उनी समपर्कमा आउन चाहिनन्।
महिला आयोगसहित राज्यका अन्य निकायले महिला बालबालिकाको क्षेत्रमा केही कार्यक्रम गरे पनि कारागारमा कैदी जीवन बिताइरहेका महिलाको हकमा भने कुनै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेको छैन।
महिला आयोगका सचिव मनोजकुमार आचार्यले पनि कारागारमा कैदीबन्दी जीवन बिताइरहेका तथा रिहा भइसकेका महिलाहरुका लागि कुनै खालका कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए। ‘हामीले कुनै उजुरी पर्यो भने त्यसमा छानबिन गर्ने र अनुगममनको काम गर्छौं तर उहाँहरुकै लागि भनेर कुनै कार्यक्रम छैन,’ उनले भने, ‘हिंसामा परेका महिलाहरुलाई उद्दार गर्नेलगायतका काम भए पनि अन्य हकमा कुनै कार्यक्रम हुन सकेको छैन।’
उनले महिलाहरुको पुनःस्थापनका लागि सेल्टर आवश्यकता पर्यो वा सिप सिकाउनेलगायतका कामका लागि भने आयोगले समन्वय गर्ने काम गर्दै आएको बताए।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले कारागारमा श्रीमानलाई भेटन् श्रीमती आए पनि कुनै मुद्दामा कारागारमा रहेका श्रीमतीलाई भेटन् श्रीमान आउने एकदमै कम रहेको बताए। नेपाल सरकारको नीति नै कारागारलाई सुधारगृहका रुपमा विस्तार गर्ने भन्ने रहेको छ। ‘कारागार बसिसकेपछि मुक्त भएर जाँदा कतिपयले सिप सिकेका हुन्छन्। तर सरकारको नीतिअनुसार कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘पूर्वाधारको अभाव, सिप विकास गर्ने ठाउँलगायतका अन्य पाटोहरु कमजोर नै छ।’ दाहालका अनुसार अधिकांक व्यक्तिहरुको असल चालचलनकै कारण माफी मिनाह हुने गरेको छ।
‘महिला कारागारबाट बाहिर निस्किएपछि उसको सहज पुनःस्थापना गर्न नै कठीन छ,’ उनले थपे, ‘त्यस्ता महिलाहरुको पुनःस्थापना र सेल्टरका लागि आवश्यक छ। यसतर्फ योजना बनाउनु जरुरी हुन्छ।’
नेपालका कारागारमा महिला र पुरुषलाई छुट्टा छुट्टै राख्ने मात्रै व्यवस्था भए पनि मुद्दाको प्रकृतिअनुसार छुट्टै राख्ने व्यवस्था हुनु जरुरी भइसकेको उनको भनाइ छ। ‘अब कारागारमा पनि मानवअधिकारमैत्री र अधिकारका दृष्टिकोणले पनि हेर्नुपर्छ। जसरी सुधारगृह भनिरहेका छौं त्यो खालको व्यवस्था गर्नेगरी कार्यक्रम सञ्चालन गरिनुपर्छ,’ उनले भने।
कारागारमा रहेका महिला र रिहा भइसकेपछि उनीहरुको जिविकोपार्जन लगायतका काम कसरी गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेर सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘महिला जेलमा बस्दा तीनका बालबालिकाको हक अधिकार पनि वञ्चित भएको छ। अहिलेसम्म यसको अध्ययन हुन सकेको छैन। अब सरकारले योजना बनाएर गहन अध्ययनका साथ कार्यक्रम गरेर अघि बढ्नुपर्ने जरुरी देखिन्छ,’ उनले भने।