भारतले अनुमति नदिएपछि नेपालको बाटो हुँदै छाङ्गरु र तिंकरमा जनगणना
दार्चुला : जिल्लाको ब्यास गाउँपालिका-१ छाङ्गरु र तिंकरमा जनगणना गर्न सहायक जनगणना अधिकारी खगेन्द्र कार्की खटिएका छन्। भारतले छाङ्गरु जान बाटोको अनुमति नदिएपछि शुक्रबार सहायक जनगणना अधिकारी कार्की नेपालको बाटो हुँदै एक जना सहयोगी लिएर त्यसतर्फ प्रस्थान गरेका छन्।
पटक-पटक आग्रह गर्दा पनि भारतले अनुमति नदिँदा नेपालकै बाटो भएर सहायक जनगणना अधिकारी कार्की ब्यास क्षेत्र हिँडेको सूचना अधिकारी जनक सिंह बोहराले बताए। उन्ले भने, ‘जिल्ला प्रशासनबाट अनुमति मागेर धेरैपटक भारतको बाटो भएर जान खोज्दा भारतले जान दिएन। गणकलाई जान नदिएपछि आफ्नै भूमिबाट सहायक जनगणना अधिकारी कार्की र साथमा कार्यालयका सहयोगी लोकेन्द्र टेर व्याँस हिँडेका छन्।’
आज शुक्रबार दिउँसोतिर टोली सुन्सेरा पुगेको छ। त्यहाँबाट वडा नम्बर २ दुम्लिङ हुँदै २ दिनको यात्रामा छाङ्गरु पुग्ने योजना रहेको छ। नेपालबाट ब्यास गाउँपालिका-२ दुम्लिङसम्म मात्र बाटो रहेको छ।
कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धारचुलाबाट छियालेक-गब्र्याङ हुँदै सीता पुल तरेर छाङ्गरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो।
एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएन। दार्चुला प्रशासनले पहिलोपटक कात्तिक २५ र ३० गते पत्र पठाएको र त्यसको कुनै जवाफ नआएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन। भदौ ३ देखि १८ गते भएको सूचीकरणको बेला सुपरिवेक्षकलाई छाङ्गरु जान दिए पनि अहिले आएर गणकलाई रोक लगाएको हो। कात्तिक २७ गतेतिर सो क्षेत्रको जनगणनामा खटाएका गणक राजेन्द्र कार्कीलाई भारतीय एसएसबीले नेपाल जान नदिएर फर्काएका थिए।
सूचना अधिकारी बोहराले भने, ‘गणकलाई सीतापुल क्षेत्रबाट वारी आउनै नदिइ फर्काइयो, उनको साथबाट ५-६ प्रश्नावलीसमेत एसएसबीले थुत्यो।’
सोही कारण गणक राजेन्द्र कार्कीले ब्यास जान नमानेपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की पैदल हिँडेका छन्। छाङ्गरु र तिंकरमा सीमित घर भएकाले गणनामा सहायक जनगणना अधिकारी कार्कीलाई त्यत्ति अप्ठ्यारो नपर्ने उनले बताए। तिंकर र छाङ्गरुमा १ सय १३ परिवारको बसोबास रहेको छ। सो क्षेत्रमा सौका समुदायको बसोबास छ चिसो बढेकाले उनीहरू अब जिल्ला सदरमुकाम खलङ्गा कुन्चा सर्ने तयारीमा छन्।
भारतीय अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
व्याँस गाउँपालिका-१ स्थित कुटी, नाभि र गुञ्जी भारतीय अतिक्रमणमा छन्। ती गाउँसँगै जोडिएका तिंकर र छाङ्गरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ। तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशिले बताए।
तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ। भदौमा भएको सपुरिवेक्षणको बेलामा छाङरुमा ८१ र टिंकरमा ३२ घरधुरी छन । टिंकर नेपाल–चीन सीमा क्षेत्र हो भने छाङरु नेपाल–भारत सीमावर्ती गाउँ हो ।