लागुऔषध सेवनबाट अमेरिकामा वर्षेनि लाख बढीको मृत्यु, चीनलाई फिलिपिन्सको चेतावनी

लागुऔषध सेवनबाट अमेरिकामा वर्षेनि लाख बढीको मृत्यु, चीनलाई फिलिपिन्सको चेतावनी

फिलिपिन्सले चीनलाई पछि हट्न दबाब दिएको समाचार आज चर्चामा रह्यो। दक्षिण चीन सागरको सम्बन्धमा चीनले ज्यादती गर्न खोजेको भन्दै फिलिपिन्सले चीनलाई पछि हट्न दबाब दिएको हो। यता अमेरिकाले चीन, भारत र जापानलाई तेल भण्डार सार्वजनिक गर्न दिइएको दबाब खबर पनि चर्चमा रह्यो। अमेरिकामै लागुऔषधको सेवनमा वर्षमा लाख बढीको मृत्यु हुने समाचार पनि चर्चामा रह्यो। छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनसँग प्रत्यक्ष भेट्ने खबर पनि आज प्रमुख बन्यो। प्रस्तुत छ, बिहीबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू:


चीन, भारत र जापानलाई तेल भण्डार सार्वजनिक गर्न बाइडेन प्रशासनको दबाब

वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले चीन, भारत र जापानलगायत संसारका सबैभन्दा बढी तेल उपभोक्ता कम्पनीलाई तेल भण्डार सार्वजनिक गर्न दबाब दिएको छ। विश्वव्यापीरुपमा बढिरहेको इन्धनको मूल्य घटाउने उद्देश्यले बाइडेन प्रशासनले सो मुलुकहरुलाई दबाब दिएको हो।

विश्वव्यापीरुपमा इन्धनको मूल्य वृद्धिले खाद्यलगायत अन्य सामग्रीको मूल्य वृद्धि भएपछि बाइडेन प्रशासनमाथि दबाब पुगेको र बाइडेन प्रशासनले सो विषयलाई मध्यनजर गर्दै चीन, भारत र जापानलगायत मुलुकलाई तेल भण्डार सार्वजनिक गर्न दबाब दिएको अलजजिरालले स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ।

‘संसारका सबैभन्दा बढी इन्धन खपतकर्ता मुलुकले विश्वमा इनधनको हाहाकार भएकोबारे ध्यान दिनुपर्छ। सबैभन्दा बढी इन्धन खपतकर्ता मुलुकले तेल लुकाएर राखेका छन्। त्यसैले ती मुलुकहरुले तत्काल आफ्नो बानी सुधारेल तेल भण्डार सार्वजनिक गर्नुपर्छ,’ स्रोतले भनेको छ।

अमेरिकामा लागुऔषध सेवनबाट वर्षेनि १ लाखको मृत्यु

न्युयोर्कः अमेरिकामा लागुऔषध सेवनबाट वर्षेनि १ लाखभन्दा बढीको मृत्यु हुने गरेको खुलासा भएको छ। सरकारले जारी गरेको नयाँ तथ्यांकले मात्राभन्दा बढी लागुऔषध सेवनबाट उनीहरुको मृत्यु भएको खुलासा गरेको हो।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ अप्रिलदेखि हालसम्म अत्यधिक मात्रामा लागुऔषध सेवनबाट १ लाखभन्दा बढी मानिसको ज्यान गएको छ। सो तथ्यांक अघिल्लो वर्षभन्दा २८.५ प्रतिशतले बढेको केन्द्रले जनाएको छ।

सो तथ्यांकले अमेरिकामा लागुऔषध सेवनले मर्नेहरुको संख्या हालसम्मकै उच्च रहेको देखाएको बताइएको छ। नयाँ तथ्यांकपछि अमेरिकामा लागुऔषध सेवनले क्षेत्रीय महामारीको रुप लिएको विश्लेषकहरुले बताएका छन्।

यसअघि लागुऔषध सेवनबाट सन् २०१६ मा ५६ हजार ५ सयले ज्यान गुमाएका थिए। सन् २०२० मा भने ७८ हजारले ज्यान गुमाएको बताइएको छ। सन् २०२१ मा सो संख्या बढेर अत्यधिक मात्रामा लागुऔषध सेवनबाट मर्नेहरुको संख्या १ लाख ३ सय ६ पुगेको छ।

कम्तीमा ४ सय म्यानमार आप्रवासी चीनको हिरासतमा

बेइजिङः चिनियाँ अधिकारीहरुले कम्तीमा ४ सय म्यानमार आप्रवासीलाई हिरासतमा राखेको छ। एक वर्षको अवधिमा चीनले ती आप्रवासीहरुलाई आफ्नो हिरासतमा राखेको हो।

