महाधिवेशनलाई निर्वाचनमुखी मात्रै बनाउनु हुँदैन
कांग्रेसको १४औं महाधिवेशन आउन तीन साता मात्रै बाँकी छ। विभिन्न पदका आकांक्षीहरू उम्मेदवारी घोषणा गर्दै अघि बढ्न थालेका छन्। अबको नेतृत्व कस्तो होला भन्ने चासो बढ्दो छ। यिनै सेरोफेरोमा रही पार्टी केन्द्रीय सदस्य एनपी साउदसँग अन्नपूर्णकर्मी राधा खनालले गरेको कुराकानी :
महाधिवेशनमा कांग्रेस युवा ऐक्यबद्धता जनाएर सामूहिक नेतृत्वमा आउने तयारी हो ?
कांग्रेसमा युवा र वृद्ध भनेर छुट्ट्याएको अवस्था छैन। हामीकहाँ धेरै नेताले जीवनको अन्तिम कालसम्म नेतृत्व गरिरहने प्रचलन भएकाले पनि त्यो कुरा उठेको हुनसक्छ। कुनै नेताले हास्यरस उत्पादन हुने तरिकाले ८० वर्षका नेता युवा नै छु भन्ने गर्छन्। कांग्रेसमा गुटगत रूपमा विभाजनले पुरानाकै नेतृत्वमा नयाँ पिँढी संयोजित हुने कोसिस हुन्छ। नयाँ पिँढीका साथीहरू पनि व्यवस्थित भएर छलफलमा संगठित हुने गरेका छन्। व्यवस्थित रूपमा युवा नेतृत्वबाट हस्पक्षेप हुन सकेको छैन।
क्रियाशील विवादले पनि महाधिवेशनको मिति हेरफेरमा महत्त्वपूर्ण भूमिका खेलेको हो ? नेतृत्व विवाद कसरी सुल्झन्छ ?
क्रियाशील सदस्यतासम्बन्धी विवाद पहिलादेखि नै समस्याको रूपमै रहँदै आएको छ। तर यो पटक क्रियाशील विवादको स्तर अत्यन्तै तल्लो भयो। विशेष गरेर छानबिनको प्रक्रियामा पनि परिपक्वता देखाइएन। छानबिन गर्दाखेरि देशव्यापी रूपमा सबै ठाउँको छानबिनलाई टुंग्याएर अधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यो कुरा पनि अगाडि बढ्न सकेन। छानबिनमा भएका कतिपय साथीहरूले पनि वाटर सिस्टमले प्रतिनिधित्व गर्ने मान्छेहरूको आआफ्नो स्वार्थअनुसार काम भयो। नेतृत्वको अनुहार पनि हेर्ने आफ्नो स्वार्थ पनि हेर्ने छानबिनको प्रक्रियामै कसलाई जिताउने कसलाई हराउने भन्ने किसिमको दुष्चक्र पनि गरियो। विगतका छानबिनमध्येको सबैभन्दा मैलो खालको छानबिनको रूपमा यस पटकको छानबिन पाएको छु।
महाधिवेशनको समय नाघेर यहाँसम्म आइपुग्दा कांग्रेसले संविधान र विधानलाई नटेरी अघि बढेको देखिन्छ नि ?
हामीले विधान लेख्दाखेरि विधान समितिले त्यसको मस्यौदा बनाएर ल्याउँदा व्यावहारिक भएन। विधानले पार्टीको संगठित रूप र प्रक्रियालाई परिलक्षित गरेन। विधान काम गर्न सजिलो खालको हुनुपर्छ। एनजीओको जस्तो प्रतिलिपि बनाएर राजनीतिक पार्टीहरू चल्न सक्दैनन्। त्यसमा इलेक्सनको पद्धति, समावेशिता, कमान्डर सिस्टम पनि त्यसभित्र समावेशी गरिनुपर्छ। त्यसपछि मात्र पार्टीलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरा राखेका थियौं। यी कुरा महासमितिको बैठकमा कुनै सुनुवाइ भएन।
महासमितिको बैठकमा सीमित मान्छेले सहमतिको आधार बनाएर विधानको मस्यौदा जारी गरे। यसरी पुनर्लिखित गरिएको विधानको अहिलेको अवस्था हेर्दा त्यसको २५ प्रतिशत हिस्सा या त निलम्बित छ। या त निष्क्रिय छ। त्यसलाई परिपत्र र सहमतिले तोडिएको छ। जसरी नियमावली र विधानलाई सहमतिले तोड्ने नजिर पार्टीभित्र बनेको छ। यसले नेपाली कांग्रेसलाई वैधानिक बाटोमा ल्याउन लामो समय लाग्न सक्छ।
चुनावी मैदानमा उनै नेतृत्व छन्। १४औं महाधिवेशनमा नयाँ के हुन्छ ?
