माओ र डेङ सियापछि तेस्रो शीर्ष नेतामा चिनियाँ राष्ट्रपति सी, कोभिडविरुद्ध भारतको खोप सबैभन्दा प्रभावकारी
माओत्से तुङ र डेङ सिया ओपिङपछि वर्तमान चिनियाँ राष्ट्रपति सी चीनफिङ तेस्रो शीर्ष नेता घोषित भएको समाचार शुक्रबार निकै चर्चामा रह्यो। भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबभन्दा प्रभावकारी रहेको सार्वजनिक भएको छ। त्यस्तै इरानले अफगानिस्तानका हजारौँ आप्रवासीलाई फिर्ता गरिरहेको समाचार पनि शुक्रबार चर्चामा रह्यो। प्रस्तुत छ, आज चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :
माओ र डेङ सियापछि तेस्रो शीर्ष नेतामा चिनियाँ राष्ट्रपति सी
पार्टीको ऐतिहासिक उपलब्धि हासिलमा सीले ठुलो भूमिका खेलेको भन्दै उनलाई तेस्रो ठुलो नेताको रुपमा घोषणा गरिएको बताइएको छ। सो घोषणासँगै चीनमा सीविरुद्ध बोल्नुलाई अपराध मानिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।
नोभेम्बर ८ देखि ११ सम्म चलेको पार्टीको शीर्ष बैठकमा पार्टीले १ सय वर्षसम्म गरेका उपलब्धिबारे चर्चा गरिएको थियो। सो बैठकले नयाँ संकल्प अघि सारेको छ। बिहीबार साँझ सकिएको सो बैठकले पार्टीको ऐतिहासिक नयाँ संकल्प पारित गरेको बताइएको छ।
सो संकल्प सफलतापूर्वक रुपमा कार्यान्वयन गर्ने लक्ष्यसहित राष्ट्रपति सीले सन् २०२७ सम्म सत्ता सम्हाल्ने चिनियाँ सञ्चारमाध्यममा खबर छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले सन् २०१२ देखि सत्ता सम्हालेका थिए।
०००
कोभिडविरुद्ध भारतको खोप सबैभन्दा प्रभावकारी
नयाँ दिल्ली : एक अध्ययनले कोभिड १९ विरुद्ध भारतमा निर्मित खोप सबैभन्दा बढी प्रभावकारी भएको देखाएको छ। मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले कोभिड १९ विरुद्ध भारतमा निर्मित कोभ्याक्सिन खोप सबैभन्दा बढी प्रभावकारी भएको देखाएको हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभ्याक्सलाई गत हप्ता आपत्कालिन अनुमतिसमेत दिएको थियो। सो खोप स्वास्थ्य निकायका व्यक्तिहरुलाई लगाइएको थियो। करिब १७ वटा मुलुकमा प्रयोग अनुमति पाइसकेको र हालसम्म आठौँ चरणसम्म दिइएको सो खोप निकै प्रभावकारी भएको अध्ययनले देखाएको हो। ‘कोभिड १९ लक्षण देखिएका वयस्क मानिसमा कोभ्याक्स खोप लगाउँदा अत्यधिक प्रभावकारी देखिएको छ। यति मात्र नभई ल्यावमा सहज र सरल तरिकाले भण्डारण गर्न मिल्ने हुँदा सबैको लागि सुरक्षित छ’, ल्यान्सेन्टको अध्ययनमा भनिएको छ।
सो खोपलाई डब्ल्युएचओले कम र मध्यम आयश्रोत भएका मुलुकहरुको लागि सबैभन्दा बढी उपयोगी रहेको बताएको छ। फाइजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन, सिनोफाम लगायत अन्य खोपको तुलनामा कोभ्याक्स एक महिनाको अन्तरालमै ७८ प्रतिशत प्रभावकारी देखिएको समेत डब्ल्युएचओले बताएको छ।