अवैधरुपमा चीन प्रवेश गर्ने र आधिकारिक प्रमाणपत्र बिना चीनमा काम गरिरहेका ४ सयभन्दा बढी म्यानमार आप्रवासीलाई हिरासतमा राखेको रेडियो फ्रि एसियामा खबर छ।

समाचार अनुसार करिब ३ सय म्यानमार आप्रवासीहरु दक्षिणी कोस्टल शहर डोङ्गाउको हिरासतमा छन् भने बाँकी सानडोङ प्रान्तको वेइहाई शहरको हिरासतमा राखिएका छन्।

म्यानमारको सैन्य ज्यादती र प्राकृतिक प्रकोप आदिका कारण करिब २ लाख ३० हजार म्यानमारवासी चीनमा कामदारको रुपमा पुगेको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले बताएको छ।

मोदी र पुटिनबीच डिसेम्बरमा प्रत्यक्ष भेट हुँदै

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनसँग प्रत्यक्ष भेट्ने भएका छन्। मोदीले डिसेम्बर ६ मा रुसी राष्ट्रपति पुटिन्सँग भेट्ने कार्यक्रम आयोजना गरेका हुन्।

प्रत्यक्षरुपमा हुने दुई पक्षीय भेट लोक कल्याण मार्गमा हुने बताइएको छ। सो भेटमा पुटिनले मोदीसँग अफगानिस्तान मुद्दा, प्रशान्त क्षेत्र, रणनीतिक स्थायित्व, जलवायु परिवर्तन, मध्य पूर्वी मुलुक र आतंकवादी समूह र सुरक्षा आदि सम्बन्धमा छलफल हुने हिन्दूस्तान टाइम्समा खबर छ।

सोही दिन रुसी र भारतीय विदेश मन्त्रीबीच समेत अलग्गै भेट हुने कार्यक्रम रहेको बताइएको छ। दुई राष्ट्र प्रमुखको सो भेटमा रुस र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने योजना रहेको समेत समाचारमा उल्लेख छ।

रुसले हालै अत्याधुनिक एस–४०० क्षेप्यास्त्र प्रणाली मोदी सरकारलाई पठाउन थालेकोछ । रुस र भारतको सो कदमले अमेरिका चिन्तित बनेको बताइएको छ।

फिलिपिन्सले चीनलाई भन्यो- 'पछि हट्’

म्यानिलाः दक्षिण चीन सागरमा भएको भिडन्तपछि फिलिपिन्सले चीनलाई पछि हट्न दबाब दिएको छ।  दक्षिण चीन सागरको सम्बन्धमा चीनले ज्यादती गर्न खोजेको भन्दै फिलिपिन्सले चीनलाई पछि हट्न दबाब दिएको हो। 

फिलिपिन्सका विदेशमन्त्री तोदोरो लोक्सिनका अनुसार नोभेम्बर १६ मा चिनियाँ पक्ष र फिलिपिन्सका निर्यातकर्ताबीच दक्षिण चीन सागरको आयुङिन शोल क्षेत्रमा झडप भएको थियो। चिनियाँ सैन्य अधिकारीहरुका लागि खाद्य र अन्य सामग्री बोकिरहेका फिलिपिन्सका पानी जहाजमा चिनियाँ पक्षले रोक लगाएको थियो। सो क्रममा झडप हुँदा मानवीय क्षति नभए पनि फिलिपिन्सको भौतिक क्षति भएको थियो।

‘सो क्षेत्रको कानुन मिच्न चीनसँग कुनै अधिकार छैन। त्यसैले चीनको गतिविधि सरासर अवैधानिक हो,’ विदेशमन्त्रायद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ। चीनको सो कदमको विरोध गर्दै फिलिपिन्सबासीले ‘गो ब्याक अफ चाइना’ भन्दै नाराबाजीसमेत गरेका छन्।

यद्यपि, चीनले सम्पूर्ण दक्षिण चीन सागर क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ। यता फिलिपिन्स, मलेसिया, भियतनाम, ब्रुनेई र ताइवानले समेत सो क्षेत्रमा आफ्नो हक लाग्ने दाबी गर्दै आएका छन्।

आँधीपछि ब्रिटिस कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

भ्यानकुभरः क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ। शक्तिशाली आँधीतुफानले मुख्य सडक र रेलमार्ग भत्काएपछि सो क्षेत्रमा बुधबार रातिदेखि संकटकाल घोषणा गरिएको हो।

क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा आइतबार राति विनाशकारी आँधी आएको थियो। आँधीका कारण १ महिलाको मृत्यु भएको थियो भने दुई मानिस अझै हराएइरहेका छन्। अधिकारीहरुले सो आँधी शताब्दीकै ठूलो भएको बताएका थिए। आँधीका कारण आएको बाढी र पहिरोमा परी मानवीयरुपमा कम क्षति पुगे पनि भौतिकरुपमा ठूलो विनाश भएको बताइएको छ।

