भ्रातृसंगठनमा टीका लगाउँदै, अध्यक्ष तोक्दै
काठमाडौं : प्रमुख प्रतिपक्षी एमाले र कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, उनीहरूका अधिकांश जनवर्गीय एवं भ्रातृसंगठनका महाधिवेशन भने वर्षौंदेखि हुन सकेका छैनन्। महाधिवेशन गरेका संगठनमा पनि प्रतिस्पर्धा गर्न नदिई टीका लगाइदिएर पार्टीका शीर्ष नेताले नेतृत्व तोकिदिने गरेका छन्। पार्टीका ‘नर्सरी’मा ‘टिके’ प्रणालीले ‘नयाँ र असल’ नेतृत्वको विकासक्रम रोकिएको छ।
‘पार्टीका जनवर्गीय र भ्रातृसंगठनहरूको महाधिवेशन नहुँदा फ्रेस नेतृत्व आउनै सक्दैन’, विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘यसो हुँदा विद्यार्थी नभएको मान्छे विद्यार्थीको नेता, युवा उमेर पार गरेको व्यक्ति युवाको नेतृत्वमा आउने गरेका छन्। यसले आन्तरिक लोकतन्त्र ठप्प हुन्छ।’ १०औं महाधिवेशन तयारीमा जुटेको एमाले सम्बद्ध युवा संघको अधिवेशन नभएको नौ वर्ष भयो। २०६९ मा बुटवल महाधिवेशनबाट महेश बस्नेत अध्यक्ष बनेका थिए। उनीपछि पाँच जना अध्यक्ष भए। ती सबै निर्वाचित नभई पार्टी अध्यक्षबाट टीका लगाउँदै अध्यक्ष तोकिएका हुन्।
कांग्रेस भ्रातृसंस्था तरुण दलको ०७३ सालमा भएको अधिवेशनबाट जितजंग बस्नेत तीन वर्षका लागि अध्यक्ष निर्वाचित भएका थिए। तर, पाँच वर्ष भइसक्यो, अधिवेशनको टुंगो छैन। माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले भदौ १२ देखि १५ सम्म भर्चुअल माध्यमबाट महाधिवेशन गर्यो। तर, प्रतिनिधिलाई नेतृत्व चयनको मौका नदिई सुमन देवकोटालाई अध्यक्ष बनाइएको भन्दै नेताहरूले असन्तुष्टि पोखे। एमाले अखिलको महाधिवेशन पछिल्लो पटक २०७२ मा भएको थियो। अध्यक्ष नवीना लामा सांसद बनेपछि टीका लगाएर ऐन महरलाई उक्त ठाउँमा बनाइयो। ०७८ असोज २ मा महाधिवेशन नै नगरी फेरि सुनिता बराललाई अध्यक्ष घोषणा गरियो।
दुईपटक म्याद थपिदिँदा पनि अधिवेशन गर्न नसकेको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेवि संघ अध्यक्ष नैनसिंह महरलाई पार्टीले राजीनामा दिन बाध्य गरायो। ६ महिनाभित्र अधिवेशन गर्ने गरी २ वर्षअघि कांग्रेसले राजीव ढुंगानाको नेतृत्वमा नेवि संघ तदर्थ समिति गठन गर्यो। महाधिवेशनको तयारीमा जुट्नु त परको कुरा, १ सय १ कार्यसमिति अहिले आएर जम्मा १० पदाधिकारीमा सीमित छ।
माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अधिवेशन असोजमा भयो। तर, प्रतिनिधिलाई नेतृत्व चयन गर्ने अवसर दिइएन। पार्टी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेताहरूलाई घरमा बोलाएर पञ्चा सिंहलाई अध्यक्ष बनाउन निर्देशन दिए। त्यसपछि सिंह अध्यक्ष त बनिन् तर अरू पदाधिकारी अझै चयन हुन सकेका छैनन्। विश्लेषक गेजा शर्मा वाग्ले नेताहरूले गोजीका मान्छेलाई भ्रातृसंगठनको नेतृत्व दिने गरेको बताउँछन्। भन्छन्, ‘जसकारण भ्रातृसंगठन त कमजोर छन् नै। पार्टीलाई पनि कमजोर बनाएको छ।’
