युरोपमा वायु प्रदूषणबाट बर्सेनि ३ लाखको मृत्यु, म्यानमार सेनाविरुद्धको लडाईंमा महिला योद्धा एकजुट

युरोपमा वायु प्रदूषणबाट बर्सेनि ३ लाखको मृत्यु, म्यानमार सेनाविरुद्धको लडाईंमा महिला योद्धा एकजुट

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चीनफिङबीचको भर्चुअल वार्ता विश्वभर चर्चामा रह्यो। दुई मुलुकबीच तनाव बढिरहेका बेला भएको सो वार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। उत्तर कोरियली सर्वोच्च नेता करिब एक महिनापछि नव निर्मित सहरमा देखा परेको खबर पनि चर्चामा रह्यो। त्यस्तै युरोपमा वायु प्रदूषणका कारण बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको तथ्य बाहिर आएको छ भने म्यानमार सेनाविरुद्ध लड्न भन्दै त्यहाँका महिलाहरू एकजुट भएका छन्। प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


उत्तर कोरियाली सर्वोच्च नेता किम नयाँ सहरको भ्रमणमा 

सिओल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित सहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ सहरको भ्रमणमा निस्किएका हुन्। 

मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव निर्मित सहर र सहरबाट देखिने पवित्र पर्वतको अवलोकनका लागि किम भ्रमणमा निस्किएका हुन्। सो भ्रमणसँगै उनी करिब एक महिना भन्दा लामो समयपछि सार्वजनिक रुपमा देखा परेका छन्। 

उत्तरी क्षेत्रको साम्जियोन सहर आर्थिक हबको रुपमा देखा परेको छ भने सो सहरमा नवनिर्मित भवन, अपार्टमेन्टहरु, होटलहरु, व्यापारिक र स्की रिसोर्ट, सांस्कृतिक संरचना र चिकित्सा सुविधा आदि थपिएको अधिकारीहरुले रोयटर्ससँग बताएका छन्। 

नवनिर्मित सहर पवित्र पेक्तु पर्वत नजिकै बनेको छ। सो पर्वतलाई किम परिवारले कुल देवताको रुपमा पुज्दै आएको बताइएको छ। सन् २०१८ यता उत्तर कोरियाली नेता किमले सो पर्वतको वर्षमा दुई पटक भ्रमण गर्दै आएको बताइएको छ।
०००

म्यानमार सेनाविरुद्धको लडाईँमा महिला योद्धा एकजुट
बुर्मा : म्यानमार सेनाविरुद्धको लडाईँमा म्यानमारका महिला एकजुट भएका छन्। सेनाविरुद्ध लड्न बनेको महिला योद्धाहरुको समूह ‘म्याउङ वुमेन वारियर्स’मा उनीहरु एकजुट भएका हुन्। 

म्यानमार सेनाले फेब्रुअरी १ मा सैन्य ‘कू’ गरेपछि म्यानमार महिलाले संगठन बनाएका थिए। म्याउङ वुमेन वारियर्स सेनाविरुद्धको लडाईँमा बनेको म्यानमारका महिला योद्धाको पहिलो समूह हो।

अलजजिरामा मंगलबार प्रकाशित समाचारअनुसार सेनाविरुद्धको लडाईँमा म्यानमारका सबै महिला सो समूहमा भर्ना भएका छन्। सो समूहमा विभिन्न कलेज र विद्यालयमा पढाउने शिक्षिका, विभिन्न निजी तथा सरकारी कार्यालयमा कार्यरत महिला कर्मचारी, विभिन्न कारखानामा कार्यरत महिला, गाउँदेखि सहरसम्मका विभिन्न उमेर समूहका अन्य महिलासमेत आवद्ध भएको बताइएको छ। 

म्यानमार सेनाले समस्यामा पार्न सक्ने डरका कारण कति महिलाले सो समूहमा सदस्यता लिएका छन् भन्नेबारे भने अलजजिराले खुलाएको छैन।
००० 

युरोपमा वायु प्रदूषणबाट बर्सेनि ३ लाखको मृत्यु 
कोपनहेगन : वायु प्रदूषणका कारण युरोपमा बर्सेनि ३ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्य एक रिपोर्टले देखाएको छ। युरोपियन इनभारोमेन्टल एजेन्सी (ईईए) ले हालै सार्वजनिक गरेको रिपोर्टले सो तथ्य देखाएको हो। 