कांग्रेसका धेरै महाधिवेशन ऐतिहासिक हुने गरेका छन्। ऐतिहासिक यस अर्थमा चाहे २००७ सालको क्रान्तिको निर्णय गर्ने महाधिवेशन होस्। २०१२ सालमा समाजवादलाई आत्मसाथ महाधिवेशन होस् या भूमिसुधार आर्थिक कार्यक्रम प्रगतिशील बनाउने महाधिवेशनहरू हुन्। चाहे निरंकुश राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र स्थापित गर्ने लक्ष्य बोकेका महाधिवेशन होस्। कांग्रेसका महाधिवेशनहरू ऐतिहासिक र महत्त्वपूर्ण नै हुने गरेका छन्। यसमा राष्ट्रिय राजनीतिको बाटोलाई बदलेका छौं। अहिले महाधिवेशनलाई निर्वाचनमुखी बनाइएको छ। यसले महाधिवेशन गरिमामय हुन सक्दैन। अगाडि आएका समस्याको समाधान हुन सक्दैन।
तपाईंको उम्मेदवारी कुन समूहबाट हो ?
सभापतिजीसँग र उहाँकै समूहबाट आउँछ। यद्यपि पार्टीमा शीर्ष नेताबीच एकता हुनुपर्छ। यो महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा रूपान्तरण गरिनुपर्छ। विशेष गरेर एक वर्षभित्र तीनै चरणको चुनावको कार्यभार पूरा गर्नुपर्ने कांग्रेसले अनेकताका साथ महाधिवेशनमा जाने हो भनेपछि यसको दुष्परिणाम निर्वाचनमा देखा पर्नसक्छ। त्यसकारण एकताको पक्षमा छु। प्रजातन्त्रमा प्रतिस्पर्धालाई कुनै पनि हालतमा निषेध गर्न सकिँदैन। एउटा कुनै पदमा लड्दा अर्को व्यक्ति लड्नै नहुने भन्ने हैन। एउटै पदमा थुपै्र व्यक्तिको उम्मेदवारी सम्भव छ तर प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउनुपर्छ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा जित सम्भव छ ?
नेपालको इतिहासमै छाप छाड्ने किसिमले उहाँले छोटो समयमा धेरै काम गर्नुभएको छ। तर मुख्य कुरा पार्टीको एकता हो। जबसम्म एकजुट भएर पार्टी महाधिवेशनमा जान सक्दैन। जबसम्म हामी एकअर्काको दोहोलो काड्ने अवस्थामा रहिरहन्छौं। पार्टीभित्र पनि जति पनि प्रतिस्पर्धा छन्। ती आफ्नै अन्तरविरोधमा आधारित हुन्छन्।
जबसम्म कार्यकर्ता तथा पार्टीको ऊर्जाको ८० प्रतिशत हिस्सा आन्तरिक कलह प्रतिस्पर्धामा खर्च हुने स्थिति छ। तबसम्म प्रतिपक्षसँग बलियो किसिमले मुकाबिला गर्न सक्दैनौं।
महामन्त्रीकै कुरा गर्दा सभापतिकै धारमा पनि पाँच जनाको दाबी हुने देखिन्छ। तपाईं ?
