जसले समृद्धिको एजेन्डा ल्याउँछ, उसैले नेतृत्व गर्छ
नेकपा एमाले दसौं महाधिवेशनको संघारमा छ। मंसिर १०–१२ गते चितवनमा हुने नेतृत्व चयन गर्ने यो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ला ? आमचासोको विषय बनेको छ। महाधिवेशन दुई कुरामा केन्द्रित हुने भनिएको छ, एउटा विशाल जनसहभागिता र अर्को पाँच वर्षका लागि नयाँ नेतृत्व चयन। भव्यरूपमा विधान महाधिवेशन सम्पन्न गर्नेदेखि वडा र पालिकासम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गरी एमालेले राजनीतिमा फड्को मारेको छ। एमालेका महासचिव ईश्वर पोखरेलसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
नेकपा एमाले दसौं महाधिवेशनको संघारमा छ। यसअघिको विधान महाधिवेशन कस्तो रह्यो ?
संविधानको व्यवस्थाअनुरूप राजनीतिक दलहरूले निश्चित अवधिभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ। यसको कार्यान्वयनको सिलसिलामा हामीले २०७९ वैशाख १० गतेभित्र हाम्रो महाधिवेशन सक्नुपर्ने हुन्छ। यसबीच स्थानीय तहका निर्वाचन पनि हुने भएकाले मंसिर १० देखि १२ गतेभित्रको समय मिलाएका हौं। नवौं महाधिवेशनमै विधान र नेतृत्व चयन गरी दुईवटा महाधिवेशन गर्ने तय गरेका थियौं। विधान महाधिवेशनमा ६ हजार ३ सयभन्दा धेरै प्रतिनिधिको सहभागितामा जहाँ राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रस्ताव सर्वसम्मत पारित गर्यौं। गहन छलफल गरेर सबैका विचार समेटेर मस्यौदामा प्रस्तुत गरिएका भन्दा फरक विचार ल्याउनेका पनि समेटेर सर्वसम्मत पारित गर्यौं। यसपछि हामी महाधिवेशनमा केन्द्रित भएका छौं।
नेतृत्व चयनका लागि हुने महाधिवेशनको तयारी कस्तो छ ?
पहिलो, दसौं राष्ट्रिय महाधिवेशन विधान महाधिवेशनले पारित गरेका विचार, विधान र संगठनात्मक प्रस्तावमा आधारित भएर गर्दैछौं। चितवनमा महाधिवेशन गर्न २५ सदस्यीय मूल व्यवस्थापन समिति बनाएका छौं। त्यसअन्तर्गत विभिन्न उपसमिति छन्। नेकपा एमालेको संगठन विभागको रेकर्डमा अहिले पौने ९ लाख जति पार्टी सदस्य हुनुहुन्छ। प्रत्येक सदस्यलाई यो महाधिवेशनका लागि कम्तीमा एक सय रुपैयाँका दरले सहयोग गर्नुस् भनेका छौं। सहयोगको अभियान नै चलेको छ। दोस्रो, निश्चित राजनीतिक विषय अघि सारेका छौं। जसमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादको विरोध गर्ने विषयमा राजनीतिक जोड दिएका छौं। जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्नुपर्छ भनेर यो राजनीतिक विषय महाधिवेशनमा अघि सारेका हौं।
नेकपाबाट छुट्टिएर गएको माधव नेपाल समूह पनि एमालेलाई दक्षिणपन्थी भन्छ, तपाईंहरू पनि त्यही शब्द प्रयोग गर्नुहुन्छ। खास कुरो के हो ?