आँधीपछि विभिन्न क्षेत्रमा फसेका हजारौं नागरिकको क्यानडियन सैन्य बलले उद्धार गरिरहेको बताइएको छ। अधिकारीहरुका अनुसार जलवायु परिवर्तनका कारण सो क्षेत्रमा प्राकृतिक विपद्ले चरम रुप लिइरहेको बताउँदै आएका छन्।

अमेरिकाले नाइजेरियालाई धार्मिक अतिक्रमणको सूचीबाट हटायो

आबुजाः अमेरिकाले नाइजेरियालाई धार्मिक अतिक्रमणको सूचीबाट हटाएको छ। नाइजेरियाको भ्रमणमा रहेका अमेरिकी राज्य सचिवालयका एन्टोनी ब्लिङकनको भ्रमणलाई मध्यनजर गर्दै सो सूचीबाट हटाएको हो।

त्यस्तै विदेशमन्त्री ब्लिंकन बिहीबार नाइजेरियाको भ्रमणमा जाने तय भएका छन्। अमेरिकाले गत वर्ष नाइजेरियालाई धार्मिक अतिक्रमणकारीको सुचीमा राख्दै विशेष निगरानीमा राखेको थियो। धार्मिक स्वतन्त्रताको नाममा नाइजेरियाले निर्मम हिंसा गर्ने गरेको भन्दै अमेरिकाले सो सूचीमा राखेको थियो।

अमेरिकी राज्य विभागद्धारा हालै जारी सूचनाअनुसार अमेरिकाले नाइजेरियालाई सो सूचीबाट हटाएको छ। म्यानमार, चीन, इत्रिया, इरान, उत्तर कोरिया, पाकिस्तान, रुस, साउदी अरेबिया, ताजकिस्तान, टुर्केमिनिस्तान, अल्जेरिया, कोमोरस, क्युवा, नाकारागुआलाई भने अमेरिकाले धार्मीक अतिक्रमणको सूचीमा राखेको छ।

हाललाई अमेरिकाले नाइजेरियालाई सो सूचीबाट हटाए पनि नाइजेरियामा बोको हराम समूहको ज्यादती भने कायमै छ।

अमेरिका, क्यानडा र मेक्सिकोका नेताबीच पाँच वर्षपछि पहिलो पटक वार्ता

वासिङ्टनः अमेरिका, क्यानडा र मेक्सिकोका राष्ट्र प्रमुखबीच पाँच वर्षमा पहिलो पटक शीर्ष बैठक हुने भएको छ। आर्थिक एकिकरण, आप्रवासी र महामारीबारे छलफल गर्न तीनै देशका राष्ट्र प्रमुखबीच वासिङ्टन डीसीमा बैठक हुने भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति आन्ड्रेस लोपेज ओब्राडरले सन् २०१६ पछि बिहिबार पहिलो पटक प्रत्यक्ष रुपमा बैठक हुने बताइएको छ।

‘थ्री अमिगोज समिट’ नाम दिइएको सो त्रिपक्षीय बैठकलाई अमेरिकी राष्ट्रपति बाइडेनले पुनः व्युँताउने कोसिस सुरु भएको बताएका छन्। सो बैठक सन् २०१६ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको थियो। सो बैठकमा ट्रम्पले त्रिपक्षीय सम्बन्धमा आफू इच्छुक नरहेको बताएका थिए।

बुर्किना फासोमा मर्नेको संख्या ५३ नाघ्यो

इनाटा: पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा गत आइतबार भएको हमलामा परी ज्यान गुमाउनेको संख्या ५३ नाघेको छ। त्रिपक्षीय सीमा क्षेत्रनजिकै प्रहरी पोष्टमा भएको हमलामा परी ज्यान गुमाउनेको संख्या ५३ नाघेको हो।

गत आइतबार बुर्किना फासोको उत्तरी क्षेत्र इनाटास्थित सुन खानी नजिकै सुरक्षाकर्मीको पोष्टमा हमला भएको थियो। त्यहाँका बन्दुकधारी समूहले गरेको सो हमलामा परी ३२ को घटनास्थलमै मृत्यु भएको थियो।

अधिकारीहरुले दिएको ताजा जानकारीअनुसार सो संख्या बढेर ५३ नाघेको छ। जसमा मर्नेहरुमा ४९ सैन्य प्रहरी र ४ नागरिक रहेको सरकारका प्रवक्ता औसेनी ताम्बौराले बताएका छन्। सो क्षेत्रमा करिब १५० सुरक्षाकर्मी खटिएको र सबैको मृत्यु भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.