पार्टीलाई एकजुट बनाएर अगाडि लैजानुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो। व्यक्तिगत रूपमा उदारतामा विश्वास राख्छु। विभिन्न रुचि र अभिरुचि भएका व्यक्ति हुन्छन्। कमन इन्ट्रेस्टकोे आधारमा पार्टीलाई हामीले अगाडि बढाउन सक्यौं भने व्यापक जनाधार तयार गर्न सक्छौं। मूल्य र सिद्धान्तका आधारमा पार्टीलाई चलाउनुपर्छ। मूल्य र मान्यतामा आधारित नेतृत्व पार्टीभत्र स्थापित हुनुपर्छ। पार्टीलाई रूप हराएको भाँडो बनाएर त्यसको मूल ध्येय उद्देश्य र आदर्शबाट राजनीतिक स्वार्थका सन्दर्भमा यसलाई बिल्कुल प्रयोग गर्नु हुँदैन। यसलाई उद्देश्यमूलक र लक्ष्यमूलक ढंगले पार्टीलाई अगाडि बढाउनुपर्छ। विधान संशोधन गरेर आन्तरिक प्रतिस्पर्धालाई घटाउनु पर्छ।
कांग्रेसमा युवा नेतृत्वले हस्तक्षेप गर्न सकेको अवस्था छैन।
विधानमा एउटा कुरा र व्यवहारमा अर्को काम गर्दै गयौं भने भातृसंस्था दुर्घटनामा पर्न सक्छ।
विधानमा एउटा कुरा र व्यवहारमा अर्को काम गर्दै गयौं भने भातृसंस्था दुर्घटनामा पर्न सक्छ।
अनिर्णयको बन्दी बनाएर पार्टीलाई कतिञ्जेल राख्ने ? प्रक्रिया लोकतान्त्रिक र प्रजातान्त्रिक हुन सकेको छैन।
अर्कोतिर क्रियाशील सदस्यता भनेको क्रियाशील मान्छेलाई सदस्यता बनाउने उद्देश्यले जसरी बीपी कोइरालाले यसलाई स्थापित गर्नु भएको हो। अहिले यसले आफ्नो रूप र उद्देश्यबाट फेल खाएको छ। अहिले क्रियाशील सदस्यताको प्रयोजन खाली नेताले चुनाव जित्न तयार पारिएको भोटर लिस्टमा सीमित छ। त्यसकारण अघिपछि कार्यकर्ता क्रियाशील छैनन्। यसको मूल प्रयोजन भंग भएको छ। पार्टीलाई क्रियाशीलको दायराभन्दा बाहेक खुल्ला बनाएर लैैजानुपर्छ। क्रियाशील सदस्यबाट प्रतिनिधि छनोटको प्रक्रियालाई पार्टीका विभिन्न तहका वडाका विभिन्न कमिटीका पदाधिकारीबाट निर्वाचित गर्ने पद्दतिमा अघि बढ्न सक्छौं। राजनीतिक पार्टी प्रविधि
अनुकूलका छैनन्।
भ्रातृ संस्थाहरूबाट पार्टी नेतृत्वमा आउने अवस्था के हुन्छ ?
गम्भीर विरोधाभाषको सिकार भएका छन्। पार्टीका भ्रातृ संगठनको विधानभित्र प्रजातन्त्रिक ढंगबाट नेतृत्व चयन गर्नुपर्ने प्रबन्ध छ। नेतृत्वको मानसकिता पार्टीभित्र आफू अनुकूलको नेतृत्व भ्रातृ संगठनमा स्थापित होस् भन्ने छ। यस्तै अन्तरविरोधका कारणले अधिवेशन हुन सकेका छैनन्। खासमा भ्रातृ र शुभेच्छुक संस्थालाई जुन रूपमा उनीहरू पार्टीसँग सम्बन्ध राख्न चाहन्छन्। त्यसैगरी छोड्नुपर्छ।
पार्टीकै संरचनाको अवयवका रूपमा पार्टीका भ्रातृ संगठनको उदय भएको हो। पार्टीको निर्वाचन नेतृत्वले पार्टीको महाधिवेशनले तय गरेका नीति र कार्यक्रमहरू कार्यान्वयन गर्ने सन्र्दभमा भ्रातृ संस्थाका उपयोगी नेतृत्व हुनसक्छ। तिनलाई जिम्मेवारी दिने र मनोनीत गर्ने गरेर पार्टीको नेतृत्वलाई जिम्मा दिनुपर्छ। यी दुईवटै बाटोमध्ये एउटा बाटो चुन्यौं भने पनि नेतृत्व व्यवस्थापनमा सघाउ पुग्न सक्छ। हामीले विधानमा एउटा कुरा र व्यवहारमा अर्को काम गर्दै गयौं भने भ्रातृ संस्था यसै किसिमले दुर्घटना जान सक्छन्। तर भ्रातृ संस्थाको अधिवेशन यही विधान र यही विवादमा रह्यो भने गाह्रो हुन्छ। पार्टीले सकारात्मक हस्तक्षेप र ऐतिहासिक निर्णय गरेर भ्रातृ संस्थाको व्यवस्थापनको बारेमा एउटा दृष्टिकोण बनाउनुपर्छ।
कांग्रेसभित्र पुस्तान्तरण कसरी हट्ला ?