सामान्य जनताले पनि बुझ्ने कुरो के भने कम्युनिस्ट पार्टीको सरकारलाई ढालेर बुर्जुवा वर्गलाई प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने, सर्वोच्च अदालतमा मुद्दा हाल्ने, राष्ट्रपतिकोमा पुगेर निवेदन दिने र त्यो मुद्दा हालेपछि सनाखत गर्न पनि जाने काम गरेर एमालेविरुद्ध महागठबन्धन बनाइएको छ। अहिले राष्ट्रिय राजनीति दुई धारमा देखिन्छ, एउटा धारको नेतृत्व नेकपा एमालेले गरेको छ जसको नेता केपी ओली हुनुहुन्छ भने अर्को पोलमा गठबन्धनकारी शक्तिहरू छन्। संघीयताका चरम पक्षपाती र चरम विरोधी एक हुन खोजेर पोल बनाएका छन्। एमालेले गरेको नेतृत्वले आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव, समाजमा अराजकताको अन्त्य र देश बनाउने सपनाहरूको वकालत गर्दै आएको छ। हिजो संविधान जारी गर्ने बेलामा एउटा प्रवृत्ति अपनाउने र त्यसको विरोधमा रहनेहरू पनि त्यही गठबन्धनमा छन्।
सिद्धान्त र विचार नमिल्ने, मूल्यमान्यताको ख्याल नगर्ने र राजनीतिक स्थिरता नचाहने गरी फोहोरी खेलमा संलग्न हुन लाज नमान्नेहरू त्यो गठबन्धनमा छन्। यसले मुलुकलाई सही होइन, गलत र उल्टो दिशातर्फ लैजान्छ। अब भन्नोस्, को दक्षिणपन्थी हो ? लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली क्षेत्र हो भन्ने कुरा संविधानको अनुसूचीमै छ। भलै त्यो अहिले भारतले प्रयोग गरेको छ। त्यसमा केही नबोल्ने र त्यो राष्ट्रिय समस्या हो भनेर पन्छिने ? त्यो समस्या हो कि आफ्नो भूमि हो ? भूमिलाई उपयुक्त विधिप्रक्रिया र कूटनीतिबाट लिनुपर्ने होइन ? सरकार केका लागि ? सरकारले अमूर्तरूपमा समस्या भनेर चित्रित गरी पन्छिन मिल्छ ? यतिबेला कालो धन, स्रोत नखुलेको सम्पत्ति पनि बेरोकटोक ढंगबाट निश्चित अवधिसम्म ल्याउन पाइने व्यवस्था गरिएको छ। निश्चित ठाउँमा लगानी गर्दा स्रोत खोल्न नपर्ने भनिएको छ, यसको अर्थ के हो ? यो त यति डरलाग्दो कुरो कि कहाँ कहाँका कुन कुन शक्तिसँगको मिलिभगत छ जसले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने काम गर्छ। यस्तो काम गर्ने के उनीहरू दक्षिणपन्थी होइनन् ?
एमाले विचार, योजना र कार्यक्रम भएको पार्टी हो, जसले देश बनाउने संकल्प र अठोट लिएको छ।
एमाले सरकारमा रहँदा गरिरहेका काममा अवरोध गर्ने काम उनीहरूबाटै भएको छ। केपी ओली प्रधानमन्त्री हुँदा साढे तीन सय अस्पतालको उद्घाटन एकैपटक भयो। टेन्डर लाग्यो, काम सुरु भयो। तर ती काम रोक्ने काम शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्यो। जबकि त्यसका लागि १०औं अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको थियो। अर्को १४ सय रणनीतिक महत्त्वका सडक निर्माणको प्रक्रिया अघि बढिसकेको थियो। जो संघीय सरकारको योजनामा परेका थिएनन्, प्रदेश सरकारले गरेनन् र स्थानीय सरकारको पहुँचमा थिएनन्। तर, जनताका आवश्यकताले महत्त्वका छन् ती सडक बनाउन खोजिएको थियो। ती एमालेका मान्छेका घर पुग्ने सडक थिएनन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएका योजनाका आधारमा छनोट गरिएका थिए। जसको ओलीले एकै दिन शिलान्यास गर्नुभएको थियो। गठबन्धनले विकास विरोधी काम गरेको छ। यो एमालेलाई कमजोर बनाउन र ढाल्न मात्र तय भएको गठबन्धन हो। यता एमाले राजनीतिक स्थायित्व, विकास, आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव कायम गर्ने र अराजकता अन्त्य गर्ने कुरा गर्छ, अब भन्नोस्, एमाले कसरी दक्षिणपन्थी ?
महाधिवेशनका लागि प्रतिनिधि छनोटको तयारी कस्तो छ ?
