आफ्नै श्रीमतीविरुद्ध प्रहरीमा 'हनिट्र्याप'को उजुरी
नोयडा: एक जना पुरुषले आफ्नै श्रीमतीविरुद्ध 'हनिट्र्याप'को उजुरी दिएका छन्। भारतको नोयडास्थित एक प्रहरी चौकीमा यस्तो उजुरी आएको हो।
दीपक कुमार नामका व्यक्तिले श्रीमतीविरुद्ध यस्तो उजुरी दिएको डीएसपी वृन्दा शुक्लाले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएकी छन्।
डीएसपी शुक्लाका अनुसार दीपककी श्रीमतीले सोझासाझा पुरुषहरुलाई फसाउने गरेको र शारीरिक सम्बन्ध बनाएर रकम असुली गर्ने गरेकी छन्।
दीपक आफैँ पनि ती महिलासँग हनिट्रयापमा परेको प्रहरीसामु बयान दिएका छन्। उनले एक डेटिङ साइटबाट चिनजान भएको र आपसी समझदारीमा शारीरिक सम्बन्ध भएको उल्लेख गरेका छन्।
त्यसपश्चात ती महिलाले बलात्कार केशमा जेल पठाइदिने धम्की दिँदै रकम माग गरेको र दबाबमा आएर अन्ततः तिनै महिलासँग विवाह गर्न बाध्य भएकोसमेत दीपकले उल्लेख गरेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले ती महिला पहिल्यैदेखि विवाहित रहेको पत्ता लगाएको छ। यसबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको डीएसपी वृन्दाले जानकारी दिएकी छन्।