जग्गा मठमन्दिरको, हालीमुहाली महन्तको

जग्गा मठमन्दिरको, हालीमुहाली महन्तको

जनकपुरधाम : जनकपुरधामस्थित रत्नसागर राज गुठीको जग्गा २०२६ सालको सर्भे नापीले ८० बिगाहा देखाएको थियो। तर, त्यसयता ५५ बिघाजति रत्नसागर मठका महन्त र नापीका कर्मचारीसँगको मिलेमतोमा विभिन्न व्यक्तिले हडपेको पाइएको छ। 

‘रत्नसागरका पुराना महन्तको नक्कली मनखपको कागज तयारी गरी सम्पूर्ण जग्गा आफ्नो नाममा गराएको देखिन्छ’, उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ मा लेखिएको छ। बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, डिल, रामजानकीलगायत प्रमुख मन्दिरहरू तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उक्त कार्यदल बनाइएको थियो। 

प्रतिवेदनअनुसार जनकपुर नगरपालिकाका तत्कालीन मेयर वृशेष चन्द्रलाल, धनुषाका तत्कालीन प्रहरी प्रमुख (एसपी) विश्व जबरा र ब्रम्हचारी रामबाबुलगायतले गुठीको जमिन कब्जा गरेका छन्। पूर्वमा राधे मण्डल, बीचमा शिव झा र पश्चिमतिर नीलाम्बर साहलाई बिक्री गरी बिभिन्न व्यक्ति घर बनाई बसेका छन्। 

जनकपुरधामको रामानन्द चोकबाट पश्चिम–उत्तरको रत्नसागर मठको जग्गा प्लटिङ गरी बसेको बस्ती । तत्कालीन महन्त वैकुण्ठ दास वैष्णवले बेचेको जमिनमा बस्ती बसेका कारण नाम वैकुण्ठपुरी राखिएको छ ।  तस्बिर : गोविन्द महतो 

तत्कालीन एसपी जबरादेखि, दुःखी पाण्डे, कामेश्वर पाण्डेले आफ्नो भोग चलन देखाई पुनरावेदन अदालतबाट मुद्दा जितेको दाबी गरेको जनाइएको छ। शीतल सिंह, रामदुलारी शरण, रामविहारी शरण, शिया शरणले सर्वोच्चबाट मुद्दा हारे पनि अतिक्रमित जग्गा छाडेका छैनन्। तत्कालीन राजाका नातेदार कुमारखड्ग विक्रमलाई भने २०४४ सालमा गुठीले नै निर्णय गरी १० बिघा दिएको जनाइएको छ। मणिपाल अस्पतालले १७ बिघा वर्षको ७० हजार भाडामा लिएको छ। रत्नसागरका तत्कालीन महन्त वैकुण्ठ दास ‘वैष्णव’ले मनोमानी मनखप बनाई यहाँको जमिन बेचबिखन गरी बसेको बस्तीको नाम वैकुण्ठपुरी राखिएको छ। 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष रामकुमार शर्मा मठमन्दिरको जग्गा संरक्षण अभियान चलाउनुपर्ने बताउँछन्। ‘मैले पोखरीलाई अतिक्रममुक्त बनाउन अभियान चलाएँ। तर, ज्यान मार्नेसम्मको धम्की आयो। पोखरीको अतिक्रम हटाउन म केही हदसम्म सफल भएँ। तर, अझै बाँकी छ’, उनी भन्छन्, ‘जनकपुरमा एउटा मन्दिर हैन ५२ कुण्ड ७२ तालकै संरक्षण अभियान थाल्नुपर्छ।’ जनकपुरको विकासमा जनकपुरकै नेता बाधक बनेको उनको गुनासो छ।

मैले पोखरीलाई अतिक्रममुक्त बनाउन अभियान चलाएँ । तर, ज्यान मार्नेसम्मको धम्की आयो । जनकपुरमा एउटा मन्दिर हैन, ५२ कुण्ड ७२ तालकै संरक्षण अभियान थाल्नुपर्छ ।
रामकुमार शर्मा, पूर्वअध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

महन्तबाटै मठमन्दिरको जग्गा मासिने क्रम सुरु भएर त्यसैले निरन्तरता पाएको हो । मठमन्दिरको जग्गा बचाउनु छ भने सबैलाई ट्रस्टमा ल्याउनुपर्छ । अन्यथा हड्पिने क्रम रोकिँदैन ।’
राकेशविक्रम साह, स्थानीयवासी 

