हिँड्नुहोस्, निरोगी हुनुहोस्
सुमानिस जडवत् एकै स्थानमा रहन सक्दैन। बच्चाहरू पनि बामे सर्न, हिँड्न, दौड्न चाहन्छन्। वयस्कमा हिँडडुल नगरिरहन सकिन्न। शरीरका अंगहरू जति चलायमान हुन्छन्, त्यति नै मजबुत पनि। शरीरमा विभिन्न केमिकल हुन्छन् र पनि सन्तुलित आहारका साथ विभिन्न भिटामिन, मिनरल आवश्यक हुन्छ। भिटामिन डी शरीर आफैंले उत्पादन गर्दैन, घाम तथा अन्य वस्तुबाट लिनुपर्छ। त्यसो भन्दैमा कडा घाम भने शरीरका लागि हानिकारक हुन सक्ने भएकाले हिँडडुलको समय मध्य बिहानी वा साँझपखलाई राम्रो मानिन्छ। हिजोआज विस्तारै चिसो मौसम रहेकाले बाहिरको प्रदूषण पनि हानिकारक हुन्छ। तर, दिनमा एकडेढ घण्टा सकेसम्म बिहान पैदल हिँड्नाले शरीरलाई धेरै फाइदा गर्छ। त्यसो त १० हजार पाइलासम्म दिनमा हिँड्नु स्वस्थ्यकर हुन्छ।
हिँडाइले सकारात्मक सोचाइ र सबैलाई हेर्ने दृष्टिकोण फराकिलो हुन्छ। शरीरका अंगअंगमा पर्याप्त अक्सिजन सञ्चार भई थप ऊर्जा प्राप्त हुन्छ।
ब्रेनमा केमिकल असन्तुलित हुँदा डिप्रेसनको डर हुन्छ। एन्जाइटी, डिप्रेसन, माइग्रेन नभएका मानिस पाउन गाह्रो छ अहिले। हिँडाइले ब्रेनमा पर्याप्त अक्सिजन पुग्छ, शरीरको केन्द्रीय भाग ब्रेन सन्तुलित भएपछि चिड्चिडाहट्, अनिद्रा, भय हटेर जान्छ। घर, परिवार, समाज वा कार्यस्थलमा आफूले समन्वयकारी भूमिका निर्वाह गर्न सजिलो हुन्छ। एकांकीपनको महसुस नहुँदा समस्या सेयर गर्ने बानी बस्छ, अझ सके मित्रसँग हिँडडुल वा आफ्नै परिवारसँगको हिँडाइ राम्रो हुन्छ। हिँडाइले सकारात्मक सोचाइ र सबैलाई हेर्ने दृष्टिकोण फराकिलो हुन्छ। शरीरका अंगअंगमा पर्याप्त अक्सिजन सञ्चार भई थप ऊर्जा प्राप्त हुन्छ। मुटुले राम्ररी रगतको पम्प गर्छ, छिटोछिटो रक्त पम्प गर्दा रक्तनली खुल्छन्। फोक्सो सजिलै सफा हुन्छ। पाचन प्रणाली सक्रिय भई खाएको खाना सजिलै पच्छ। ब्लड सुगरलाई नियन्त्रणमा राख्ने, ब्लड प्रेसर सन्तुलित हुने, ढाड, कम्मरको समस्या नहुने, हाड मजबुत हुने, मसलहरू लुज गराउने, मजबुत गराउने, जोर्नीहरू लुज हुनाले दुखाइ नहुने, स्मरण शक्ति वृद्धि भई अल्जाइमर आदिको समस्या निराकरण हुन्छ। शरीर स्वस्थ हुँदा दिमाग सिर्जनशील हुन्छ र मानिसको उत्पादकत्व वृद्धि हुन्छ।
हिजोआजको समय भागदौड प्रतियोगिता जस्तो भएको छ। आफ्ना आवश्यकता पूर्ति हेतु पनि सुन्दर र स्वस्थ शरीर आवश्यक छ। अनुहारमा चमक, मीठो मुस्कानका लागि निरोगी शरीर आवश्यक हुन्छ। यसका लागि नियमित, सन्तुलित खाना, हिँड्डुल, पर्याप्त निन्द्रा र आराम आवश्यक हुन्छ। आवश्यकताअनुसार चिकित्सकको सल्लाहअनुसार रोगी, दीर्घ रोगीहरूले औषधि सेवन गर्नुपर्छ। रेशादार खाना, दाल, गेडागुडी, फलफूल भनौं, शरीरलाई आवश्यक पर्ने खाना सेवन गर्नुपर्ने हुन्छ। बजारमा सजाइएका खुला, बट्टाबन्दी, बासी, सडेका, केमिकलयुक्त मिठाइ, रातो मासु सेवनलाई घटाउनु पर्ने हुन्छ। आफ्नो कामप्रति निष्ठा र इमानदार हुनुपर्छ।