प्रतिनिधि छनोटको सन्दर्भमा दुई हजारको हाराहारी संख्या हुनसक्छ। यसमा तीन किसिमका प्रतिनिधि छन्। पदेन प्रतिनिधि (केन्द्रीय कमिटी र निकायका), निर्वाचित प्रतिनिधि (यसमा प्रदेश र प्रतिनिधिसभाको क्षेत्रबाट) र तेस्रो, दलित समुदाय (हरेक जिल्लामा पाँच सयको संख्यामा भए छुट्टै व्यवस्था छ, मजदुरको छुट्टै छ)। यसरी विभिन्न क्लस्टर बनाएर चयन गरेका छौं। पार्टीको केन्द्रीय विभाग, केन्द्रीय जनसंगठनहरू, केन्द्रीय कार्यालय र प्रवासमा रहेका संगठनहरू सबै ठाउँबाट यथोचित प्रतिनिधित्वको व्यवस्था गरेका छौं। यी निर्वाचित भएर आउने हुन्। अर्को, मनोनीत प्रतिनिधि। छनोट हुने सबै प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरिन्छ। बन्द सत्रमा नेतृत्व चयन गर्दा भरसक सहमति गर्छौं। भएन भने पूर्ण लोकतान्त्रिक विधि निर्वाचनको प्रक्रिया अपनाउँछौं।
महाधिवेशनपछि एमालेका लागि सम्भावना र चुनौती के के छन् ?
उज्ज्वल सम्भावनासँगै चुनौतीहरू पनि हुन्छन्। चुनौतीको टाउकोमा टेकेर अगाडि बढ्ने साहस, योजना, कार्यक्रम र नीति भयो भने मात्र सम्भावनाहरू साकार पार्न सकिन्छ। एमाले विचार, योजना र कार्यक्रम भएको पार्टी हो, जसले देश बनाउने संकल्प र अठोट लिएको छ। अठोटअनुसार हिँड्ने द्वार पनि खुलेको छ। चुनौती त एमालेको देश बनाउने अभियानलाई कमजोर बनाउने तत्त्व पनि छन्।
जो देखिने र नदेखिने खालका छन्, देशभित्र छन्, बाहिर छन्। यस्तो बेलामा सम्भावनालाई साकार पार्न संकल्पबद्ध भएका शक्तिहरूले विचारमा भएको प्रष्टता, आफ्नो संगठित शक्ति र उन्नत समझदारीलाई कमजोर हुन दिनु हुँदैन। सबैलाई समेटेर जानुपर्छ, सम्भावनालाई समात्न सकिन्छ।
अहिले हामी उमेर होइन, मुद्दामा आधारित पुस्तामा छौं। अब त्यो व्यक्ति नेता हुन्छ जसले आर्थिक विकास र समृद्धिका एजेन्डालाई प्रभावकारी ढंगले अगाडि ल्याउँछ।
अहिलेको अवस्थामा पार्टीलाई व्यवस्थित गर्न विचारमा एकमत हुनुपर्छ। विचारबाट बाँध्नु जरुरी छ। यसले संगठनलाई व्यवस्थित बनाउँछ, जुन हामीले थालेका छौं। एकै दिन सबै वडा र एकै दिन सबै पालिकाहरूको अधिवेशन गर्यौं। विधान महाधिवेशन गर्यौं, नेतृत्व चयनका लागि महाधिवेशन गर्दैछौं। यसलगत्तै जिल्ला र प्रदेश स्तरमा अधिवेशन गर्दैछौं। विचार व्यवस्थित गर्ने, संगठनलाई व्यवस्थित गर्ने र यसबीचमा गरेका कार्यक्रमहरूलाई जनताको बीचमा लैजाने काममा हामी केन्द्रित हुन्छौं।
कमजोरी चिर्न त आफूले गरेका काम सबैलाई अवगत गराउनु पथ्र्यो होला नि ?
सरकारको नेतृत्वमा रहँदा गरेका कामहरू प्रभावकारी ढंगले जस्ताको तस्तै लैजाने काम हुन सकेन। यसको साधन त पार्टी हो। पार्टी अस्तव्यस्त भइसकेपछि पार्टीको सरकार भए पनि जनतालाई प्रभावकारी रूपमा भन्न र बुझाउन सकिएन। एमालेको केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरू भएको बेला गरेका कामहरू जनसमक्ष पुर्याउनु जरुरी छ। यो हाम्रो अभिभारा पनि हो, चुनौती पनि हो।
जनताले बुझ्ने र पत्याउने गरी तथ्यमा आधारित भएर कामको अवगत गराउनुपर्छ।
विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको एमालेले नेतृत्व महाधिवेशन पनि त्यसरी नै सम्पन्न गर्न सक्ला ? सर्वसम्मत भने पनि कतिपय वडा र पालिकामा जबर्जस्ती गर्न खोजिएको भन्ने आवाज पनि छ नि ?