स्थानीय युवा राकेशविक्रम साह महन्तबाटै मठमन्दिरकै जग्गा मासिने क्रम सुरु भएर त्यसैले निरन्तरता पाएको बताउँछन्। ‘मठमन्दिरको जग्गा बचाउनु छ भने सबैलाई ट्रष्ट बनाउनुपर्छ’, उनी भन्छन्, ‘अन्यथा मठमन्दिर हड्पिने क्रम रोकिँदैन।’

अर्का स्थानीय जगदीश दास वैष्णव त्यागी मठमन्दिरको जग्गा सन्तमहन्तले कमाइ खाने भाडो बनाएको आरोप लगाउँछन्। ‘जनकपुरमा भएका मठमन्दिरका जग्गा बेचिनुमा सरकारी कार्यालयदेखि भुमाफिया, मन्दिरका संरक्षक भनिएका सन्त–महन्तदेखि राजनीतिक व्यक्तिहरूको संलग्नता हुन्छ’, उनी भन्छन्।

मठको नाममा २०४४ देखि २०५१ सम्म सहरी नापीले कायम गरेको अवस्थामा पुराना महन्तले केन्द्रीय गुठीले गरेको निर्णयबाहेक कुनै जग्गा कसैलाई नदिएको उल्लेख गरे पनि जग्गा लोप भइसकेको छ। 

महन्तै फरार
रत्नसागरका तत्कालीन महन्त वैष्णव भने सरकारी कागजात किर्ते गरी अर्बौं मूल्यको सार्वजनिक जग्गा हडपेको १९ मंसिर २०७५ मा काठमाडौं बागबजारबाट पक्राउ परेका थिए। उनी सार्वजनिक सम्पत्ति हडप्नेदेखि गम्भीर अपराधमा मुछिएका थिए। पछिल्लो पटक सरकारी कागजात किर्ते गरी जनक हजारी विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कठा हडपेको आरोप लागेको थियो। विद्यापीठका प्राचार्य विजयकुमार चौधरीले जाहेरी दर्ता गरेपछि प्रहरीले महन्त वैष्णवको खोजी थालेको थियो। 

रत्नसागर मठको जग्गा बेचेर करोडौं रकम कमाएको आरोप उनीविरुद्ध पहिलेदेखि लाग्दै आएको थियो। त्यही कारण अन्य जिल्लामा रहेका मठका महन्तसमेत उनीविरुद्ध उभिएका थिए। जनकपुरको वीरपुर कुटीमा रहेको राधाकृष्णको बहुमूल्य मूर्ति गायब पारेको, मन्दिरको सम्पत्ति अनधिकृत रूपमा बेचबिखन गरेको दाबी गर्दै जानकी मन्दिर र महोत्तरीको मटिहानी मठका महन्त सम्मिलित ‘रामानन्दीय वैष्णव संघ’समेत वैकुण्ठविरुद्ध सडकमा ओर्लिएको थियो। जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैष्णवले सयौं वर्ष पुरानो मूर्ति र जग्गा बेचेर खाएको आरोप लगाउँदै आएका छन्। 

विद्यापीठले उपभोग गर्दै आएको गुठीको जग्गा चलाखीपूर्वक आफ्नो स्वामित्वमा पारेपछि वैष्णव समस्यामा परे। उनीमाथि जनकपुर उपमहानगरपालिका–८ स्थित विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कट्ठा जग्गा गुठी संस्थान र मालपोत कार्यालयका कागजात किर्ते गरी आफ्नो नाममा बनाएको अभियोग छ। त्यो जग्गा (सिट नम्बर १३५४–१४ को कित्ता नम्बर ६२ को २ कट्ठा ११ धुर र सिट नम्बर १३५४–१५ को कित्ता नम्बर २८ को २ बिघा ८ कट्ठा १४ धुर) उनले नातेदार अशोक शर्माका नाममा नामसारी गराएका थिए। शर्माको नामबाट त्यो जग्गा अरूलाई बिक्री गरेका थिए। रामानन्द चोकबाट ३ सय मिटर दक्षिण– पश्चिममा रहेको सो जग्गाको चलनचल्ती मूल्य डेढ अर्बभन्दा बढी पर्छ। जहाँ अहिले घना बस्ती छ।

विद्यापीठका प्राचार्य विजयकुमार चौधरी विद्यालयले भोगचलन गर्दै आएको गुठीको जग्गा धमाधम बिक्री हुन थालेपछि खोजी गर्दा वैष्णवको ठगी धन्दा खुलेको बताउँछन्। सोही जग्गाको बेचबिखनमा मुछिएका वैष्णव फरार सूचीमा छन्।