सो रिपोर्टका अनुसार वायु प्रदूषणका कारण युरोपमा बर्सेनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ लाख ७ हजार मानिसको अकालमै ज्यान जाने गरेको छ। यदि युरोपेली संघका सदस्य मुलुकहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयन गरेको भए सो संख्या आधाभन्दा कम गर्न सकिने समेत ईईएले रिपोर्टमा उल्लेख गरेको छ। 

यसअघि सन् २०१९ मा गरेको अध्ययनले वायु प्रदूषणका कारण जर्मनीमा ५० हजार, पोल्याण्डमा ४० हजार,  ईटालीमा ३० हजार र स्पेनमा २३ हजार ५ सय मानिसले बर्सेनि ज्यान गुमाएको देखाएको थियो। 
००० 

बाइडेन–सीबीच वार्ता 
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ३ घण्टा लामो वार्ता भएको छ। दुई शक्ति राष्ट्रका शीर्ष नेताबीच चिनियाँ समयअनुसार मंगलबार बिहान भर्चुअल माध्यमबाट ३ घण्टा लामो वार्ता भएको हो। 

दुई राष्ट्रपतिबीच प्रत्यक्ष रुपमा भएको सो वार्तालाई चिनियाँ सञ्चारमाध्यमले लामो र गहिरो वार्ता भनेका छन्। दुई नेताबीच द्विपक्षीय रणनैतिक सम्बन्ध र आधारभूत मुद्दामा व्यापक छलफल भएको चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। वार्ताले संसारलाई सकारात्मक संकेत देखाएको र विभिन्न मुद्दामा दुवै देशले सहकार्य गर्ने संकेत देखाएको सो वार्तापछि  चिनियाँ विश्लेषकले बताएका छन्। 

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले आजको वार्ता महत्वपूर्ण र सकारात्मक रहेको बताएका छन्। करिब तीन घण्टा लामो वार्तामा दुवैले विभिन्न विषयमा छलफल गरेको बताइएको छ। जसमा दुवैले उत्तर कोरिया, अफगानिस्तान, ईरान, ताइवान, विश्व उर्जा बजार, व्यापार प्रतिस्पर्धा, जलवायु, सैन्य मुद्दा, कोभिड १९ लगायत विषयमा छलफल गरेको बताइएको छ। 

सी चीनफिङ र जो बाइडेन दुवैले आफूहरु दुवै पुराना साथी रहेकोले प्रतिस्पर्धी मुलुकबीच नजिक रहेर सँगै काम गर्नुपर्ने बताएका छन्।
०००

लिविया सेनाका कमान्डर राष्ट्रपतीय चुनावमा लड्दै 
त्रिपोली : लिविया सेनाका कमान्डर खलिफा हफ्तरले लिवियाको राष्ट्रपतीय चुनावमा लड्ने घोषणा गरेका छन्। हफ्तरले मंगलबार आगामी महिना हुन लागेको राष्ट्रपतीय चुनावमा लड्ने घोषणा गरेका हुन्। 

‘गम्भीर संकटबाट देशलाई बचाउने एउटा मात्र बाटो भनेकै चुनाव हो’, स्थानीय टेलिभिजनमार्फत चुनावमा लड्ने घोषणा गर्दै हफ्तरले भनेका छन्, ‘त्यसैले म आगामी महिना हुन लागेको राष्ट्रपतीय चुनावमा उम्मेदवारी लिनेछु।’ 

हफ्तर लिवियन नेसनल आर्मीका कमान्डर हुन्। विभिन्न कारण विवादमा आएका हफ्तरको राष्ट्रपतीय चुनावमा लड्ने घोषणाले पश्चिमा क्षेत्र र राजधानीका मानिस भड्किन सक्ने बताइएको छ।
००० 

१३० पाइलटहरु हङकङको क्वारेन्टिनमा 
हङकङ : हङकङले करिब १३० पाइलटहरुलाई जबरजस्ती क्वारेन्टिनमा राखेको छ। कोभिड जेरो नीति पालना गरेको भन्दै हङकङले क्याथे प्यासिफिक एयरवेका १३० पाइलटलाई जबरजस्ती क्वारेन्टिनमा राखेको हो। 

हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले १३० पाइलटलाई करिब २१ दिनसम्मको लागि क्वारेन्टिनमा राख्ने घोषणा गरेका हुन्। क्याथे प्यासिफिकका तीनवटा पाइलटमा कोरोना संक्रमण देखिएपछि उनले सो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। 
०००

युगान्डाको राजधानीमा शक्तिशाली विस्फोट हुँदा दुईको मृत्यु, कैयौँ घाइते 
काम्पाला : युगान्डाको राजधानी काम्पाला सहरमा दुई वटा शक्तिशाली विस्फोट भएको छ। मंगलबार बिहान राजधानीस्थित केन्द्रीय प्रहरी कार्यालय र संसद भवनको प्रवेशद्वारमा शक्तिशाली विस्फोट भएको हो। 

सो विस्फोटमा परी दुई मानिसको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ट्वीटरमार्फत जानकारी दिएका छन्। घाइते सबैको उपचार भइरहेको बताइएको छ। 

सो विस्फोटको जिम्मा हालसम्म कसैले नलिएको र घटनाबारे अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
०००

संसारका ४३ देश भोकमरीको चपेटामा
न्यूयोर्क : संसारका करिब ४३ देश भोकमरीको चपेटामा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले बताएको छ। हालै एक रिपोर्ट सार्वजनिक गर्दै ४३ मुलुकका करोडौ मानिस भोकमरीको चपेटामा परेको डब्ल्युएफपीले बताएको हो। 

डब्ल्युएफपीका अनुसार ४३ मुलुकका करिब साढे ४ करोड मानिस २० लाख मानिस भोकमरीको चेपटामा छन्। भोकमरी समस्या बर्सेनि बढ्दो क्रममा छ। सन् २०१९ सम्ममा संसारका दुई करोड ७० लाख मानिस भोकमरीको चपेटामा थिए। सन् २०२१ सम्म आइपुग्दा सो संख्या बढेर ४ करोड २० लाख पुगेको छ। बढ्दो जलवायु संकटका कारण सो संख्या अझै बढ्ने अनुमान डब्ल्युएफपीले गरेको छ। 

भोकमरीबाट सबैभन्दा बढी प्रभावित मुलुक बुरुन्डी, केन्या, आंगोला, सोमालिया, हैटी, इथियोपिया र अफगानिस्तान रहेको समेत डब्ल्युएफपीले जनाएको छ। 
०००

स्पेनमा दुई दिनमा १० आप्रवासीको मृत्यु, ९ सय बेपत्ता 
बार्सिलोना : स्पेनमा दुई दिनमा १० आप्रवासीको मृत्यु भएको छ। एटलान्टिक महासागरनजिकै स्पेनको क्यानरी टापु पुग्न खोज्ने १० आप्रवासीको मृत्यु भएको हो। 

संयुक्त राष्ट्रसंघीय आप्रवासी एजेन्सीका अनुसार पश्चिम अफ्रिकाबाट क्यानरी टापु पुग्न खोज्ने ९ सय आप्रवासी भने बेपत्ता भएका छन्। अवैध बाटो  हुँदै सो क्षेत्र पुग्न खोज्ने बेपत्ता आप्रवासीको संख्या बढ्न सक्नेसमेत एजेन्सीले जनाएको छ।

स्पेनका उद्दारकर्ताका अनुसार विभिन्न क्षेत्रबाट दुई दिनमा सो टापुमा पुग्न खोज्ने आप्रवासीको डुङ्गा पल्टेर मृत्यु भएको हो। चोर बाटो हुँदै सो क्षेत्रमा पुग्न खोज्ने अन्य १ सय आप्रवासीको भने उद्दार गरिएको उद्दारकर्ताले बताएका छन्। 

तस्करहरुले अवैध रुपमा सो क्षेत्रमा पु¥याएको बताइएको छ। स्पेनको उद्दार सेवाकाअनुसार तस्करमार्फत क्यानरी टापु पुग्न खोज्ने आप्रवासीको संख्या १७ हजार पुगेको छ। 

– संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.