राजनीतिक रंग नहराओस् कांग्रेसको
कांग्रेसले सही नेतृत्व पायो भने देश विकासमा उसलाई कसैले पनि रोक्न सक्दैन।
नेपाली कांग्रेस मुलुककै जेठो लोकतान्त्रिक पार्टी हो। स्थापनाकालदेखि नै यसको सिद्धान्तले विश्वव्यापी मान्यता प्राप्त गरेको थियो। परराष्ट्र मामिला तथा विदेश नीतिका सम्बन्धमा पनि कांग्रेस निकै स्पष्ट छ। त्यसैले पनि छिमेकी मुलुकदेखि विश्वका विभिन्न शक्ति राष्ट्रले पनि कांग्रेसलाई स्विकारेका छन्। अर्थात् विदेशी मामिलामा समेत कांग्रेस निर्विवाद छ। सबैको चित्तबुझ्दो यस्तो पार्टी अहिले भने निकै समस्यामा परेको छ। कतै नेपाली कांग्रसले विधि र विधानबमोजिम समयमै महाधिवेशन गर्न नसकेर अवैधानिक बन्न पुग्ने त होइन ? शंका, उपशंका उब्जिन थालेका छन्। कतै विधानबमोजिम महाधिवेशन गर्न नसकेर कानुनी रूपले दलको मान्यता नपाउने अवस्था निम्तिने त होइन ? प्रश्न उठेका छन्। त्यसैले पनि अहिले कांग्रेसका आमकार्यकर्ता तथा शुभेच्छुक चिन्तित छन।
पार्टी सभापति शेरबहादुर देउवाले यतिबेला मुलुकको प्रधानमन्त्रीसमेत छन्। उनी पाँच दलीय गठबन्धनका नेता मात्र नभएर मुलुककै राज्यभार देउवामाथि छ। फरक समय र परिस्थितिमा मुलुकको नेतृत्व समाल्न पुगेका देउवालाई देशको समस्या हल गर्नुका साथै पार्टी संगठनलाई आन्तरिक रुपमा सुदृढ बनाउनुपर्ने दायित्व कांधमा छ। गठबन्धन बनाएर सरकारको नेतृत्वमा आसीन देउवालाई सत्ता र संगठन दुवैलाई सञ्चालन गर्न तथा समय दिन उमेरका कारण भनौं या मुलुकको राजनीतिक अवस्थाका कारण गाह्रो परेको देखिन्छ। सरकारको जिम्मेवारी आफ्नै कांधमा रहेकाले मुलुकका समस्याको निराकरण गर्न सरकार जुटिरहनु परेको छ। यही समयमा पार्टी संगठन सुदृढ गर्न र समयमै महाधिवेशन गर्न देउवालाई ठूलो चुनौती देखिएको छ। यस्तो अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत पार्टीका अन्य प्रमुख नेतालाई महाधिवेशनको जिम्मा दिएर समयमै महाधिवेशन सम्पन्न गर्न सकिन्छ। यसका लागि अधिकार प्रत्यायोजन अर्थात् अख्तियारी दिएर अगाडि बढ्न सक्नुपथ्र्यो। त्यसो भएको भए महाधिवेशन समयमै सम्पन्न हुन सक्थ्यो। तर, अहिलेकै अवस्थाले समयमा महाधिवेशन सम्पन्न हुने देखिँदैन।
नेपाली कांग्रेसभित्र गैरकांग्रेसी अर्थात् अवसरवादी नेताहरू पनि छन्। जीवनभरि अन्य व्यवसायमा रहेका त्यस्ता व्यक्तिहरूलाई न राजनीति थाहा छ, न त राजनीतिक सिद्धान्त र मर्म नै बुझेका छन्।
