अन्ततः मोदीले खारेज गरे कृषि कानुन, अमेरिका जान २८ हजार बढीको आवेदन

अन्ततः मोदीले खारेज गरे कृषि कानुन, अमेरिका जान २८ हजार बढीको आवेदन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादित कानुन फिर्ता लिएको समाचार आज चर्चमा रह्यो। विगत एक वर्षदेखि उक्त कानुनविरुद्ध त्यहाँका किसानहरु आन्दोलनमा थिए। त्यस्तै चीन र ताइवानको विवादबारेको समाचार पनि चर्चामा रह्यो। चीनको धम्कीबीच ताइवानले आफ्नो रक्षा शक्ति बढाउने निर्णय गरेको थियो। त्यस्तै पुनः कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अष्ट्रियामा पूर्णलकडाउन गरिएको छ। उता अफगानिस्ताका २८ हजार नागरिकले अमेरिका जान निवेदन दिएको समाचार आज चर्चामा रह्यो। प्रस्तुत छ, शुक्रबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू:


विवादित कृषिसम्बन्धी तीन कानुन भारत सरकारद्वारा फिर्ता

नयाँ दिल्ली- भारतमा अति विवादमा परेका तीन कानुन सरकारले शुक्रबार फिर्ता लिएको छ। झन्डै एक वर्ष अगाडि संसद्बाट पारित भएका तीन कानुनका विरुद्धमा वर्षभरl किसानहरुले आन्दोलन गरिरहेका थिए।

आन्दोलनका क्रममा सयौँको मृत्यु भयो भने हजारौँ घाइते भ । तैपनि किसानहरुले आन्दोलन जारी राखेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै कानुन फिर्ता लिइएको घोषणा गरेका हुन्।

राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, 'सबै जनालाई आज म यो अनुरोध गर्न चाहन्छु कि हामीले विवादमा परेका र विरोध भइरहेका कृषिसम्बन्धी तीन वटै कानुन फिर्ता लिने निर्णय गरेका छौं।'

उनको घोषणापछि कृषकहरूले खुसीयाली मनाएका छन्। उनीहरुको आन्दोलन गरेको सङ्गठनले यो घोषणालाई आफ्नो ठूलो जितको रुपमा लिइएको जनाएको छ। अरुले पनि विवादास्पद र विरोध भइरहेको कानुन फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन्।

कृषकहरुको बसोबास धेरै रहेको पञ्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले किसानहरुलाई खुसी बनाउने गरी विवादास्पद कानुन फिर्ता लिएको घोषणा गरेका हुन्।

हजारौँ किसानहरुले अघिल्लो वर्षको नोभेम्बरदेखि ती कानुनको विरोधमा राजधानी दिल्लीको सीमाक्षेत्रमा धर्ना दिइरहेका थिए। बेलाबेलामा देशव्यापी कठोर आन्दोलनहरु पनि गरेका थिए।

सरकारी पक्षले कानुन फिर्ता लिए पनि कानुन ठीक नै रहेको दाबी गरिरहेकाले अहिले नै पूरै आन्दोलन फिर्ता लिन भने नसकिने कृषक नेता राकेश टिकैतले बताए। सरकारले फिर्ता लिने निर्णय गरे पनि संसद्बाट कानुन खारेज गरेपछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रमहरु अन्त्य गर्ने उनले स्पष्ट पारे।

झन्डै ४० कृषक सङ्गठनको छाता संस्था संयुक्त किसान मोर्चाले सरकारले गरेको अनुरोधका बाबजुद पनि विरोधबाट पछि हट्न अस्वीकार गरेको थियो। जाडोमा पानीको फोहरा र अश्रुग्यास सहँदै भारतीय किसानहरूले आन्दोलन गरिरहेका थिए। कृषकहरूले अत्यन्त जाडो र अत्यन्त गर्मीको बेलामा पनि कोरोनाभाइरसको खोजिम मोल्दै निरन्तर आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा ठन्डी, गर्मी र कोरोनाका कारण केही किसानहरुको मृत्युसमेत भएको छ।

चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले अफ्रिकामा पूर्वाधार विकास गर्ने

आबुजाः अमेरिकी विदेश सचिव एन्टोनी ब्लिंकनले चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले अफ्रिकाको पूर्वाधार विकासमा लगानी गर्ने बताएका छन्। अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको मुलुक नाइजेरियाको भ्रमणमा रहेका बेला ब्लिंकनले सो बताएका हुन्।

सो भ्रमणमा रहेका उनलाई रिपोर्टरहरुले अफ्रिकाको पूर्वाधार लगानीबारे अमेरिका र चीनको प्रतिस्पर्धा सम्बन्धमा सोधेका थिए। सो प्रश्नको जवाफमा ब्लिंकनले चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले अफ्रिकाको पूर्वाधार विकासमा लगानी गर्ने बताएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

‘संसारको शक्ति र शीर्ष मुलुक भएपछि पूर्वाधार लगानीमा हामीले सोच्नुपर्छ। हामीले अफ्रिकाको पूर्वाधार विकासमा अमेरिकाले लगानी गरिरहेको छ र अझै गर्नेछ,’ ब्लिंकनले भनेका छन्, ‘यो चीनसँगको नकारात्मक होइन, सकारात्मक प्रतिस्पर्धा हो।’