एमालेका २२ जनवर्गीय संगठन छन्। तीमध्ये अधिकांशको महाधिवेशन हुन सकेको छैन। भएकामा पनि नेतृत्वको चाहनाअनुसार टीका लगाउँदै नेतृत्व दिने गरिएको छ। माओवादीका २९ जनवर्गीय संगठन छन्।
केही वर्षदेखि ती संगठनमा पनि सर्वसम्मतिका नाममा टीका लगाउँदै अध्यक्ष बनाउने गरिएको छ। २००८ सालमा स्थापना भएको एमालेनिकट अनेमसंघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ। २०३७ सालमा पुनर्गठन भएको अनेमसंघका ६ अधिवेशन भएका छन्। आगामी फागुनमा सातौं अधिवेशन गर्ने तयारी भइरहेको अध्यक्ष थममाया थापा बताउँछिन्। ‘नेता खुसी पारेर टीका लगाउने प्रवृत्ति हटाएर असल नेतृत्व चयन गर्न प्रतिस्पर्धामै जानुपर्छ’, अखिलका पूर्वउपाध्यक्ष रश्मी आचार्य भन्छन्।
टीका लगाएर भ्रातृ एवं जनवर्गीय संघसंगठनको नेतृत्व चयन गर्नु गलत भएको माओवादी नेता दीनानाथ शर्मा बताउँछन्। पार्टीको बुद्धिजीवी संगठनका इन्चार्ज शर्मा भन्छन्, ‘सर्वसम्मतका नाममा विभिन्न चलखेल हुन सक्छन्। प्रतिस्पर्धा गराएर नेतृत्व छनोट गर्नु सबैभन्दा राम्रो पक्ष हो।’ एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ भने सहमतिमै नेतृत्व छान्नु लोकतन्त्रको उच्च अभ्यास भएको बताउँछन्।
वाईसीएलका पूर्वइन्चार्ज रामप्रसाद सापकोटा महाधिवेशन नगरी नेतृत्व छान्नु गलत भएको बताउँछन्। ‘कुनै व्यक्ति मन परेर संगठनको नेतृत्व दिनु गलत हो’, सापकोटा भन्छन्।
पार्टीको महाधिवेशनपछि सबै भ्रातृसंस्थाको अधिवेशन हुने कांग्रेस नेता एनपी साउद बताउँछन्। कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको हविगत नेविसंघभन्दा फरक छैन।
नेपाल महिला संघको २०७३ भदौ २९ गते काठमाडौंमा अधिवेशन भयो। उमा रेग्मी अध्यक्ष बनिन्। रेग्मी भन्छिन्, ‘पार्टीमा तोकिएको समयमा अधिवेशन हुन नसक्दा महिला साथीहरूको नयाँ नेतृत्व आउन पाएको छैन।’
कांग्रेसनिकट किसान संघको अधिवेशन २०६४ सालदेखि भएको छैन। नेपाल दलित संघको कार्यकाल सकिएको वर्षौं भइसकेको छ। २०६९ माघ ६ मा म्याद थप भएको नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन। आदिवासी जनजाति संघमा १५ वर्षदेखि इन्द्रबहादुर गुरुङ नेतृत्वमा छन्।
कांग्रेसकै भ्रातृसंगठन तामाङ संघको पनि अधिवेशन नभएको १० वर्ष पुगिसक्यो। २०६६ मा केवलबहादुर लामा अध्यक्ष बनेपछि अधिवेशन भएको छैन। नेपाल भूतपूर्व सैनिक संघको २०७३ जेठ, नेपाल ठाकुर समाजको २०६७ वैशाखमा अधिवेशन भएको थियो। २०६६ सालमा गठन भएको नेपाल अपांग संघको अधिवेशन एकपटक पनि भएको छैन। मगर संघ र मुस्लिम संघबाहेक ११ भ्रातृसंस्थाको समयावधि सकिए पनि अधिवेशन अनिश्चित छ।
पार्टी महाधिवेशनमा जुट्नुपर्ने भएकाले भ्रातृसंस्थाको अधिवेशन ओझेलमा परेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ।