सरुवा रोगको चापमा नेपाल

सरुवा रोगको चापमा नेपाल

रोगको पहिचान गर्न चासो नदिएसम्म अज्ञात भनिने संक्रामक रोगको चाङ घट्ने होइन, बरु बढ्ने सम्भावना बढी देखिन्छ।


विभिन्न समयमा देखिएका सरुवा रोगहरूको उतारचढावलाई विश्लेषण गर्ने गरिन्छ। अस्पताल भर्ना हुनुपर्ने कारकको तथ्यांक केलाउँदा एउटा रोगमा अड्किएँ। त्यो वास्तवमा रोगको नाम थिएन। अर्थात् ज्वरोका कारक थाहा नभएका गुमनाम सरुवा रोगहरूको चांगको संख्या थियो। त्यो तथ्यांकले लेखक जति आश्चर्यमा परेको थियो, त्योभन्दा बढी चिन्तित भएको छ। ज्वरो आउनुका कारक थाहा नभएका केसलाई ‘पाइरेक्सिया अफ अन्–नवन ओरिजिन’ पनि भन्ने गरिन्छ। टेकु अस्पतालमा ज्वरोसँग सम्बन्धित समस्याहरू नै लिएर बिरामी आउने गर्छन्। त्यसको कारक संक्रमण पत्ता लगाएर उपचार गर्ने गरिन्छ। अस्पतालमा कतिपय ज्वरोका बिरामीहरूको व्यापक परीक्षणका बाबजुत संक्रमणको निदान हुन सक्दैन।

सात वर्ष अगाडिको तथ्यांक हेर्दा (२०७०/७१) ज्वरोका कारक थाहा नभएका गुमनाम सरुवा रोग प्रथम तीन उच्च स्थानभित्र परेको थिएन। तर त्यसको ठीक चार वर्षमा आइपुग्दा (२०७४/७५) यो समस्याले दोस्रो उच्च स्थान ओगटेको देखिन्छ। त्यसको ठीक अर्को वर्ष अर्थात् कोभिड–१९ को महामारी अगाडि (२०७५/७६) सबै रोगलाई उछिन्दै प्रथम स्थान ओगटेको देखिन्छ। यस्तो हुनुमा हाल भइरहेको परीक्षणको दायरा केही वर्षदेखि सीमित रहनु वा नबढ्नु र ज्वरोका कारकतिर सम्बन्धित निकायको ध्यान नजानु भन्ने बुझिन्छ। उपचारपश्चात् ‘ज्वरोका बिरामी’ भनेर डिस्चार्ज गरिन्थ्यो र अहिले पनि त्यसै नै गरिन्छ। तर सधैं संक्रमण पुष्टि नहुने र अज्ञात रोगहरूको तथ्यांकले उकालोको बाटो पछ्याउने हो भने संक्रमितले सही उपचार नपाउने र प्रकोपको रूप लिए नियन्त्रणका उपायहरू अपनाउन नसकिने हुन्छ। फलस्वरूप अस्पताल भर्ना हुनुपर्ने अवस्था वा मानवीय क्षति रोक्न कठिन हुनेछ। उदाहरणका लागि चीनको बुहानमा कोभिड–१९ को पहिचान हुनुभन्दा अगाडि ‘सार्स जस्तो भाइरस’ देखिएको र त्यसले दर्जनौं मानिस अस्पताल भर्ना गराएको थियो।

यद्यपि नेपालमा सो समयमा कोरोना परीक्षण नहुने हुँदा आधिकारिक पुष्टि हुन भने केही दिन थप लागेको थियो। तर बिरामीको सफल उपचार गरेकोमा गौरव गर्न भने नेपालले नगरेको देखिन्छ। किनभने त्यो बेला न उपचारको ज्ञान थियो, न त खोपको उपलब्धता नै। जसले गर्दा विश्व नै त्रसित भएको थियो। डिसेम्बर ३१, २०१९ मा यो रोगको बारेमा आधिकारिक रूपमा विश्व स्वास्थ्य संगठनमा जानकारी गराइएको थियो। सुरुमा पहिचान र सर्ने तरिकाको जानकारी नहुँदा यो भाइरस मानिसबाट मानिसमा सर्दैन भन्ने भ्रम थियो। तर, स्वास्थकर्मीहरू नै एकपछि अर्को संक्रमित र मृत्यु हुँदै जान थालेपछि भने पूर्ण सतर्कता अपनाउन थालियो। यसबाट पनि रोग पहिचान कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ।

