अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी

अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी

अमेरिकामा निर्मित हातहतियारसहित तालिबानले सैन्य अभ्यास गरेको समाचार सोमबार चर्चामा छ। चीनका राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच हुने वार्तामा ताइवानबारे प्रश्न नउठाउन चिनियाँ सञ्चारमाध्यमले दबाब दिएको समाचार पनि आज चर्चामा रह्यो । भारतको दिल्लीमा वायु प्रदूषण जटिल बनेपछि आंशिक लकडाउन गर्न अदालतले आदेश दिएको छ। युरोपेली संघले बेलारुसमाथि अझ प्रतिबन्ध लगाउने, म्यानमारमा अमेरिकी पत्रकार रिहालगायतका समाचार आज विश्वभर प्रमुखताका साथ प्रकाशित भए। प्रस्तुत छ, सोमबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड

काबुल : तालिबान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। अमेरिकामा बनेका हातहतियारसहित उनीहरुले सैन्य परेड गरेका हुन्। 

तालिबान लडाकुले आफ्नो सैन्य परेडमा रुसी हेलिकप्टरसमेत प्रदर्शन गरेको बताइएको छ। 

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा तैनाथ अमेरिकी सेना अगष्टमा फिर्ता भएको थियो। अगष्ट महिनामा अमेरिकी सेनासँगै त्यहाँ खटिएका पश्चिमा मुलुकका सेनाको स्वदेश फिर्तीसँगै सेनाले ठुलो संख्यामा हातहतियार अफगानिस्तानमा छोडेका थिए। 

यद्यपि, तालिबानले आफ्ना २५० नयाँ लडाकुलाई प्रशिक्षण दिन सैन्य परेड गरेको बताएको छ। सो परेडमा अमेरिकाद्वारा निर्मित विभिन्न हातहतियार प्रयोग गरिएको अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनयातुल्लाह खवराज्मीले बताएका छन्।
००० 

भारतमा वायु प्रदूषण बढ्दा आंशिक लकडाउन
नयाँ दिल्ली : भारतमा वायु प्रदूषणले सिमा नाघ्दा आंशिक लकडाउन हुने भएको छ। वायु प्रदूषण सम्बन्धमा त्यहाँको सर्वोच्च अदालतमा सुनुवाई जारी रहँदा प्रभावित सहरहरुमा आंशिक लकडाउन हुने भएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले आंशिक लडकाउनको घोषणा गरेको छ। जसअनुसार सरकार तथा निजी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्कालका लागि घरबाटै काम गर्न, विद्यालय र कलेजहरु बन्द गर्न सोमबार निर्देशन दिएको छ। 

नयाँ दिल्लीको केजरिवाल सरकारले आफूहरु पूर्ण रुपमा लकडाउन गर्न तयार रहेको र केन्द्रीय राजधानी नयाँ दिल्ली र प्रभावित अन्य सहरहरुले समेत सो कदम उठाउनुपर्ने भन्दै सर्वोच्च अदालत समक्ष प्रस्ताव पेश गरेको भारतीय सञ्चारमाध्यममा खबर छ। 

भारतको नयाँ दिल्ली, लखनउ, नोयडा, पञ्जाव, हरियाणा आदि क्षेत्रमा वायु प्रदूषणले सिमा नाघेको छ। नयाँ दिल्लीमा आंशिक लकडाउन प्रभावकारी रहेको समेत बताइएको छ। 

बढ्दो वायु प्रदूषण कम गर्न सर्वोच्च अदालतले विभिन्न राज्यमा जारी चुनावी अभियानमा पराल र अन्य ज्वलनशील वस्तु प्रयोग नगर्न निर्देशन दिएको छ भने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिएको छ। 
०००

राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी 
बेइजिङ : चिनियाँ सञ्चार माध्यमले आफ्ना राष्ट्रपतिसँगको भेटमा अमेरिकाले ताइवानबारे प्रश्न नउठाउन चेतावनी दिएका छन्। चीनका सरकारी सञ्चारमाध्यमले सोमबार विभिन्न सामग्री प्रकाशित गर्दै दुई देशका राष्ट्रपतिबिच हुने भर्चुअल वार्तामा ताइवानबारे प्रश्न नगर्न चेतावनी दिएका हुन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चीनफिङबिच चिनियाँ समयअनुसार मंगलबार बिहान र अमेरिकी समयअनुसार सोमबार राती भर्चुअल माध्यबाट भेटवार्ता हँुदै छ। बाइडेन अमेरिकी राष्ट्रपतिको रुपमा नियुक्त भएपछि दुवै नेताबिच दुई पटक फोनवार्ता भएको थियो। यद्यपि, भर्चुअल माध्यमबाट दुवै राष्ट्रपतिबिच प्रत्यक्ष रुपमा हुन लागेको यो पहिलो वार्ता हो। 

सो वार्तालाई लक्षित गरी चिनियाँ मिडिया चाइना डेली, ग्लोबल टाइम्स लगायतले सम्पादकीय र विचार पृष्ठमा सामग्री प्रकाशित गर्दै ताइवानको मुद्दामा अमेरिकाले पछि हट्नुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन्। 

‘भविष्यमा चीन र ताइवान जसरी पनि एक हुने छन्। त्यसैले ताइवान मुद्दामा अमेरिकाले प्रश्न नउठाएकै वेश’, चाइना डेलीमा भनिएको छ। यस्तै सोही प्रसंगमा ग्लोबल टाइम्सले सम्पादकीयमार्फत भनेको छ, ‘दुई देशका शीर्ष नेताबिचको भेटमा बाइडेनले हाम्रा राष्ट्रपतिसँग ताइवानको प्रश्न उठाएर कुटनैतिक सम्बन्धलाई जोखिम उन्मुख नबनाओस्।’
००० 

युरोपेली संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्दै  
ब्रसेल्स : युरोपेली संघ (ईयु) ले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने भएको छ। सो क्षेत्रमा आप्रवासी संकट बढ्दै जाँदा संघले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्न लागेको हो। 

ईयुले बेलारुसमाथिको प्रतिबन्धमा थप कडाई गर्नेबारे सोमबार (स्थानीय समय) निर्णय गर्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ। ईयुका २७ सदस्यको बैठक बस्ने र सो बैठकले प्रतिबन्ध अनुमोदन गर्ने बताइएको छ। जसअनुसार एयरलाईन्स, यात्रु र आप्रवासी ओसारपसार गर्ने यातायातमाथि नयाँ प्रतिबन्ध लगाउने लक्ष्य रहेको बताइएको छ। 

केही दिनअघि बेलारुसबाट गइरहेका आप्रवासीमाथि पोल्याण्डले सीमा प्रवेशमा रोक लगाएको थियो। पोल्याण्डको रोकपछि सो क्षेत्रमा आप्रवासी सम्बन्धमा समस्या चुलिएको छ। हाल बेलारुस र पोल्याण्ड सीमामा हजारौँ आप्रवासी अलपत्र परिरहेको बताइएको छ।
०००

म्यानमारमा ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा
बर्मा : म्यानमारमा करिब ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा भएका छन्। आप्रवासी र आतंकवादी कानुन उल्लंघनको आरोपमा म्यानमार अदालतले दोषी साबित गरेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर सोमबार कारागारबाट रिहा भएका हुन्। 

म्यानमार कारागारबाट रिहा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी दूत बिल रिचार्डसनले बताएका छन्। 

फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको र आतंकवादी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा म्यानमारको सैनिक अदालतले उनलाई तीन दिनअघि पक्राउ गरेको थियो। पक्राउ लगत्तै कारागार चलान गरिएका उनलाई रिहाईको प्रक्रिया अघि बढेको स्रोतले बताएको छ। 
०००

अमेरिकाले सिरियामा हवाई हमलामार्फत मारिएकाहरुको सूचना लुकाएको खुलासा 
दमास्कस : अमेरिकी सेनाले सिरियामा गरेको हवाई हमलामा परी मारिएका दर्जनौ नागरिकको सूचना लुकाएको खुलासा भएको छ। सन् २०१९ मा आतंकवादी समूहविरुद्ध गरेको हवाई हमलामा मारिएका सर्वसाधारणको सूचना अमेरिकी सेनाले लुकाएको एक रिपोर्टले खुलासा गरेको हो। 