लोकतान्त्रिक अभ्यासभन्दा धेरैले के मात्र बुझेका छौं भने प्रतिस्पर्धा गर्ने, बाकस थाप्ने, गोप्य मतदान गर्ने, मतगणना गर्ने अनि कोही जित्ने र कोही हार्ने। विचारमा आधारित, मान्यतामा आधारित र योग्यतामा आधारित भएर सर्वसम्मतबाटै नेतृत्व गर्ने पनि उन्नत स्तरको लोकतान्त्रिक अभ्यास नै हो। सर्वसम्मति हुनु भनेको लोकतान्त्रिक अभ्यास होइन भनेर बुझ्नु हुँदैन। हामी केमा जोड दिन्छौं भने आज जेजस्ता चुनौती हाम्रा सामु छन्, ती चुनौतीको सामना गर्न पनि हामीबीच सहमतिका साथ नेतृत्व चयन होस् भन्ने चाहेका हौं। नेतृत्व चयन र विचार छनोट गर्ने कुरामा रोकतोक लाउने भनेको होइन। एकताका साथ एमाले अघि बढ्नुपर्छ भनेर हो र बढ्छौं।
नेतृत्व चयनमा नाम चलाउन वडा र पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन गरियो भन्ने पनि छन्। प्रतिस्पर्धामा उत्रिएका असन्तुष्टहरूलाई कसरी मिलाउनु हुन्छ ? कतै ती प्रतिपक्षी त बन्दैनन् ?
त्यस्तो मलाई लाग्दैन। कसैको अधिकारलाई चुनौती दिने हिसाबले बोलेको त होइन, आमपार्टी पंक्तिको आजको आवश्यकता, चाहना र माग प्रमुख पदहरूमा हानथाप गर्ने भन्ने लाग्दैन। केपी ओलीको चाहनाभन्दा पनि आजको आवश्यकता केपी ओली हो। प्रमुख नेताको रूपमा उहाँ फेरि एकपटक रहनुहुन्छ। अब वडा र पालिकास्तरमा भएका सर्वसम्मतमा माथिबाट कुनै हस्तक्षेप भएको छैन। सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष ओलीले भन्नुभएको थियो, तपाईंहरू लोकतान्त्रिक विधिबाट सर्वसम्मत ढंगले अघि बढ्नोस्। सम्बोधनमा ‘प्रतिस्पर्धा मात्र होइन’ पनि भन्नुभयो। साथीहरूले सहमतिबाटै नेतृत्व चयन गर्नुभएको छ। योग्य साथीहरू मध्येबाट योग्यतमलाई छानिएको छ।
पार्टीबाट टुक्रिएर गएका माधव नेपाल समूहका नेता, कार्यकर्तालाई महाधिवेशनले के कसरी सम्बोधन गर्दैछ ?
यतिबेला जेजस्ता अपराध गरेर माधव नेपालको अगुवाइमा पार्टीभित्रका केही मान्छे चोइटिएर गएका छन्, यही स्थितिमा म उनीहरू जोडिने सम्भावना देख्दिनँ। हुन त राजनीतिमा सबै सम्भावना खुलै हुन्छ भन्छन् तर तत्काल छैन। साँच्चै भन्नुहुन्छ भने लोकतान्त्रिक प्रणालीमा अपराधको कोटीमा पर्ने काम भएका छन्, ती अपराधलाई जस्ताको तस्तै कायम राखेर फेरि एकताको नाममा केही होला भन्ने ठान्दिनँ।
दुई पार्टी मिलेर नेकपा बन्दा पनि तपाई त्यत्ति सन्तुष्ट हुनु भएको थिएन नि। अबको बाटो कसरी सर्वसम्मत ढंगले अघि बढ्ला ?