पुस्तान्तरण दुई किसिमले हुन्छ। एउटा युवा आन्दोलनका संवाहक हुन्। पार्टी आन्दोलनको प्रक्रियामा जाँदा युवा नेतृत्व आन्दोलनमा अपेक्षाकृत रूपमा चाँडो स्थापित हुन्छ। स्थापनाको खुड्किलोबाट युवा पुस्ता अगाडि आउन सक्छ। २००७ सालमा आन्दोलनमा सहभागी युवा राजनीतिमा स्थापित भएका थिए। ४० को दशक कसैले पार गरेका थिएनन्। अहिलेका सभापति र शीर्ष नेताहरू पनि आन्दोलनबाटै जन्माएका हुन्। आन्दोलन र स्वाभाविक लोकप्रिय दृष्टिकोणका आधारमा प्रजातन्त्रिक तौरतरिकाले महाधिवेशनमार्पmत नेतृत्व आउन सक्ने खुल्ला बाटो छ। अहिलेको अवस्थामा पार्टीलाई समकालीन राजनीतिमा पुनस्र्थापित गर्नुपर्ने चुनौतीलाई पार्टीले कसरी पूरा गर्न सक्छ ? पार्टीमा युवाले त्यो चुनौतीलाई कसरी फरक किसिमले पूरा गर्न सक्छन् भनेर एउटा अवधारणाका साथ अगाडि आउन जरुरी छ।
४० वर्षमाथिको संख्या ६० प्रतिशत र ६० वर्ष माथिको ४० प्रतिशत देशको जनसंख्या छ। यस्तो अवस्थामा युवाको मुद्दालाई केन्द्रित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्छ। अर्कोतिर प्रविधिको प्रयोगमा पनि युवालाई आकर्षण गर्न सक्ने रोजगारमूलक प्रस्ताव ल्याएर पार्टीले पनि ती कुरा प्रयोगमा ल्याउन सक्छ। अहिले नेपाली समाज बेरोजगारीले आक्रान्त छ। अहिले कतिपय युवा कुनै विषयमा दक्ष नभई विदेशमा थोरै पैसामा श्रम बेच्न बाध्य छन्। मुलुकभित्रै ती युवाको सीप, क्षमतालाई उपयोग गरेर रोजगारीको सिर्जना गर्न सकियो भने पनि त्यसले नयाँ प्रयास पार्टीले गर्न सक्छ। मुलुकमा भाइचारा बढाउने कुरा यस्ता कुराले पनि प्रभाव पार्छ। जुन किसिमले मुलुक चलेको छ त्यो किसिमको असन्तुष्टिले पनि निराशा छाएको छ। समाज र राज्यले युवालाई अवसर दिन सकेन।
पहिलो पटक पहिला नेतृत्व र पछि विधान महाधिवेशन गर्न किन बाध्य भयो कांग्रेस ?
जसको नेतृत्व उसको कार्यक्रम यो संसारभरको प्रजातन्त्रिक संस्थाहरूलाई चलाउने प्रचलन हो। यो बीचमा हाम्रा नेताले परस्पर सहमति गरेर जे पनि गर्नुहुन्छ। उहाँहरूले बेलायतको सांसदकै जतिको अधिकार प्रयोग गर्नु भएको छ। बेलायतको सांसदलाई महिलालाई पुरुष र पुरुषलाई महिला बनाउनेबाहेक सबै अधिकार प्राप्त गर्र्छन्। नीति, कार्यक्रम र दृष्टिकोणको बारेमा बहस नगरी ५ हजार मान्छे जम्मा भएर केका आधारमा व्यक्तिलाई मत दिने हुन् ? कसरी नेतृत्व चयन हुन्छ ? मान्छेलाई भाषण, अनुहार केका आधारमा मत दिने हुन् ? उसको समग्र योगदानको मूल्यांकन गर्ने अवसरबाट महाधिवेशन प्रतिनिधिलाई बञ्चित गराइयो।
अहिलेको महाधिवेशन यान्त्रिक रूपमा नेतृत्व चयनको निर्वाचनको रूपमा सीमित हुनेछ। के गर्ने ? विधान नेताहरूले सहमतिका आधारमा राख्नपर्ने अवस्था छ। निर्वाचन आयोग राष्ट्रियसभाको चुनावअघि पार्टी दर्ता भएन भने खारेज गर्छौं भनेर भनेको छ। पार्टीको महाधिवेशन पाँच पटक स्थगित भइसकेको छ। चारैतिर पार्टीका कार्यकर्ता निराश छन्। पार्टीलाई अनिर्णयको बन्दी बनाएर राखिएको अवस्था छ। अनिर्णयको बन्दी बनाएर कतिञ्जेल राख्ने पार्टीलाई ? प्रक्रिया लोकतान्त्रिक र प्रजातान्त्रिक हुन सकेको छैन।