बढ्यो परनिर्भरता
काठमाडौं : उत्पादन हुन नसक्दा देशमा परनिर्भरता बढ्दै गएको छ। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु नै धमाधम आयात भइरहेका छन्। नेपालको अर्थतन्त्र उत्पादनमुखीभन्दा आयातमुखी हुन पुगेको छ।
यहाँका व्यापारीले विदेशी सामान आयात गरेर बिक्री गर्ने गरेका छन्। जसले गर्दा दिनप्रतिदिन व्यापारघाटा बढ्दै गएको छ। उद्योगीहरू पनि उत्पादन छोडेर विदेशी ब्रान्डका वस्तु आयात गरी बिक्री गर्न थालेका छन्। निजी क्षेत्रबाट मेक इन् नेपाल–स्वदेशी उत्पादन अभियान सुरु गरिए पनि उत्पादन बढ्नुको साटो आयात उच्च हुँदै गएको छ। विश्वव्यापीरूपमा फैलिएको कोभिड—१९ का कारण आर्थिक गतिविधि तंग्रिन थालेको छ। तर उत्पादन बढन् अझै सकिरहेको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामा ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोडको आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १२.७ प्रतिशतले आयात घटेको थियो। आयातको हिस्सा प्रायःजसो भारतसँग हुने गरे पनि असोजमा भने चीनबाट अत्यधिक आयात भएको छ। भारतबाट हुने आयात ४८.४ प्रतिशत, चीनबाट ५५.२ प्रतिशत र अन्य मुलुकबाट १२४.४ प्रतिशतले आयात बढेको छ।
पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयबिन तेल, कच्चा पाम तेल, सुनलगायतको आयात बढेको छ। सिमेन्ट, रासायानिक मल, मोलासिस सुगर, सुर्तीलगायतका वस्तुको आयात घटेको छ।
पछिल्लो तीन महिनामा १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोडको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १४.३ प्रतिशले वृद्धि भएको थियो। भारतमा निर्यात बढे पनि कोभिडपछि चीनमा निर्यात बढ्न सकेको छैन।
भारतमा १४७.१ प्रतिशत, चीनमा १९.४ प्रतिशत र अन्य मुलुकतर्फ २७.२ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। सोयबिन तेल,पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका समानको निर्यात बढेको छ। चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधिको निर्यात घटेको छ। तीन महिनामा व्यापारघाटा ५८.३ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत थियो।
चालू खाता घाटा
देशमा उत्पादन घट्दै गएपछि आयात गर्नुपर्दा चालू खाता घाटा बढ्न थालेको छ। शोधनान्तर बचत पनि क्रमशः खुम्चिन थालेको छ। समीक्षा अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ७१ करोडले घाटा छ। अघिल्लो वर्षको सोही अवधिमा ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा थियो।
महंगी बढ्यो
असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा ३.७९ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति ४.७२ प्रतिशत छ।
२०७७ असोजको तुलनामा गत असोजमा घिउ तथा तेलको ३१.६८, माछा तथा मासुको ११.९३, दाल तथा गेडागुडीको १०.७१, गैरमदिराजन्य पेय पदार्थको ९.६३ र सुर्तीजन्य पदार्थ उपसमूहको १०.१२ प्रतिशत मूल्यवृद्धि भएको छ।
खर्च प्रणालीमै कमजोर
सरकारले चालू आर्थिक वर्षको तीन महिनामा २ खर्ब ३४ अर्ब ५२ करोड खर्च गरेको छ। असोजसम्म १ खर्ब ८६ अर्ब ५२ करोड चालू खर्च हुँदा पुँजीगत खर्च १४ अर्ब ८९ करोड पुगेको छ। असोजमा सरकारले कर राजस्व २ खर्ब २९ अर्ब ८ करोड र गैरकर राजस्व २५ अर्ब ९६ करोड गरी २ खर्ब ५५ अर्ब ४ करोड परिचालन गरेको छ।