म असन्तुष्ट वा सन्तुष्ट भन्ने विषयभन्दा पनि मेरा दुईवटा कुरा थिए त्यसबेला। एमाले र माओवादी केन्द्र मिलिरहँदा यो कार्यकर्ता र जनताको चाहना हो, राष्ट्रिय आवश्यकता हो। प्रो–एक्टिभ पार्टी एकताबद्ध हुन्छ, सुदृढ हुन्छ भने त राम्रो कुरो हो नि। तर, यो एकता गरिरहँदा विचारको प्रश्न र नेतृत्वको प्रश्नमा चाहिँ कमजोरी देखिनु हुन्न। विचार, संगठन र नेतृत्वका सन्दर्भमा डाइभर्ट गर्ने हिसाबले त्यो पवित्र, महान् र ऐतिहासिक भनिएको एकतामा यदि त्यस्तो चिज देखियो भने कमजोरी हुन्छ भनेको हुँ। ऐतिहासिक एकतामा यस्ता चिज त छैनन् ? फर्किएर हेर्नु जरुरी छ भन्ने मेरो अवलोकन थियो। परिणामहरूले के देखाएका छन् भने राम्रो काम त गर्यौं, तरिका र प्रक्रिया कति पुर्यायौं ? अहिले नै समीक्षा गर्ने बेला त होइन तर यो प्रश्न त छ।
१० बुँदे कार्यान्वयनमा पनि तपाई असन्तुष्ट नै हुनुभयो। किन ? त्यो अबको महाधिवेशनमा प्रतिविम्बित हुने अवस्था छ कि छैन ?
पार्टीभित्र असमझदारीहरू पैदा भएका बेलामा त्यस्ता समस्या हल गरौं भनेर सहमतिकै आधारमा कार्यदल बन्यो। कार्यदलले सुझाव दियो। सुझाव पार्टीले ग्रहण गर्यो। अधिकांश ठाउँमा ती १० बुँदे सुझावलाई कार्यान्वयन गर्यो। त्यसलाई रचनात्मक ढंगले लिने र सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने भनेको हो। यद्यपि जस्ताको तस्तै यान्त्रिक ढंगले लागू हुन सक्दैन भनेर बहस र छलफल भएको थियो। अध्यक्ष ओलीले पनि यही कुरा दोहोर्याएर भन्नुभएको हो, हामी सबैले पनि त्यही भन्यौं। किनभने कुनै पनि चिजलाई सिर्जनात्मक ढंगले लागू गर्नुपर्छ।
सामान्य ढंगले तर गम्भीर रूपमा उठेको एउटा विषय छ, केपी शर्मा ओलीपछि नेकपा एमालेमा नेतृत्व कसको पोल्टामा ?
दसौं महाधिवेशनबाट पनि अध्यक्ष केपी ओली नै हुनुहुन्छ भन्ने मलाई लाग्छ। यो अहिलेको पार्टीको आवश्यकता पनि हो। अझ देशकै आवश्यकता हो। त्यसपछिको कुरामा सरसल्लाह र समझदारीले नै टुंगो लगाउँछौं। एउटा प्रस्ट कुरो के भने म दुई चोटी महासचिव भएको मान्छे फेरि महासचिव हुन्नँ। यसमा स्पष्ट छु। अरू कुरा त छलफल गरेर तय गरौंला।
दोस्रो पुस्तामा कसैले कसैलाई नमान्ने परिस्थिति त उत्पन्न हुँदैन ?
