अष्ट्रेलियामा गुगलले १ अर्ब डलर लगानी गर्दै
क्यालिफोर्निया : अमेरिकी टेक कम्पनी गुगलले अष्ट्रेलियामा करिब १ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। गुगलले विभिन्न उद्देश्यको लागि अष्ट्रेलियामा सो लगानी गर्न लागेको हो।
अष्ट्रेलियालाई रिसर्च हबको रुपमा स्थापित गर्न, क्लाउड कम्प्युटिङ क्षमता बढाउन र स्थानीय कम्पनीसँग साझेदारी बढाउन अष्ट्रेलियामा १ अर्ब डलर खर्च गर्ने निर्णय गरेको गुगलले बताएको छ।
डिजिटल फ्युचर इनिसियटिभ नाम दिइएको करिब पाँच वर्ष लामो कार्यक्रमले करिब ६ हजारलाई प्रत्यक्ष रोजगार दिने र करिब २८ हजारभन्दा बढी मानिसलाई सहयोग पुग्ने बताइएको छ।
गुगलका सिइओ सुन्दर पिचाइले सिड्नीमा सो पहलको सुरुवात गर्दै निकट भविष्यमा अष्ट्रेलियाले प्रविधि र आविष्कारको क्षेत्रमा संसारलाई उछिन्ने बताएका छन्। अमेरिकी टेक कम्पनीले अष्ट्रेलियामा गर्न लागेको यो हालसम्मकै ठूलो रकम भएको बताइएको छ।