शारीरिक अभ्यास भएन, अनावश्यक चिन्ता गरियो, अतीतप्रति ज्यादा निराशा र भविष्यप्रति ज्यादा आशा गर्दा मानिसले मृत्युलाई छिटो बोलाइरहेको हुन्छ। आफ्नो काम आफैंले गर्दा शरीरलाई चलायमान गराइरहँदा, ब्लडसुगर, ब्लडप्रेसर सामान्य राख्दा कोलस्टोरललाई सामान्य राख्दा आयु वृद्धि हुनसक्छ। शरीरमा भएको एसिड घटाउन हिँडाइले मद्दत गर्छ, त्यस्तै कोलोस्टोरलको मात्रामा सन्तुलन ल्याउँछ। हाम्रो शरीरमा दुई प्रकारको कोलोस्टोरल हुन्छ, एचडीएल र एलडीएल। एचडीएल गुड कोलोस्टोरल हो, एलडीएल भने ब्याड कोलोस्टोरल। ब्याड कोलोस्टोरलले हर्ट एट्याकको सम्भावना हुन्छ। हिँडाइले रक्त नलीहरूमा हुने बोसोलाई घटाउँछ। ब्याड कोलोस्टोेरल, टीजी भनौं बोसो अधिक हुँदा हृदयाघात हुने डर बढी हुन्छ। हिँडाइले गुड कोलोस्टोर एचडीएल बढाउन सहयोग गर्छ। ब्याड कोलोस्टोरल एलडीएललाई घटाउन। हिँडाइले शरीरको इम्युन सिस्टम। बढाउँछ भनौं शरीरमा एन्टिबडी निर्माण हुन्छ जसले रोगसँग संघर्ष गर्न सहयोग पुग्छ। सामान्य भाइरल ज्वरो वा अन्य भाइरससँग लड्न सहयोग गर्छ।
इम्युन सिस्टम गतिलो हँुदा चोटपटक लाग्दा ज्यादा रगत बाहिर बग्न पाउँदैन, इन्फेक्सन हुन दिँदैन। सफा रगत शरीरभरि सञ्चार हुन्छ। शरीरको तापक्रम सन्तुलित राख्छ। हिजोआज विश्वमै साढे एक डिग्री सेल्सियस तापक्रम वृद्धि भई सबैतिर जलवायु परिवर्तन भएको छ। शरीरमा तापक्रमको घटबड पनि योभन्दा जटिल हुन्छ, शरीरप्रति लापरबाही गर्दा। हिँडडुल गरुन्जेल शरीरमा सेता रक्त सेलहरू कुदिरहन्छन्। एन्टिबडी पनि छिटो छिटो कुदिरहन्छन्। फलतः शरीरमा ब्याक्टेरिया पैmलन पाउँदैन, मानिस बिरामी हँुदैन। मौसमी एलर्जीबाट बच्न पनि उमालेको मन तातो पानी पिउने, हल्का मेथीको धुलो सेवन गर्ने, दैनिक सन्तुलित हिँड्ने गर्नुपर्छ। जसले अनायासै आँखा चिलाउने, पोल्ने, दुख्ने, घाँटीको समस्या हुने पिनास आदिको समस्या हुन पाउँदैन। हिँडाइले शरीरका मसलहरू साइजमा आउँछन्। ब्लड फ्लो बढ्नासाथ मस्त निद्रा लाग्छ, चिन्ता हटेर जान्छ, थकावटको महसुस हुन्न। छाला चाउरिन पाउँदैन। अनुहामा चमक आउँछ। बूढाबूढी पनि तन्नेरी देखिन्छन्। हँसिलो र भरिलो। उमेर ढल्कँदा पनि शरीर जोसिलो हुन्छ र परिवारलाई बोझ हुन पाउँदैन। स्त्रीहरूको शरीर सुगठिलो हुन्छ, सुन्दर अनुहार, फुर्तिलो तन र साहसिलो मन हुन्छ। सबैजसो शरीरको बोझ खुट्टाले बोक्नु पर्छ, खुट्टा बलियो नभए ओछ्यानमा लम्पसार पर्नु बाहेक उपाय छैन।
घुँडा, गोली गाँठा, हिप आदि अंगलाई मजबुत राख्ने अचुक औषधि भनेको सकुन्जेल हिँड्ने नै हो। खुट्टाहरू मजबुत भए लड्ने, घाइते हुने सम्भावना न्यून हुन्छ। कुर्सीमा बसी काम गर्नेले एकै सिटिङमा लामो समय बस्नु हुन्न, एकाध घण्टापछि उठेर जीउलाई चलायमान गर्दै हात पाखुरा तल माथि गर्दै शरीरमा रक्तसञ्चार गराउनु पर्छ। स्वाभावतः उमेर ढल्कदै जाँदा यौन चाहनाको कमीका कारण पारिवारिक समस्या एकले अर्कोलाई खुलेर भन्न नसक्ने, परिवारमा नैराश्यता उत्पन्न हुन सक्छ। हिँडाइले यस्तो समस्यालाई हटाउँछ। स्त्रीहरूको मासिक धर्म रजस्वलालाई व्यवस्थित गराउँछ। गुड् हर्मोन पैदा गराउँछ। रजस्वलाको समय तल माथि हुनासाथ कम्मर दुख्ने ब्याक याक हुने, टाउको दुख्ने, इरिटेसन हुने, योनी सुक्खा हुने, यौन समस्या आदि विभिन्न समस्या आइलाग्छ। काम, माम, आराम, मनोरञ्जन, परिश्रम, दुःख, सुख, आँसु, हाँसोको समिश्रण नै हो जिन्दगी। आज मानिस शारीरिक मात्रै होइन, मानसिक बिरामी पनि बढेका छन्। मानसिक रोगको अचुक औषधि हो, हिँडाइ। शारीरिक अभ्यास, हिँड्दा जुत्ता नरम, लगाइएका कपडा लुज र दुवै हात हल्लाएर फटाफट हिँड्नुपर्छ, शिर नझुुकाई।