रुसले भारतलाई एस-४०० क्षेप्यास्त्र पठाउन थाल्यो, साउदीमा पहिलो पटक महिला फुटबल लिग

रुसले भारतलाई एस-४०० क्षेप्यास्त्र पठाउन थाल्यो, साउदीमा पहिलो पटक महिला फुटबल लिग

कोप-२६ सम्मेलन : चीन र भारतलाई स्पष्ट हुन सुझाव

ग्लास्गो : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२६ का अध्यक्षले चीन र भारत आफैँमा स्पष्ट बन्नुपर्ने बताएका छन्। अध्यक्ष आलोक शर्माले आइतबार जलवायु संकटको मुद्दामा चीन र भारत अझै अस्पष्ट रहेको बताए। 

कार्बन उत्सर्जन घटाउन चीन र भारतले दुई थरी भाषा प्रयोग गरेको भन्दै शर्माले जलवायु संकटको जोखिममा रहेका मुलुकअघि चीन र भारत स्पष्ट बन्नुपर्ने बताए। 

‘वैश्विक तापक्रम १.५ डिग्री सेल्सियस कायम राख्न कोप-२६ मा ऐतिहासिक सम्झौता भइसकेको छ,’ उनले भनेका छन्, ‘तैपनि संसारमा सबैभन्दा बढी कोइला उत्पादन र प्रयोग गर्ने भारत र चीनले कोइलाबारे दुई थरी भाषा प्रयोग गरिरहेका छन्।

त्यसैले दुवै मुलुक आफैँमा स्पष्ट हुनुपर्छ।’ दुई थरी भाषा प्रयोग गरेर चीन र भारतले जलवायु संकटको जोखिममा रहेका मुलुकलाई अन्यायमा पार्न नहुने शर्माको भनाइ थियो। कोप-२६ जलवायु सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्यास्गोमा आयोजना भएको थियो। 
०००

रुसले भारतलाई एस–४०० क्षेप्यास्त्र पठाउन सुरु 
नयाँ दिल्ली : रुसले भारतमा एस-४०० क्षेप्यास्त्र पठाउन प्रक्रिया सुरु गरेको छ। रुसले चर्चित एस-४०० ट्रायम्फ नामक वायु क्षेप्यास्त्र प्रणाली वितरण सुरु गरेको हो।  

सैन्य प्राविधिक सहयोग संघीय सेवाका निर्देशक दिमित्री शुगैवले स्थानीय सञ्चारमाध्यसँग बताएअनुसार रुसले एस-४०० वायु रक्षा प्रणाली पठाउन गरिसकेको छ भने आगामी डिसेम्बर मध्यसम्म भारत पुगिसक्ने छ। 

भारत र रुसबीच सन् २०१६ अक्टोबर १५ मा मिसाइल सिस्टम सम्झौता भएको थियो। सम्झौताअनुसार नै करिब ५.४३ बिलियन डलर (४० हजार करोड भारु)मा एस-४०० मिसाइल सिस्टम वितरण प्रक्रिया सुरु भएको हो। 

एस-४०० ट्रायम्फले भारतको वायु रक्षा क्षेप्यास्त्र प्रणालीमा ठूलो भूमिका खेल्ने बताइएको छ। सो क्षेप्यास्त्रले भारतको रक्षा गर्ने र भारतविरुद्ध लड्ने दुस्मनको क्षेप्यास्त्र प्रहारलाई क्षणभरमै ध्वस्त पार्ने बताइएको छ।
०००

कुवेतका शासकद्वारा राजीनामा स्वीकृत 
दुबई : कुवेतका शासक अमिर शेईख नवाफ अल अहमेद अल सवाहले राजीनामा स्वीकार गरेका छन्। उनले कुवेत सरकारले माग गरेको राजीनामा आइतबार स्वीकार गरेका हुन्। 

कुवेतको सरकारी मिडिया केयुएनएका अनुसार तेलको धनी कुवेतका शासक अमीर शेइखले आइतबार राजीनामा स्वीकार गरेका छन्। प्रधानमन्त्री शेईख सबाह अल खालिद अल शवाहले क्याबिनेटको तर्फबाट नोभेम्बर ८ मा उनको राजीनामा माग गरेका थिए। 