इस्लामिक स्टेटविरुद्धको सो हवाई हमलामा ८० सैनिक र आतंकवादी लडाकुहरु मारिएको दाबी अमेरिकी सेनाले गरेको थियो। मारिनेमा १६ अमेरिकी सेना, ४ सिरियाली नागरिक बाँकी आतंकवादी समूह भएको सेनाले बताएको थियो। 

तर अमेरिकी सेनाले जारी गरेको सो सूचना तथ्यमा आधारित नभई सिरियाली नागरिक मारिएको सूचना सेनाले लुकाएको न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टले देखाएको छ। 

रिपोर्टका अनुसार अमेरिकी सेनाले सन् २०१९ मार्च १८ मा पूर्वी सिरियामा हवाई आक्रमण गरेको थियो। सो क्षेत्रमा सेनाले अमेरिकी जेटमार्फत तीन वटा बम खसालेको थियो। सो बम खसालेको क्षेत्रमा सयौँ मानिस उपस्थित रहेको भिडियो फुटेजले देखाएको छ। जुन तथ्यांक अमेरिकी सेनाले लुकाएको छ। 
०००

बुर्किना फासोमा हमला, कम्तिमा २० को मृत्यु 
पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सेनालाई लक्षित गरी हमला भएको छ। उत्तरी सीमा क्षेत्रमा शनिबार सो हमला भएको हो। 

सो हमलामा कम्तिमा २० जनाको मृत्यु भएको अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएका छन्। मृत्यु हुनेमा १९ सैन्य अधिकारी र एक नागरिक रहेको बताइएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुकधारी समूहले इनाटास्थित सुनखानीमा खटिएका सैनिकलाई लक्षित गरी हमला गरेका थिए। हमलाकारीहरु अलकायदा र इस्लामिक स्टेट समूहका लडाकुहरु हुन सक्ने आशंका गरिएको छ। 
००० 

पाकिस्तानमा आगलागीबाट ३५ पसल जलेर नष्ट
कराची : पाकिस्तानको कराचीस्थित सद्दार कोपरेटिभ मार्केटमा आगलागीबाट ३५ पसल जलेर नष्ट भएका छन्। आइतबार राती भएको आगलागीमा ३५ भन्दा बढी कपडाका पसल जलेर नष्ट भएका हुन्। 

सद्दार कोपरेटिभ मार्केट सो क्षेत्रको चर्चित बजार हो। कपडा र अन्य वस्तुको लागि लोकप्रिय मानिने सो क्षेत्रमा आगलागीपछि ठुलो मात्रामा भौतिक क्षति भएको बताइएको छ। 

स्थानीय मिडिया डन न्यूजका अनुसार आगलागी भएको १० मिनेटमै ३५ वटा पसल जलेर नष्ट भएका थिए। कराची महानगरीय प्रहरीले सो आगो नियन्त्रणमा लिएको बताइएको छ। 
०००

तालिबानद्वारा आइएसविरुद्ध अपरेसन सुरु 
तालिबानले आतंकवादी समूह ईस्लामिक स्टेट (आईएस) लडाकुविरुद्ध सर्च अपरेसन थालेको छ। अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दहर प्रान्तमा सोमबारदेखि तालिबानले आफ्नो सर्च अपरेसन सुरु गरेको हो।  

तालिबान अधिकारीहरुले सोमबार स्थानीय सञ्चारमाध्यमसँग बताएअनुसार इस्लामिक स्टेट खोरासानविरुद्ध अपरेसन थालेको हो। सो अपरेसनअनुसार तालिबान लडाकुले कान्दहरका चारवटा जिल्लामा रात्रीकालिन अपरेसन थालेको प्रान्तीय प्रहरी प्रमुख अब्दुल घफार मोहम्मदले समाचार एजेन्सी एएफपीसँग बताएका छन्। 

– संयोजन : अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.