संक्रमणको पहिचान गर्न सके खोपको विकास गर्न सहज हुने गर्छ। हाल कोरोनाविरुद्धका खोपहरू विकास भइसकेका छन्। विस्तारै यसको उपलब्धतामा पनि सहज हुँदैछ। नेपालमा पनि खोपले नियमितता पाइरहेको छ। गुमनाम संक्रामक रोगहरूको पहिचान गर्न भने सहज र सरल छैन। यसका लागि व्यापक अनुसन्धानहरूको आवश्यकता पर्छ। कोभिड–१९ का बारेमा चीन मात्र नभई विश्व नै दिनरात अनुसन्धानमा लागिपरे। फलस्वरूप, कोभिड–१९ बारेमा जानकारी तीव्र गतिमा आउने क्रम जारी रह्यो। इतिहासमै पहिलो पटक कोभिड–१९ विरुद्धको खोप छोटो समयमा विकास भयो। औषधिहरूको अनुसन्धानले पनि तीव्रता पाएको थियो। यद्यपि रेमिडिसिभिरजस्ता एन्टिभाइरल औषधिका बारेमा भने बहस/दुविधा देखिएको थियो र अझै पनि छ।

केही दिनअगाडि मात्र कोभिड–१९ विरुद्ध प्रयोग हुने ‘मोल्नुपिराभिर’ नामक एन्टिभाइरल औषधिले बेलायतमा अनुमति पाएको छ। यसको प्रयोगले कोरोना संक्रमितको अस्पताल भर्ना र मृत्यु हुने संख्यालाई लगभग आधामा घटाइदिने भनिएको छ। यसको प्रयोग भने संक्रमण भएको पहिलो पाँच दिनभित्र गरे बढी प्रभावकारी हुने भनिएको छ। अनुसन्धानबाट रोगको पहिचान मात्र होइन, उपचारका लागि उपयुक्त औषधिको चयन वा विकास, खोप विकास तथा नियन्त्रणका उपाय खोज्न सकिन्छ। केही वर्ष अगाडिसम्म कालाज्वरो तराईका केही जिल्लामा मात्र सीमित छ भन्ने गरिन्थ्यो। र यसलाई तराईको रोग पनि भन्ने गरिन्छ। उपचारमा संलग्न हुँदा पहाडबाट आएका तर कहिले पनि तराई वा भारत नगएकाहरूमा पनि कालाज्वरोको संक्रमण देखेको थियो।

तसर्थ, यो रोग तराईमा मात्र सीमित नभई पहाडतिर पनि सर्दै गइरहेको अनुमान थियो। सो अनुमानलाई पुष्टि गर्न अनुसन्धान बढाएँ। नतिजा, नेपालमा पहिलो पटक अनुसन्धानमार्फत कालाज्वरोले बसाइँ सरिरहेको अर्थात् तराईबाट पहाडतिर चढ्दै गइरहेको पाइयो। पछिल्लो समय वैज्ञानिक समूहले कालाज्वरो पहाडसम्म मात्र नभई हिमालसम्म पुगेको प्रमाणित गरेको थियो। यद्यपि थप विस्तृत अनुसन्धानहरूको जरुरी भने देखिन्छ। कालाज्वरो अछाम लगायतका पहाडी इलाकामा अज्ञात रोगको रूपमा देखिँदै/फैलिँदै आएको रहेछ।

ती ठाउँमा अज्ञात वा गुमनाम भनिएका कालाज्वरो ज्ञात रोगमा परिणत हुन थालेको थियो। हाल यसको समयमै सहज पहिचान र उपचार हुँदै आइरहेकाले यसबाट भइरहेको/हुन सक्ने मानवीय क्षतिलाई रोक्न सकिएको छ। रोग पहिचान भएकाले कालाज्वरोबाट बच्ने भन्ने उपायबारे जनचेतनामूलक कार्यक्रम पनि गर्न सकिएको छ। विविध भौगोलिक अवस्थाको कारणले गर्दा संक्रमणमा पनि विविधता देखिन्छ। तर पछिल्लो समय मानिसको सहज आवतजावत वा पहँुचले गर्दा एक ठाउँमा देखिने गरेको संक्रामक रोगले अर्को ठाउँमा अज्ञात रोगको परिचय बनाइरहेको हुन सक्छ। त्यसले समयमा पहिचान र उपचारमा समेत प्रभावित पारेको/ढिलाइ भइरहेको हुन सक्छ। हाल नेपालमा सीमित संक्रामक रोगहरूको मात्र पहिचान गर्ने कोसिस गरिन्छ। अझ, धेरै अस्पतालमा ती संक्रमणको समेत निदान गरिँदैन। यसले अनुमानको भरमा उपचार गर्नुपर्ने हुन्छ र त्यसै गरिँदै आएको पाइन्छ। अनुमानको भरमा उपचार गर्दा अनावश्यक एन्टिबायोटिक औषधिहरूको प्रयोग बढी हुने सम्भावना रहन्छ। अनावश्यक एन्टिबायोटिक औषधिहरूको प्रयोगले गर्दा ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ। यो समस्याले नेपालमा पनि पछिल्लो समय बिकराल रूप लिँदै गएको छ।