दोस्रो पुस्ता भनिएका एमालेका साथीहरू अत्यन्त जिम्मेवार हुनुहुन्छ। पुस्ता भन्नाले उमेर मात्र होइन। म त भन्छु, तीनवटा पुस्ता हुन्छ। पहिलो पुस्ताले राजनीतिक अधिकारको लडाइँमा योगदान गर्यो। अधिकार प्राप्तिको कुरा गर्दा भूमिगत हुनुपथ्र्यो वा निर्वासित हुनुपथ्र्यो वा जेल जानुपथ्र्यो। पढाइ अनि पेसा छोड्नु पथ्र्यो। लामो समयको अथक संघर्षपछि त्यो कालखण्ड पूरा भयो। अब राजनीतिक अधिकारका लागि मान्छेहरूले बोल्दा वा गतिविधि गर्दा कोही दण्डित हुनु पर्दैन, जेल जानु वा मारिनु पर्दैन। नेपाली समाजमा विविधता छ। बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधता छ। नेपाल कुनै एउटा जातिको बहुमत नभएको देश हो। अल्पसंख्यकहरूको देश हो। यसको प्रभाव राज्य सञ्चालनमा र संयन्त्रहरूमा प्रतिविम्बित हुनुपर्छ भन्ने आग्रहबाट कुरा उठे, समानुपातिक समावेशिताको।
यदि श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टले जित्दै गयो भने समाजवादको आधार निर्माण हुँदै जान्छ।कम्युनिस्ट पार्टी भनेको विचारका आधारमा चल्ने पार्टी हो, क्षेत्र, भूगोल, भाषा, लिंग, जात र धर्मका आधारमा होइन।
प्रतिनिधित्वको यो विषय पनि थियो जुन संविधानमा समावेश भइसकेको छ। अब यो पनि मुद्दा रहेन, कार्यान्वयन गर्ने ठाउँमा छ। तेस्रो पुस्ता आर्थिक विकास र समृद्धिसँग सम्बन्धित छ। नीति कस्तो बनाउने ? अब राजनीतिक अधिकारका लागि बहस गौण भयो। समावेशिताका लागि बहस पनि गौण भयो। अब बहस केमा छ भन्दा आर्थिक विकास र समृद्धिमा नै हो। कस्तो नीति, कार्यक्रम र योजनाहरू बन्नुपर्छ भन्ने हो। यस्तो कुरा उठाउने नेताले पार्टी र राज्य सञ्चालनमा कस्तो आचरण देखाउने हो त्यो चाहियो। यसकारण तेस्रो पुस्ता मुद्दामा आधारित हुनेछ। अहिले हामी उमेर होइन, मुद्दामा आधारित पुस्तामा छौं। अब त्यो व्यक्ति नेता हुन्छ जसले आर्थिक विकास र समृद्धिका एजेन्डालाई प्रभावकारी ढंगले अगाडि ल्याउँछ।
विधान महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा कार्यकर्ता अनुशासनहीन हुन थाले भन्नुभयो। किन ?
मैले नै संगठनात्मक प्रस्ताव प्रस्तुत गरेको हुँ। हामीभित्रका समस्या यसरी यसरी पनि प्रकट हुने गरेका छन् भन्ने सन्दर्भमा त्यो कुरा आएको हो। आमरूपमा पार्टीभित्र मात्र होइन, देशव्यापी रूपमा पनि उठेको छ। त्यसलाई सच्याउनुपर्छ भन्ने हिसाबले उठाएको हुँ।
देश चुनावमा जाने तर्खरमा छ। कुनै बेला एमालेका कार्यकर्ता चिउरा चबाएर चुनावमा हिँड्थे अहिले खर्च खोजी हिँड्छन्। कसरी सन्तुलन गर्नुहुन्छ ?
विगतमा एमालेभित्रका व्यवहारमा देखिएका कमजोरी समीक्षा गर्छौं र सच्याएर अघि बढ्छौं। जनआधारित भएर अगाडि बढ्नुपर्ने कुरालाई नयाँ ढंगले स्थापित गर्छौं। स्वावलम्बनको नीतिलाई पालन गरेर जनताको समर्थन र बलमा एमालेको शक्तिलाई स्थापित गर्नेछौं।
‘आफू जान्दैन, भनेको पनि मान्दैन’ भनेझैं भएको थियो विधान महाधिवेशनमा आर्थिक अनुशासनको विषय। पार्टीकै नेता, कार्यकर्ता, जनप्रतिनिधिदेखि पार्टीबाहिर भ्रष्टाचार निवारण जरुरी छैन ?
जनताको खबरदारी भन्ने कुरा अन्यथा होइन। राजनीतिक पार्टीहरू आफू जिम्मेवार हुनुपर्यो। जो जनताको हकहितका लागि समर्पित भनिएका पार्टीहरू जिम्मेवार हुनुपर्छ। ती पार्टीहरूले के गर्नु हुने र के नहुने भन्ने कुरा छुट्ट्याउनु पर्छ। आफूबाट असावधानीवश भएका वा लापरवाहीवश भएका वा अनुचित ढंगले भएका कुराहरू सच्याउने आँट पनि गर्नुपर्छ। जनता वा देशको हितमा काम गर्छु भन्ने पार्टीले यदि त्यस्ता कुरा गर्छन् भने त हैसियतमा रहँदैन।
पार्टीको नीति र सिद्धान्तअनुसार सांस्कृतिक रूपान्तरण गर्ने कुरामा केन्द्रित नहुँदाको अवस्थामा समाज सुधार गर्न कसरी सम्भव होला ?
विधान महाधिवेशनमा सांस्कृतिक रूपान्तरणका कुरा मजैले उठेका छन्। कम्युनिस्ट नेताले के गर्नु हुने र के गर्नु नहुने ? समाजमा दुई खालका मूल्य मान्यता छन्। एउटा अग्रगामी मूल्यमान्यता छ भने अर्को पश्चगामी मूल्यमान्यता छ।
नेकपा एमालेले राष्ट्रिय राजनीतिमा जुन ‘लिड रोल’मा आफूलाई उभ्याएको छ। त्यो मुद्दामा आधारित भएर हो। देश र जनताको हितमा, देशको स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको पक्षमा लडेर हो। अबको निर्वाचनमा पनि यिनै मुद्दा र हिजो सरकारमा गरिरहेका विकासका कुरा लिएर जनसमक्ष जान्छ र पाँच वर्षका लागि ताजा जनादेश बोकेर ल्याउँछ।
पश्चगामी मूल्यमान्यतालाई हामी त्याग्छौं भने अग्रगामी मूल्यमान्यतालाई अँगाल्छौं। सांस्कृतिक विचलनको प्रश्न आइरहँदा समाजका मूल्यमान्यतामा हाम्रो ध्यान जानुपर्छ। यी पनि कुनै अग्रगामी र कुनै पश्चगामी खालका छन्। पुरातन कुरा हटाउँदै जानुपर्छ। कम्युनिस्ट आचरण र नैतिकताका कुरा पनि छन्। केही मानक छन् तिनको पालन गर्नुपर्छ। देखाउन मात्र होइन, समाज रूपान्तरणको जो संकल्प बोकेर हामी हिँडेका छौं त्यसैले त्यो चिज गर्नु जरुरी हुन्छ।
एमाले नेताहरूले माक्र्सवादी नीति र जबजअनुुसार आफूलाई बदलेनन् भने संसदीय भासमा भासिने खतरा देखिन्छ। त्यस्तो लाग्दैन ?
बुझ्नुपर्ने कुरा, हाम्रो क्रान्ति कस्तो क्रान्ति हो ? हामीले हिंसात्मक वा सशस्त्र संघर्ष गरेर परिवर्तन ल्याएका होइनौं। हामी बुर्जुवा शक्तिसितको सहकार्यबाट प्राप्त भएको राजनीतिक परिवर्तनमा छौं। जुन क्रान्ति श्रमजीवी वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टी र बुर्जुवा वर्गको प्रतिनिधि नेपाली कांग्रेसको सहकार्यबाट सम्पन्न भयो। हामी अब यही दुईवटा शक्तिसँगको प्रतिस्पर्धाको चरणमा छौं। सरकार, संसद् र राज्यका संयन्त्रहरूमा दुवैका प्रतिनिधित्व गर्ने पात्र र प्रवृत्तिहरू छन्। लामो समयसम्म प्रतिद्वन्द्विता चल्छ। यस्तो बेला हामीले योग्यता र क्षमता देखाएर श्रेष्ठता हासिल गर्नुपर्छ। यो प्रतिस्पर्धामा जसले श्रेष्ठता हासिल गर्छ, उसैले यो राजनीतिक परिवर्तनपछि प्राप्त भएका उपलब्धिलाई त्यही दिशातर्फ लैजान्छ। यदि श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टले जित्दै गयो भने समाजवादको आधार निर्माण हुँदै जान्छ।
दुर्भाग्यवश त्यस्तो भएन भने उपलब्धिहरू गुम्दै जान्छन्। उपलब्धिहरू जोगाउन विधानदेखि पालिकासम्म अधिवेशन गर्यौं। अब बाँकी सबै अधिवेशन गर्छौं। संगठनदेखि समाजसम्म व्यवस्थित गर्नकै लागि यो सबै गरेका हौं।
समावेशी रूपमा हेर्ने हो भने पनि एमालेभित्र सांगठनिक रूपमा हालको स्थिति सन्तोषजनक छैन भनिन्छ। महाधिवेशनले कसरी मिलाउँछ ?