एकातिर अहिले सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सकेको छैन। तीन महिनापछि बल्लतल्ल मन्त्रिमण्डल विस्तार गरेको देउवा नेतृत्वको सरकार अनावश्यक विवादहरूमा रुमलिएको छ। जताततै असन्तुष्टिहरू आइरहेका छन्। संसदबाट नयाँ ऐनकानुनहरू बन्न सकेका छैनन्। सर्वोच्च अदालतको नेतृत्व विवादमा तानिएको छ। अर्थात् अहिले देउवा सरकार सञ्चालनको चरम झमेलामा परेका छन्। पार्टीभित्रको अवस्था पनि उस्तै छ। पार्टी संगठन सुदृढ गर्न र महाधिवेशन सम्पन्न गर्ने तयारीसमेत प्रभावकारी ढंगबाट सञ्चालन हुन सकेको देखिँदैन। यी सबै समस्याका कारण नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हुन् भन्नु पनि जायज हुँदैन। एक त उमेरका कारण उनी पहिलाजस्तो सक्रिय हुन सकेका छैनन्। दोस्रो मुलुकको समसामायिक राजनीतिक परिस्थिति र विकसित घटनाक्रमका कारणले पनि उनलाई दुवै जिम्मेवारी एकैसाथ निभाउन असहज देखिएको छ। यस्तोमा पार्टी महाधिवेशनको जिम्मा देउवाले अन्य नेतालाई दिनुपर्ने थियो। तर, यसो भन्दै गर्दा दिनेले नदिएका हुन् या अरु कसैले त्यो भूमिका नमागेका हुन्, त्यसलाई पनि हेर्नुपर्ने हुन्छ।
देउवालाई सहजै जिम्मेवारी हस्तान्तरण गर्न कठिन भए पनि पार्टीका अन्य नेताले त्यो जिम्मेवारी माग्नुपर्ने थियो। त्यो मागेको देखिँदैन। पार्टी संगठन र सुदृढ पारेर समयमै महाधिवेशन गराउने काम म गर्छु भनेर रामचन्द्र पौडेल भनौं वा पार्टीका अन्य सशक्त नेताले भनेको कतै पनि सुनिएन। कुनै सञ्चारमाध्यममा पनि त्यस्ता कुरा आएनन्। यो दुर्भाग्यको कुरा हो। सधैं देउवाले मात्र गरेनन् भनेर अपजस लगाउनुभन्दा म गर्छु भनेर जोसजाँगरका साथ अख्तियारी माग्न नसक्नुमा अरूको पनि कमजोरी देखिएको छ। यसरी हेर्दा एउटा बुढो मान्छे जो उमेरले ७० कटेको छ। त्यस्तो मानिसबाट सबै काम भएन। उसले मात्र गरेन भनेर अपजस लगाउने कुरा जायज हुँदैन कि जस्तो लाग्छ। उसलाई त भन्नु पर्यो नि ‘तपाईंले अख्तियारी दिएर काम गराउनुहोस्।’ कि त उसलाई भन्नुपर्छ, ‘मलाई यो काम दिनुहोस् म गर्छु’ भनेर। अब मंसिरभित्र महाधिवेशन हुन्छ। गराउन सकिन्छ भनेर भन्दै गर्दा कि त एक नेतृत्वमा कसैले म महाधिवेशन सम्पन्न गराउँछु भन्न सक्नु पर्यो। अन्यथा सामूहिक नेतृत्वमा हामीले सशक्त ढंगले सम्पन्न गर्छौं भनेर पदाधिकारीले नैै मिलेर अख्तियारी लिने र त्यसै अनुसार अगाडि बढ्नु पर्यो। होइन भने सभापतिले गर्दिएन वा गर्न चाहेन भन्नुले कुनै अर्थ राख्दैन। उनको उमेर र स्वास्थ्यले दुईवटा जिम्मेवारी एकैसाथ हाँक्न गाहे हुन्छ। अहिले त्यो अपेक्षा राख्नु पनि हुँदैन।