बिबिभी १५२ कोडले चिनिने कोभ्याक्सिन भारत बायोटेक, भारतीय चिकित्सा अध्ययन परिषद् र राष्ट्रिय भाइरोलोजी संस्थानको संयुक्त सहयकार्यमा बनेको हो।
०००
इरानले हजारौँ अफगान आप्रवासीलाई फिर्ता पठाउँदै
तेहरान : इरानले हजारौँ अफगान आप्रवासीलाई तालिबान नेतृत्वको अफगानिस्तानमा फिर्ता पठाइरहेको छ। अफगानिस्तानमा भोकमरी र मानवीय सहायता संकटको घोषणाका बाबजुद इरानले हजारौँ आप्रवासीलाई फिर्ता पठाइरहेको हो।
इरानले हरेक हप्ता हजाराँै अफगान आप्रवासीहरुलाई जबरजस्ती अफगानिस्तान पठाइरहेको डन न्यूजमा खबर छ। इरानी अधिकारीहरुले त्यहाँ बस्दै आएका अफगान आप्रवासीहरुलाई दुर्व्यहार गर्ने गरेको विभिन्न सहायता एजेन्सी र प्रत्यक्षदर्शीले डन न्यूजसँग बताएका छन्।
०००
बंगलादेशको चुनावमा हिंसा भड्किँदा कैयौँको मृत्यु
ढाका : बंगलादेशमा बुधबार भएको गाउँ परिषदको चुनावमा हिंसा भड्किँदा कैयौँको ज्यान गएको छ। गाउँ परिषद्मा जनप्रतिनिधि चुन्ने चुनावमा हिंसा भड्किँदा कम्तिमा सात जनाको ज्यान गएको हो।
बिहीबार भएको चुनावमा विकृत राजनीतिले निष्पक्ष चुनाव नभएको भन्दै ठुलो विपक्षी दल चुनावबाट बाहिरिएको थियो। विपक्षी दलको समर्थनमा उभिएका र चुनावमा उठेका उम्मेदवार पक्षका सदस्यबीच झडप हुँदा सातको मृत्यु भएको र करिब २० मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।
बंगलादेशका विभिन्न ग्रामीण क्षेत्रमा चुनावी नतिजा गन्ने क्रममा झडप भएको बताइएको छ। यसअघि चुनावी अभियानमा हिंसा भड्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने १ सयभन्दा बढी घाइते भएका थिए।
चुनावसँग सम्बन्धित हिंसामा जनवरी महिनादेखि हालसम्म करिब ८५ को मृत्यु भएको र करिब ६ हजारभन्दा बढी मानिस घाइते भएको त्यहाँको अधिकारकर्मीहरुको समूह आइनो सालिश केन्द्रले बताएको छ।
०००
पेरुमा प्राचीन समयको सामूहिक चिहान भेटियो
पेरु : पुरातत्वविद्हरुले पेरुको च्यान च्यान सहरमा प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्।
चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्।
ती सामूहिक चिहान चिमुहरुको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन्। सो समयमा चिमुहरुले कलिला बालबालिका र युवापुस्ताको मानव बलि चढाउने हुँदा उनीहरुको हुन सक्ने अनुमान गरेका छन्। पुरातत्वविद् सिन्थया क्वेभाले रोयटर्ससँग बताएअनुसार सामूहिक चिहानमा मानिसका कंकालहरु मात्र फेला परेका छन्। अधिकांश कंकालहरु ३० वर्षभन्दा कम उमेरका महिलाका छन्।
सो चिहानमा ५० भन्दा बढी मानिस गाडिएको अनुमान उनीहरुले गरेका छन्।
०००
सिरिया, यमन र ईराकी यात्रुमाथि टर्कीको रोक