वैष्णव पटक–पटक पक्राउ परे पनि पैसा र पकडका आधारमा छुट्दै आएका थिए। जनकपुरमा भएको एक हत्या घटनाका प्रमुख योजनाकार भएको अभियोगसमेत लागेको थियो। हत्या गरिएका व्यक्ति जिल्ला शिक्षा कार्यालय महोत्तरीमा कार्यरत अधिकृत लालकिशोर झा थिए। झालाई ११ कात्तिक २०६७ मा जनकपुर उपमहानगरपालिका ७ मा रहेको पगलाबाबा धर्मशालाबाट कार्यालयतर्फ जाँदै गर्दा गोली प्रहार गरिएको थियो। गोली लागेपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको मृत्यु भएको थियो। 

प्रहरीले उक्त घटनाका ‘सुटर’का रूपमा पक्राउ परेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका राकेश पाण्डेले मुख्य योजनाकार वैकुण्ठ नै रहेको बयान दिएका थिए। पाण्डेको बयानका आधारमा सुनिलकुमार यादव र शिवकुमार ठाकुर पनि समातिएका थिए। उनीहरूले त झाको हत्या गर्न वैकुण्ठले रकम दिएको बयान दिएका थिए। त्यो प्रकरणमा वैकुण्ठ ६ महिना भागे। उनी २१ असार २०६८ मा जिल्ला अदालत धनुषामा हाजिर भएका थिए। अदालतले पाण्डे, यादव र ठाकुरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। तर, मुख्य योजनाकार रहेको दाबीसहित मुद्दा चलाइएका वैकुण्ठलाई साधारण तारेखमा छाड्यो। 

जिल्ला न्यायाधीश ओमकार उपाध्यायको इजलासले २९ असार २०७३ गते पाण्डे, यादव र ठाकुरलाई कसुरदार ठहर गर्दै कैद सजायको फैसला सुनायो। वैकुण्ठले सफाइ पाए। उक्त मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ। झाका बुबा पशुपति झाले जिल्ला अदालतको फैसलाविरुद्ध न्याय परिषद्मा पनि उजुरी गरेका छन्।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी परेका छन्। तर, तिनको सुनुवाइ भएन।

उनी भारत विहारको मुजफ्फरपुर जिल्लाअन्तर्गत मधेपुरा ग्राम पञ्चायतको कटराका हुन्। तीन दाजुभाइमध्ये माहिला अनिल तिवारी जनकपुरमा वैकुण्ठसँगै बस्छन्। वैकुण्ठले रत्नसागर मठका तत्कालीन महन्त रामप्रकाश दास वैष्णवको छोरा बनेर १७ कात्तिक २०५० मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९२४७ को नागरिकता लिएका छन्। रामप्रकाश दासलाई नजिकबाट चिन्ने प्राचार्य चौधरीका अनुसार उनी आजीवन अविवाहित रहे। तर, उनकै छोरा बनेर वैकुण्ठले नागरिकता लिएको उजुरीमाथि सुनुवाइ भएको छैन। उनले भाइ अनिललाई पनि रामप्रकाशकै छोरा बनाएर १६ फागुन २०६३ मा नागरिकता दिलाएका छन्।   

रत्नसागर मठमा वैष्णवकै भाइको रजाइँ छ। प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको वैष्णवलाई अदालतले धरौटीमा छोडेपछि फरार भएपछि तिवारीको रजाइँ चलेको हो। उनी पत्नी र बालबच्चासहित कुटीमै बस्ने गरेको सोही मन्दिरका एक साधुको भनाइ छ। नाम नबताउने शर्तमा साधुले भने, ‘मन्दिरको गर्भगृहमा अशुद्धि भएका मानिसहरू जतिबेला पनि आउजाउ गर्छन्। उनीहरूलाई भन्ने कोही छैन। लगाम कसले लगाओस्। हामी सानो साधु केही भन्न पनि डर लाग्छ। केही भन्यो कि भगाइदिने धम्की दिन्छन्।’ वैष्णव फरार भएको अढाई वर्ष हुँदा पनि नयाँ महन्त नियुक्त नहुँदा उनको भाइ मन्दिरमा कब्जा जमाएर बसेका छन्। भाइ अनिल तिवारीले मन्दिरको सम्पूर्ण दानदक्षिणादेखि उठेका भेटी र आम्दानी सम्पूर्ण बैकुण्ठ कहाँ भारत पुर्‍याउने गरेको स्रोतको दाबी छ। भारतको बिहार राज्यअन्तर्गत मुज्जफरपुर जिल्ला कटरा थानाअन्तर्गत भडमपुरा गाउँमा भाइ अनिलले यहाँबाट भेटी उठाएर बैकुण्ठकहाँ पुर्‍याउने गरेको स्रोतको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.