हिमालको ऐना ‘साधुटार’

हिमालको ऐना ‘साधुटार’

पाँचथर सदरमुकाम फिदिमको शिरमा छ साधुटार। पाँचथरको एकमात्र फिदिम नगरपालिका—८ इथुङको एउटा सानो टाकुराको नाम हो साधुटार। यो टाकुरा पर्यटकका लागि अब्बल गन्तव्य बनेको छ। टाकुरामा फैलिएको फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास, राइनी र बुकी फूलसँगै रंगीचंगी फुल्ने लेकाली फूलको बास्नाले सजिसजाउ यो ठाउँ निकै मनमोहक छ। फराकिलो फाँटको बीचमा रहेको टिलपिल टल्किने पोखरीले साधुटारको सुन्दरतामा निखार ल्याएको छ। 

हिमालको नजिक रहेको साधुटार साँच्चिकै सुन्दर छ। यहाँबाट देखिने दक्षिणतर्फको तराईको फाँट अनि उत्तरतर्फ सेताम्मे हिँउले भरिएको हिमालको दृश्यले सबैको मन लोभ्याउँछ। चौरको बीचमा रहेको पोखरीमा टल्कन्छ हिमालको दृश्य। सूर्योदयको विचित्र तस्बिर र सेताम्मे हिमाल हर्दा हेर्दै यहाँ पुग्नेको दिन बितेको पत्तै हुँदैन। आकाशको छायाँ पोखरीमा टल्किनु र पोखरीको पानीमा हिमालको छायाँ देखिनु नै यहाँको महत्त्व हो।

प्राकृतिक सुन्दरताले भरिएको साधुटार पर्यटकका लागि नयाँ गन्तव्य हो। पाँच वर्षयता साधुटार पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो। ‘आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ’, स्थानीय न्युमुन मुखिया भन्छन्, ‘छोटो समयमै साधुटारले अब्बल पर्यटकीय गन्तव्यको पहिचान बनाएको छ।’ साधुटारमा रमाउन आउनेको भीड बढ्न थालेको छ। धार्मिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण मानिएको साधुटारको सुन्दरतामा रमाउन चाहने हजारौं छन्।

समुन्द्री सतहदेखि ८ हजार ३ सय फिटभन्दा माथिको उचाइमा रहेको साधुटार प्राकृतिक सुन्दरताको नमुना नै हो। मौसम खुलेका बेला यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय सुरेन्द्र मुखियाले बताउँछन्। ‘यो ठाउँ फोटोजेनिक छ’, उनले भने, ‘मौसम खुलेका बेला फोटो खिच्ने र खिचाउने पर्यटकको ओइरो लाग्छ।’ यहाँबाट सुन्दर दृश्य कैद गर्न सकिने भएकाले प्रकृतिप्रेमीहरू यहाँ पुग्ने गरेका छन्। एकान्त ठाउँ भएकाले एकान्तप्रेमी पनि यो ठाउँ पुग्ने गरेका छन्।

साधुटारलाई नै आधार बनाएर पाँच वर्षको बीचमा आधा दर्जनभन्दा बढी चलचित्रको छायांकनसमेत गरिएको स्थानीय युवक न्युमुन बताउँछन्। ‘पछिल्लो समयमा निर्माण गरिएको चलचित्रमा यहाँको दृश्यको छायांकन गरिएको छ’, उनले भने, ‘प्राकृतिक सुन्दरताकै कारण साधुटार चलचित्रकर्मीको समेत रोजाइको गन्तव्य बनेको हो।’ सदरमुकाम फिदिम बजारनजिकै रहेकाले साधुटारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सहज छ। मेची राजमार्गको पौवाभन्ज्याङदेखि १५ मिनेट पैदल यात्र गर्दा साधुटार पुग्न सकिन्छ। यातायातका साधन प्रयोग गरेर पनि यहाँ पुग्न सकिने भएकाले साधुटार सहजै पुग्न सकिने गन्तव्य बनेको हो।

पर्यटकका लागि साधुटार अब्बल गन्तव्य हो, तर पूर्वाधार विकासका लागि कसैले चासो दिएको छैन। पर्यटक साधुटार पुग्छन् तर, खानपिनका लागि नजिकैको पौवाभन्ज्याङ बजार झर्नुपर्ने बाध्यता छ। ‘पर्यटकलाई साधुटारमै रोक्न पूर्वाधार विकास गर्न जरुरी छ’, रानीटारका स्थानीय प्रताप राईले भन्छन्, ‘पर्यटकलाई लक्ष्य गरी पूर्वाधार विकास गर्ने हो भने यो ठाउँ नेपालकै अब्बल पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन।’

पुस, माघ महिनामा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्नेको पनि उत्तिकै भीड लाग्छ। भारतको सिक्किम, दार्जिलिङ, भुटान र बर्मादेखि पर्यटक यहाँ आउन थालेका छन्। सुक्खायामको एक महिनामा ५ हजारदेखि १० हजारसम्म विभिन्न किसिमका पर्यटक आएको स्थानीयको अनुमान छ। ‘गत पुसदेखि यो ठाउँ चम्किएको हो’, पौवाभन्ज्याङका होटल व्यवसायी दावा शेर्पाले भने, ‘स्थानीय सरकारले यसको विकासका लागि चासो दिनुपर्छ।’

साधुटारबाट सिंहलीला जंगलको फैलावट आँखाभरि देखिन्छ। अझ आश्चर्य र आनन्द त आँखा अगाडि देखिने हिमाली दृश्यले दिन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा, लमतन्न सुते झैं लाग्ने कुम्भकर्ण अनि सेताम्मे हिउँले ढाकेको कञ्चनजंघा हिमाललाई एकै दिशाबाट नियाल्नुको मज्जा नै अर्कै। यस्तै प्राकृतिक सुन्दरतामा रमाउन पर्यटक यहाँ आउन थालेका छन्।

साधुटारमा मंसिरदेखि वैशाखसम्म पर्यटक आवागमन हुन थालेको हो। चैत–वैशाखमा वनभरि राताम्मे गुराँस फुल्ने भएकाले उक्त समयमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ। पछिल्लो समय पिकनिक स्पटको रूपमा पनि प्रख्यात बनेको छ साधुटार। यहाँ पुग्न यातायातको पनि सुविधा भएकाले व्यस्त समयमा पनि मन बहलाउन आन्तरिक पर्यटक यहाँ आउने गर्छन्। इलाम र पाँचथर फिदिम बजारका व्यापारी, स्थानीय नागरिक र कर्मचारीलाई बजारमा दिक्क लागे थोरै समय निकालेर भए पनि मन बहलाउन यहाँ आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.