नेपाली समाज विविधतायुक्त छ। यसलाई क्रियाकलाप, राजनीतिक गतिविधि र सांगठनिक काममा हेक्का राख्नुपर्छ। कम्युनिस्ट पार्टी भनेको विचारका आधारमा चल्ने पार्टी हो, क्षेत्र, भूगोल, भाषा, लिंग, जात र धर्मका आधारमा होइन। विचारकै आधारमा चले पनि एमालेले यो कुरा हेक्का भने राख्छ, नेपाली समाजको विविधतालाई ख्याल गर्छ।
निर्वाचनका बेलामा सबै नेता जनताका घरघर पुग्छन् तर त्यसपछि हराउँछन्। किन ?
कतिपयले आम पार्टीजस्तै एमाले पनि उस्तै भनेर पनि टिप्पणी गरिदिन्छन्। म त्यसमा सहमत छैन। एमाले त तल्लो तहसम्म पनि आमरूपमा जनतासम्म पुगेको पार्टी हो। वडा अधिवेशनमा पनि त्यही भएका र भिजेका साथीहरू नै नेतृत्वमा आउनुभयो। पालिकामा पनि त्यही भयो। आमरूपमा बुझ्न एमाले गाह्रो पनि छ। के बुझेका छन् भने माथि माथि छ तर लाखौं नेता र कार्यकर्ता भएको पार्टी हो। जनताले हेरेबुझेकै छन्।
सत्ता गठबन्धन चुनावसम्मै तालमेलमा जाने भनिरहेछ। एमालेको योजना के छ ?
सम्भव भएका र मिल्ने शक्तिहरूसँग त्यो पनि मुद्दामा आधारित भए सहकार्य हुनसक्छ। मिलेसम्म सँगै जाने हो। गठबन्धनलाई भनेकै छौं, सक्छौ भने एक्लाएक्लै आऊ सक्दैनौ आँट छैन भने जुटेरै आऊ, एमाले भिड्न तयार छ।
विधानमा रहेको ३३ प्रतिशत महिलाको व्यवस्थाले योग्य पुरुषको सन्दर्भमा प्रश्न चिह्न त तेस्र्याउँदैन ?
महिलालाई त्यसै टिपेर ल्याउँदैनौं। यत्ति हो सामान्यभन्दा अलि खुकुलो मापदण्ड छ। यद्यपि यत्रो ठूलो पार्टीले व्यवस्थापन गर्दा कोही असन्तुष्ट हुनसक्छ तर भ्रम र अन्योलका कुरा चिरेर अघि बढ्छौं।
पार्टीका नेता कार्यकर्तामा पठन संस्कृति अत्यन्त कहालिलाग्दो देखिन्छ। यसलाई कसरी सुधार्नु हुन्छ ?
यो सही कुरा हो। हो, अलिकति सतहीपना बढेको छ। सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा आएका कुराबाट प्रभावित हुने जबर्जस्त प्रवृत्ति देखिएको छ। सूचना दिए पनि सतही बनाएको छ। पार्टीमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ। हाम्रो पार्टीले पार्टी स्कुलमार्फत पाठ्यक्रम बनाएर सबै तहमा प्रशिक्षण चलाउँछ। आउँदा दिनमा निश्चित तहको नेतृत्वमा आउन निश्चित तहको पाठ्यक्रम पूरा
गरेको हुनुपर्छ।
अन्त्यमा, तपाईंको केही भन्नु छ कि ?
नेकपा एमालेले राष्ट्रिय राजनीतिमा जुन ‘लिड रोल’मा आफूलाई उभ्याएको छ। त्यो मुद्दामा आधारित भएर हो। देश र जनताको हितमा, देशको स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको पक्षमा लडेर हो। यस्तै आर्थिक विकास र समृद्धिको पक्षमा मुद्दासहित अघि बढेर हो। अबको निर्वाचनमा पनि यिनै मुद्दा र हिजो सरकारमा गरिरहेका विकासका कुरा लिएर जनसमक्ष जान्छ र पाँच वर्षका लागि ताजा जनादेश बोकेर ल्याउँछ।