सी–बाइडेनबीच भर्चुअल बैठक सुरु
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भर्चुअल बैठक सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशबीच तनाव बढिरहेका बेला राष्ट्रपतिबीच प्रत्यक्ष भर्चुअल छलफल हुन थालेको हो।
विश्व शक्ति राष्ट्रका यी दुई राष्ट्रपतिबीच पहिलोपटक प्रत्यक्ष भर्चुअल वार्ता सुरु भएको हो।
वार्ताले दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ बनाउने राष्ट्रपति बाइडेनले बताएका छन्। उनले चीन र अमेरिकाबीचको सम्बन्धमा द्वन्द्व हुन नदिनमा नेताहरूले भूमिका निभाउनुपर्ने र सो कार्य आफूहरूको दायित्व रहेको पनि उल्लेख गरेका छन्।
राष्ट्रपति सीले दुई मुलुकले धेरै चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। उनले बाइडेनलाई ‘पुरानो साथी’ भन्दै दुई प्रतिस्पर्धी मुलुकबीच नजिक रहेर सँगै कार्य गर्नुपर्ने बताएका छन्।
‘चीन र अमेरिकाले सञ्चार तथा सहकार्य बढाउन आवश्यक छ’, राष्ट्रपति सीले भने।
यसअघि बाइडेन राष्ट्रपति निर्वाचित भएपछि यी दुई नेताबीच दुई पटक फोन वार्ता भएको थियो।