सरकारले कोभिड १९ महामारी नियन्त्रणमा असफल भएको र भ्रष्टाचार बढेको भन्दै कुवेत शासकको राजीनामा माग गरेको बताइएको छ। 
०००

साउदीमा पहिलो पटक महिला फुटबल लिग
रियाद : साउदी अरबमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुने भएको छ। यस महिनाको अन्तिममा साउदीमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुन लागेको हो। साउदी फुटबल फेडेरेसन (महासंघ)का अनुसार लामो समयपछि साउदीले महिला खेलकुदको लागि अवसरको ढोका खोलेको छ। प्रतियोगिता नोभेम्बर २२ देखि सञ्चालन हुने छ। 

रुढीवादी साउदी अरेबियामा लामो समयदेखि महिला खेलकुदमा प्रतिबन्ध लगाइएको थियो। राष्ट्रिय र क्षेत्रीय गरी नयाँ महिला फुटबल लिग दुई चरणमा हुने साउदी फुटबल महासंघले जनाएको छ। महासंघका अनुसार १६ वटा समूहले पहिलो चरणको खेलमा भाग लिनेछन्। पहिलो चरणको खेल राजधानी रियाद, जेदाह र दाम्माममा हुने छ। 
०००

अस्ट्रेलियामा भीषण डढेलोको चेतावनी 
मेलबर्न : पश्चिमी अस्ट्रेलियाको आपत्कालीन विभागले आइतबार भीषण डढेलोको चेतावनी दिएको छ। पश्चिमी अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रण बाहिर रहेको भन्दै विभागले राजधानी पेर्थमा खतरनाक डढेलोको चेतावनी दिएको हो। 

‘बाटो खाली भएमा सबै जना घरधन्दा छोडेर सुरक्षित स्थानतर्फ जानुहोस्,' मोकिने क्षेत्रका बासिन्दालाई सचेत गराउँदै आपतकालीन विभागद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘डढेलो पुग्दैन भनेर पर्खिने र हेर्ने काम नगर्नुस्। डढेलो त्यहाँ पुग्ने सम्भावना उच्च छ।’
मोकिने क्षेत्रदेखि करिब ७१ किलोमिटरको दूरीसम्म डढेलो पुगिसकेको र सो डढेलो जुनसुकै समयमा पूर्वी पेर्थ क्षेत्रमा पुग्ने अनुमान विभागले गरेको छ। 

सुख्खायाममा अष्ट्रेलियाको जंगलमा डढेलो लाग्ने गर्छ। अस्ट्रेलियाको जंगलमा सन् २०१९-२० मा लागेको डढेलोमा करिब १७ हेक्टर मिलियन क्षेत्रफलभन्दा बढी वन क्षेत्र विनाश भएको थियो। सो डढेलोमा परी ९ जना अग्नि नियन्त्रकसहित ३३ जनाले ज्यान गुमाएका थिए।
०००  

गुरु नानकको जन्मोत्सव मनाउन ८ हजार शिख धर्मावलम्बी पाकिस्तान पुग्ने 
इस्लामावाद : गुरु नानक देवको जन्मोत्सव मनाउन ८ हजारभन्दा बढी शिख धर्मावलम्बी पाकिस्तान पुग्ने भएका छन्। शिख धर्मावलम्बीका धर्म गुरु नानकको ५५२औं जन्मोत्सव मनाउन संसारभरबाट ८ हजारभन्दा बढी शिखहरु पाकिस्तान पुग्ने भएका हुन्। 

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीका अनुसार पाकिस्तानले भ्रमणका लागि हालसम्म ८ सयभन्दा बढी शिख धर्मावलम्बीको भिसा जारी गरिसकेको छ भने बाँकी धर्मावलम्बीको भिसा प्रक्रिया अघि बढिरहेको छ। करिब ५ हजार भारतीय शिखहरुको लागि भिसा जारी गरिसकिएको बताइएको छ।

गुरु नानकको जन्मोत्सव पाकिस्तानको लाहोरनजिक नान्कना शाहिवस्थित गुरुद्वार जनम आस्थामा आयोजना गरिएको छ। गुरु नानक शिख धर्मावलम्बीका पहिला गुरु हुन्। गुरु नानक १५ अप्रिल १४६९ मा जन्मिएका थिए।
००० 