अंकारा : टर्कीले सिरियाली, यमनी र ईराकी यात्रुमाथि रोक लगाएको छ। टर्कीको नागरिक उड्डयन प्राधिकरणले शुक्रबार टर्कीबाट बेलारुससम्मको यात्रामा रोक लगाएको हो।
यस्तै टर्कीको अनुरोधमा बेलारुसी एयरलाइन्सलाई समेत मध्यपूर्वी मुलुकको उडानमा रोक लगाएको छ।
बेलारुसमा जारी बढ्दो आप्रवासी तनावका कारण उडानमा रोक लगाउँदै यात्रुलाई सो क्षेत्र हुँदै गरिने यात्रामा रोक लगाएको प्राधिकरणले जनाएको छ। बेलारुसबाट पोल्याण्ड प्रवेश गर्न खोज्ने हजारौँ आप्रवासीलाई पोल्याण्डले रोकेपछि त्यहाँ आप्रवासी समस्या उत्पन्न भएको छ।
टर्की झण्डासहितको विमानले अवैध रुपमा आप्रवासी ओसारपसारको आरोप लागेको छ। सो आरोप टर्कीले अस्वीकार गरेको बताइएको छ। यद्यपि टर्कीले उडानमा लगाएको रोक आगामी सोमबारसम्म खुल्न सक्ने बताइएको छ।
०००
तालिबानद्वारा हजारा नेताको मूर्ती प्रतिस्थापित
काबुल : अफगानिस्तानको बामियानमा तालिबान सरकारले हजारा समुदायका नेताको मूर्ती प्रतिस्थापित गरेको छ। तालिबानले पूर्व सरकारले राष्ट्रिय सहिद घोषणा गरेका हजारा नेता अब्दुल अली मिजारीको मूर्ती प्रतिस्थापित गरेको हो।
बामियान बासिन्दाले तालिबानको सो कदमले हिंसा निम्त्याउने चेतावनी दिएका छन्।
हजाराका नेता अब्दुललाई पहिलो तालिबान शासकले कैदी अवस्थामै मारेको बताइन्छ।
स्थानीयका अनुसार तालिबानले गएको अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि हजाराका नेताको मूर्ती भत्काउन थालेको थियो। बिहीबार तालिबानले सो मूर्ती पूर्ण रुपमा हटाएको छ। सो मूर्तीको स्थानमा अन्य व्यक्तिको मूर्ती राख्ने तयारी तालिबानले गरिरहेको छ।
हजारा नेता मजारीको मूर्ती बामियानको सेन्ट्रल स्क्वायरमा स्थापना गरिएको थियो। यसअघि सन् २००१ मा तालिबानले सो क्षेत्रमा रहेका करिब १५ सय वर्ष पुराना दुईवटा बुद्धको मूर्तीमा पनि विस्फोट गरेको थियो।
०००
पहिलो विश्व युद्धमा ३ लाख २० हजार पञ्जाव सैनिक लडेको खुलासा
करिब ३ लाख २० हजार पञ्जाव सैनिकले पहिलो विश्व युद्ध लडेको तथ्यांक सावजनिक भएको छ। बेलायती इतिहासकारहरुले सो खुलासा गरेका हुन्।
करिब ९७ वर्षसम्म गुमनाम रहेको सो तथ्यांक बिहीबार इतिहासकारहरुले सार्वजनिक गरेका हुन्।
बिहीबार युद्धविराम दिवसको अवसरमा पहिलो विश्व युद्धमा योगदान पुर्याउने पञ्जाव (भारतीय) सैनिकहरुको सूची प्रस्तुत गरिएको थियो। सो सूची पाकिस्तानको लाहोर म्युजियमले वेबसाइटमा अपलोड गरेको थियो।
पहिलो विश्व युद्धमा योगदान पुर्याएका अन्य मुलुकका सैनिकहरुको मोटामोटी तथ्यांक पत्ता लागेको भएपनि सन् १९४७ मा पञ्जाव, पाकिस्तान र भारत अलग्गिँदा पञ्जाव सैनिकको यकिन तथ्यांक नभेटिएको दी गार्जिएनमा उल्लेख छ।
– संयोजन : अस्मिता खड्का