प्रदेश २ का वनमन्त्री रामनरेश राय बर्खास्त
जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री मो.लालबाबु राउतले मंगलबार रायलाई बर्खास्त गरेका हुन्। मन्त्री रायको राजीनामा मागिएको थियो तर, उनले राजीनामा दिन नमान्दा बाध्य भएर बर्खास्त गरिएको श्रोतको भनाइ छ।
उनको स्थानमा नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। नेकपा समाजवादीले अर्थ र उद्योग मन्त्रालयमध्ये एक मन्त्रालय रोजेपछि उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई राजीनामा माग गरिएको थियो तर उनले राजीनामा दिन आनाकानी गर्दा बर्खास्त गरिएको एक मन्त्रीले बताए।
यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए। मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।
एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ। एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ। यद्यपि अर्को मन्त्रालय कुन दिने टुंङ्गो लागि सकेको छैन।