सत्तामा रहनेले सरकार सञ्चालन गर्नुपर्यो। राष्ट्रिय अन्तर्राष्ट्रिय मामिलाहरू सम्बोधन गर्नुपर्यो। मुलुकका जल्दाबल्दा राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्नुपर्यो। यी कुराले गर्दा नेपाली कांग्रेसमा शेरबहादुर बाहेकका नेताहरू पार्टी संगठन सञ्चालन गर्न र महाधिवेशन गर्न स्वतन्त्र रूपले अग्रसर हुन पर्यो। नत्र, कांग्रेस पार्टीको महाधिवेशन अनिश्चयतिर धकेलिन सक्छ। यी कुराहरूलाई समयमै सम्बन्धित सबैले बुझ्न जरुरी छ। अर्को कुरा, अब आउने महाधिवेशनले दुईवटा काम नगर्ने हो भने पार्टीको अस्तित्व धरापमा पर्न सक्छ। पार्टीको एउटा सिद्धान्त छ, निष्ठा छ। पार्टीले त्यसको सम्मान गर्नुपर्छ। पार्टी नेतृत्वदेखि कार्यकर्ताले त्यसको पालना गर्नुपर्छ। मुलुकमा जारी संविधान तथा अन्य नियमकानुन, आमनागरिकले संघर्ष गरेर ल्याएको पद्धतिप्रतिको निष्ठा, विश्वास र त्यसको सफल कार्यान्वयन गर्नुपर्छ। त्यसका लागि दृढ संकल्प लिएर पार्टीले महाधिवेशनमार्फत कर्मनिष्ठ निस्वार्थ र पार्टीलाई योगदान दिएको नेतालाई नै पदाधिकारीमा छनोट गर्नुपर्छ। त्यस्ता व्यक्तिहरू मात्र नेतृत्व तहमा छनोट हुनुपर्छ।
नेपाली कांग्रेसभित्र गैरकांग्रेसी अर्थात् अवसरवादी नेताहरू पनि छन्। जीवनभरि अन्य व्यवसायमा रहेका त्यस्ता व्यक्तिहरूलाई न राजनीति थाहा छ, न त राजनीतिक सिद्धान्त र मर्म नै बुझेका छन्। प्रजातन्त्रका लागि नलडेका, प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नगरेका, अहिले प्रचलनमा रहेका संविधान कानुन र पद्धतिप्रति निष्ठा आस्था र विश्वास नभएका, गैरराजनीतिक रूपले सञ्चालित संस्था प्रतिष्ठान, व्यापार, व्यवसायमा संलग्न भएकाहरूलाई कांग्रेसले मूल नेतृत्वमा ल्याउनु हुँदैन। नेतृत्व तहमा पदाधिकारी चयन गर्दा पैसाको प्रभावमा कांग्रेसका कार्यकर्ताले कांग्रेसको सिद्धान्त मर्म र भावनाविपरीतका मानिसलाई छनोट गरे भने त्यो दुर्भाग्य मात्र हुने छ। त्यस्ता मानिसलाई आगामी महाधिवेशनमा कुनै पनि हालतमा कांग्रेस कार्यकर्ताहरूले जिम्मेवारी पदमा आसीन गराउनुु हुँदैन। कांग्रेसको नेतृत्व तहमा पुर्याउनु नै हुँदैन। यसमा महाधिवेशन प्रतिनिधिहरु सजग र सतर्क हुन जरुरी छ। यसो भयो भने मात्र आगामी महाधिवेशनमा कांग्रेसलाई सही दिशातर्फ लैजान सकिन्छ।
कांग्रेसमा उत्तम नेतृत्व र मुलुक हाँक्न सक्ने पदाधिकारीको चयन हुन सक्छ। आमजनतालाई प्रजातान्त्रिक एवं लोकतान्त्रिक पद्धतिको अनुभूति गराउने कांग्रेसले केही वर्ष मुलुकको सही नेतृत्व गर्नुपर्ने खाँचो छ। त्यसका लागि असल नेतृत्वको खाँचो छ। यदि कांग्रेसले सही नेतृत्व पाउँछ भने देश विकासमा कांग्रेसलाई कसैले पनि रोक्न नसक्ने विश्वास गर्न सकिन्छ। अन्यथा कांग्रेस होस् वा अन्य दल, राजनीति सधैं धमिलो हुने र राजनीतिमा राजनीतिक रंग हराउँदै जाने समस्या निम्तिन सक्छ। त्यसैले कांगे्रसका आमकार्यकर्ता सजग भएर कसैको लोभ र प्रभावमा नपरी सही नेतृत्वलाई जिताउन अभिप्रेरित हुनुपर्छ। तब मात्र कांग्रेसको साख बच्ने देखिन्छ।