तालिबानले ७ वटा प्रान्तमा पासपोर्ट जारी गर्दै 
काबुल : तालिबानले अफगानिस्तानका विभिन्न सात वटा प्रान्तमा पासपोर्ट जारी गर्ने भएको छ। अफगानिस्तानको पासपोर्ट निर्देशनालयले बाल्ख, पाक्तिया, कान्दहर, कुन्दुज, हेरात, नांगरहर र खोस्ट प्रान्तमा आइतबारदेखि लागू हुनेगरी पासपोर्ट जारी गर्न लागेको हो। 

स्थानीय मिडिया खामा प्रेसका अनुसार अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले सो निर्णय लिएको हो। पासपोर्ट सुविधाका लागि पहिलो चरणमा देशका सातवटा प्रान्तमा आइतबारदेखि जारी गर्न लागिएको पासपोर्ट निर्देशनालयका आलम गुल हक्कानीले खामा प्रेससँग बताएका छन्। 

पहिलो चरणमा अनलाइनमार्फत् फारम भरेकाहरुलाई पासपोर्ट वितरण गरिने बताइएको छ। इ-परिचय पत्रको आधारमा नयाँ पासपोर्ट जारी गरिने बताइएको छ। तालिबानले सत्ता कब्जामा लिएपछि हालसम्म करिब ५ करोड पासपोर्ट छापिएको खामा प्रेसमा उल्लेख छ। 
०००

रुसले सीमामा १ लाखभन्दा बढी सैनिक राखेको युक्रेनको भनाइ
यीभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको बताएका छन्। राष्ट्रपति जेनेन्सीकले वेवसाइटमार्फत् सो जानकारी दिएका हुन्। 

रुसले ठूलो संख्यामा सीमा क्षेत्रमा सैनिक तैनाथ गरेर रुसले शान्ति नचाहेको समेत उनले आरोप लगाएका छन्। ‘कसले शान्ति चाहेको र कसले नचाहेको भन्ने विश्वले अब स्पष्ट देख्न सक्छ। १ लाख सैनिक युक्रेनको सीमामा तैनाथ गर्ने मुलुकले शान्ति चाहेको कि हामीले त्यो पनि विश्वले छुट्याउनेछ,' उनले भनेका छन्। 

युक्रेनी सीमा क्षेत्रमा खटिएका रुसी सैनिकले जुनसुकै समयमा आक्रमण गर्नसक्ने त्रास रहेकोसमेत उनले बताएका छन्। यसअघि नोभेम्बर ३ मा युक्रेनको रक्षा मन्त्रालयले आफ्नो सीमा क्षेत्रमा ९० हजार रुसी सैनिक खटिएको बताएको थियो।
०००

सुडानमा पाँच सैन्य विरोधी मारिए खार्तुम : सुडानको सैन्य बल र सैन्य शासन विरोधी प्रदर्शनकारीबीच भएको झडपमा पाँच आन्दोलनकर्मी मारिएका छन्। दुई पक्षबीच शनिबार भएको भिडन्तमा परी पाँच प्रदर्शनकारी मारिएका हुन्। 

सुडानीज डक्टर्स सेन्ट्रल कमिटीका अनुसार सो भिडन्तमा परी चार जना प्रदर्शनकारी मारिएका छन् भने अन्य दर्जनौ प्रदर्शनकर्मी घाइते भएका छन्। भिडन्तमा परी ३९ सैनिक घाइते भएको बताइएको छ। खार्तुम र ओम्दुर्मान सहरमा शनिबार भएको प्रदर्शनमा सुडान सेनाले अश्रुग्यास र हवाई फायर गरेको स्थानीय मिडियाले जनाएका छन्। 

अक्टोबर २५ मा सुडान सेनाले सत्ता कब्जामा लिएको थियो। सेनाको सत्ता कब्जापछि लोकतन्त्र समर्थकले सैन्य शासनविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्। त्यसयता सैन्य शासन विरोधी १७ प्रदर्शनकारीको मृत्यु भएको छ।

– संयोजन : अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.