फिलिपिन्समा चर्च संस्थापक नै महिला बेचविखनमा
म्यानिला : फिलिपिन्समा चर्चका संस्थापक नै महिला बेचविखन र यौन हिंसामा लागेको पाइएको छ। फिलिपिन्समा चर्च स्थापना गरि बसेका एक व्यक्ति नै महिला बेचविखन र यौन हिंसामा लागेको भेटिएको हो । आरोपित अपोलो क्यारेओन क्वैवोले ‘किंगडम अफ जिसस क्राइस्ट दी नेम अबोभ एभ्रि नेम’ चर्चका संस्थापक हुन् भने उनी अन्य चर्चका नेतृत्वकर्ता समेत हुन् । अपोलो फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका साथी एवम् सल्लाहकारसमेत हुन् ।
७१ वर्षीय अपोलोले आफू ‘परमेश्वरका छोरा’ र ‘संसारको मालिक’ भएको दाबी गर्दै आएको विभागले बताएको छ । विभागका अनुसार अपोलोले सोहि नाममा १२ देखि २५ वर्ष उमेर समूहका महिलालाई चर्चका सदस्य बनाउने र सोहि माध्यमबाट बेचविखन गर्ने गरेको अभियोग लागेको छ । यति मात्र नभइ रात्रीकालिन ड्युटीमा खटिएको भन्दै महिलामाथि यौन शोषण गर्ने गरेको बताइएको छ ।
उनीमाथि गतवर्ष चर्चका महिला सदस्यमाथि यौन शोषण गर्ने गरेको आरोप लागेको थियो । बिहीबार उनीमाथि लागेका थप आरोपलाई केलाउँदै अमेरिकी न्याय विभागले कारबाही अघि बढाउने बताएको छ ।
आरोपित अपोलोले १२ देखि २५ उमेर समुहका महिलालाई आफ्नो व्यक्तिगत सहायक (पिए) बनाउने गरेको र ति उमेर समुहका महिलालाई अनन्त पिडा अन्त्य गर्ने भन्दै यौन सम्बन्ध समेत राख्ने गरेको अन्तर्राष्ट्रिय सच्चारमाध्यममा उल्लेख छ ।
चर्चमा जागिर दिलाउने प्रलोभनमा विभिन्न उमेर समूहका महिलालाई फिलिपिन्सबाट अमेरिका पुर्याउने गरेको अमेरिकी न्याय विभागले शुक्रबार अन्तराष्ट्रिय सञ्चारमाध्यमसँग बताएको छ ।