जनकपुरधाममा दुई समुदायको द्वन्द्व साम्य, निषेधाज्ञा हटाइयो
जनकपुरधाम : जनकपुरधाममा दुई समुदायबिच भएको द्विपक्षीय द्वन्द्ध ७ बुँदे सहमतिपछि साम्य भएको छ। जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठामा भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा दुबै पक्षबीच ७ बुँदे सहमतिपछि विवाद साम्य भएको हो।
सोमबार स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफलपछि ७ बुँदे सहमतिपछि तीन दिनदेखि लगाउँदै आएको निषेधाज्ञा समेत हटाईएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए।
छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो। घटनामा हुनसक्ने सम्भावित घटनालाई रोक्न स्थानीय प्रशासनले विगत तीन दिनदेखि निषेधाज्ञा जारी गर्दै आएको थियो।
तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उप-महानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उप-महानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्ने लगायतका सहमतिपछि विवाद साम्य भएको हो।
उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिति समेत गठन गरिएको प्रजिअ वास्तोलाले जानकारी दिए।
रुपैठामा भएको विवादले उग्र रुप लिँदा भएको झडपमा परी २ प्रहरी गरी ६ जना घाइते भएका थिए।