हाल अज्ञात वा गुमनाम भनिएका संक्रमणले भविष्यमा प्रकोप या महामारीको रूप नलेला भन्न सकिँदैन। संक्रमण पत्ताा लगाउने जमर्को नगर्ने हो भने हरेक वर्ष यी थाहा नभएका सरुवा रोगहरूले नेपालीलाई स्वास्थ्य समस्या दिने क्रम भने रोकिने छैन।

छिमेकी देश भारतमा पनि अनुमानको भरमा एन्टिबायोटिक औषधिहरूको जथाभावी प्रयोगले ब्याक्टेरियाले बहुएन्टिबायोटिक औषधि प्रतिरोधात्मक क्षमता विकास गर्दै आइरहेको अनुसन्धानहरूले देखाएका छन्। यस्ता संक्रमणलाई ‘सुपर–बग’को नामले पनि सम्बोधन गर्ने गरिन्छ। केही वर्षयता नेपालमा पनि कतिपय नयाँ संक्रमणहरूको पहिचान हुने क्रम जारी छ। वेस्टनाइल भाइरस, चिकुनगुनिया भाइरस, एडल्ट रोटाभाइरस, नोरोभाइरस, लाइम डिजिज आदिजस्ता रोग उदाहरण हुन्। तर यी रोग नियमित परीक्षणअन्तर्गत पर्दैनन्। तसर्थ यी रोग गुमनाम रहेको अर्थात् अज्ञात रोगको तथ्यांकमा जोडिरहेको अनुमान गर्न सकिन्छ। तसर्थ नेपालमा ज्वरोका कारक भनी पत्ता लागेका नयाँ नयाँ संक्रामक रोगहरूको पनि थप अध्ययन गरेर सिजन, लक्षण आदिको आधारमा नियमित परीक्षणको दायरामा ल्याउनु पर्छ।

हाल अज्ञात वा गुमनाम भनिएका संक्रमणले भविष्यमा प्रकोप या महामारीको रूप नलेला भन्न सकिँदैन। स्वाइन फ्लु तथा कोभिड–१९ यसका ज्वलन्त उदाहरण हुन्। सुरुमा मेक्सिकोमा देखिएको स्वाइन फ्लुको पहिचान अमेरिकामा पुगेपछि मात्र भएको थियो। चीनमा कोभिड–१९ ले पनि सुरुमा केही दर्जन मानिसलाई अस्पताल भर्ना गराउँदासम्म ‘सार्सजस्तो भाइरस’ भन्ने गरिन्थ्यो। यी दुवै भाइरस सुरुमा सानो संख्याका मानिसलाई संक्रमण गरेको/मृत्यु गराएको देखिए पनि छिमेकी देश हुँदै विश्वव्यापी प्रभाव पारेका थिए। चाखलाग्दो कुरा के छ भने यी दुवै भाइरस (स्वाइन फ्लु र कोभिड–१९) क्रमशः सन् २००९ र २०२० (झन्डै १० वर्षको अन्तरालमा) गर्छ घोषणा भए। नेपालमा निदान नभएका संक्रामक रोगहरूले गर्छको रूप लिनैपर्छ भन्ने त छैन। संक्रमण पत्ता लगाउने जमर्को नगर्ने हो भने हरेक वर्ष यी थाहा नभएका सरुवा रोगहरूले नेपालीलाई स्वास्थ्य समस्या दिने क्रम भने रोकिने छैन। अझ माथि अस्पतालको तथ्यांकमा जस्तै बढ्दै जाने भने सक्ने देखिन्छ।

अन्तमा, अस्पतालको तथ्यांकमा गुमनाम वा पुष्टि हुन नसकेका ज्वरोका बिरामीको संख्या बर्सेनि निरन्तर उकालो लाग्नु। त्यो पनि सबैभन्दा उच्च स्थानमा पुग्नु भनेको अचम्म, चाखलाग्दो तर चिन्ताजनक समस्याको संकेत हो। ज्वरो आफैंमा रोग नभई लक्षण मात्र हो। लगभग सबै संक्रमणमा देखिने गर्छ। तर संक्रमणहरूको पहिचान, उपचार विधि तथा बच्ने उपायहरू भने फरकफरक हुने गर्छ। संक्रामक रोगलाई नसर्ने रोगको तुलनामा कम महत्त्व दिने तथा छायाँमा पारेको देखिन्छ। तर केही वर्षको अन्तरालमा संक्रामक रोगले महामारीको रूप लिँदा भने सबैको ध्यान सरुवा रोग अस्पतालप्रति केन्द्रित हुने गरेको देखिन्छ। रोगको पहिचान गर्ने चासो नदिएसम्म अज्ञात भनिने संक्रामक रोग चांग घट्ने होइन, बरु बढ्ने सम्भावना बढी देखिन्छ। अनुसन्धान नै यसको मुख्य समाधान हुनसक्छ। यसमार्फत नेपालमा देखा पर्दै आइरहेका संक्रामक रोगको पहिचान र उतारचढाव हेर्न सकिनेछ।
लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.