अफ्रिकाको सहयोगको स्वरुप ब्लिंकनले करिब २.१७ बिलियन डलर लगानीको लागि हस्ताक्षर गर्ने बताइएको छ। ब्लिंकन बिहीबार नाइजेरियाको भ्रमणमा निस्किएका थिए। 

अष्ट्रियामा पूर्ण लकडाउन

भियनाः युरोपेली मुलुक अष्ट्रियाले देशव्यापी लकडाउन गर्ने घोषणा गरेको छ। देशमा कोभिड-१९ पुनः फैलिएको भन्दै आगामी सोमबारदेखि लागू हुनेगरी पूर्ण लकडाउन घोषणा गरेको हो।

अष्ट्रियाका चान्स्लर एलेक्जेन्डर सालेनवर्गले करिब १० दिनसम्मका लागि लकडाउन गर्ने र आवश्यकताअनुसार लकडाउन थप गरिने बताए। ‘अष्ट्रियामा कोभिड १९ को पाचौ लहर फैलन नदिन हामीले पूर्ण लकडाउनको निर्णय गरेका हौं,’ उनले भनेका छन्।

अष्ट्रिया पश्चिम युरोपेको कोभिडविरुद्ध सबैभन्दा कम खोप लगाउनेमा मुलुकमा पर्छ। अष्ट्रियामा कोभिड-१९ का नयाँ संक्रमण बढेकोले अधिकांश युरोपेली मुलुकले अष्ट्रियामाथि प्रतिबन्ध लगाएका छन्।

अमेजनमा वर्षेनि २२ प्रतिशत वन विनाश

ब्राजिलियाः ब्राजिलको अमेजन रेन फरेस्ट (वर्षा वन) वर्षेनि २२ प्रतिशतको दरले विनाश भइरहेको एक तथ्यले देखाएको छ। ब्राजिलको स्पेस रिसर्च एजेन्सीले गरेको नयाँ अध्ययनले अमेजन जंगल वर्षेनि २२ प्रतिशतले विनाश भइरहेको देखाएको हो।

ब्राजिलको अमेजन संसारका लाखौं आदिवासी मानिससहित लाखौं वनस्पती, जीवजन्तु र जनावरको घर मानिन्छ। बढ्दो वैश्विक तापक्रम वृद्धिका लागि अमेजन जंगलले कार्वन सञ्चित गरी तापक्रम वृद्धि रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

तर सोही जंगल १५ वर्षमा सबैभन्दा बढी विनाश भएको समेत अध्ययनले देखाएको छ। एजेन्सीको नयाँ तथ्यांकअनुसार सन् २०२०-२१ मा मात्र करिब १३ हजार २३५ स्क्वायर किलोमिटर वन विनाश भएको छ। जुन सन् २००६ यताकै उच्च वन विनाश हो। डढेलो, चोरी निकासी र काठ तस्करीका कारण अमेजन जंगल वर्षेनि २२ प्रतिशतले विनाश भएको सो तथ्यांकमा उल्लेख छ।

जलवायु सम्मेलन कोप २६ मा संसारका १ सय मुलुकमध्ये ब्राजिलले पनि सन् २०३० सम्ममा अमेजनको वन विनाश रोक्ने वाचा गरेको छ। ब्राजिलका वातावरणमन्त्री जाओक्विम लेइटले नयाँ तथ्यांकले वन जोगाउन नयाँ चुनौति थपेको बताएका छन्।

भारतमा भारी वर्षापछि घर भत्किदाँ ९ को मृत्यु

तामिलनाडुः भारतको तामिलनाडुस्थित भिल्लोरे जिल्लामा भारी वर्षापछि घर भत्किदाँ एकै परिवारका ९ जनाको मृत्यु भएको छ। बिहीबारदेखिको लगातार वर्षापछि घर भत्किदाँ ४ बालबालिकासहित एकै परिवारका ९ जनाको मृत्यु भएको हो।

सो घर बिहीबार राति भत्किएको शुक्रबार त्यहाँको प्रहरीले बताएको छ। घटनास्थल पुगेका जिल्ला अधिकारीका अनुसार भत्किएको घर पुरानो भएको र बिहीबार दिउँसोको भारी वर्षाका कारण भत्किएको हो।

त्यहाँका मुख्यमन्त्रीले मृतकका आफन्तलाई जनही ५ लाख भारु दिने घोषणा गरेका छन् भने त्यहाँ भएका अन्य घर जिर्णोद्धारका लागि अन्यलाई ५० हजार भारु दिने घोषणा गरेको भारतीय मिडियामा खबर छ।

चीनको धम्कीबीच ताइवानले बढायो रक्षा शक्ति 

ताइपेईः चीनको धम्कीबीच ताइवानले आफ्नो रक्षा शक्ति बढाएको छ। ताइवान सेनाले अत्यधुनिक एफ-१६भी नामक नयाँ लडाकु विमान अनावरण गर्दै आफ्नो रक्षा शक्ति बढाएको हो।

ताइवानका राष्ट्रपति साई इङ वेनले बिहीबार सियाई सैन्य वेशस्थित वायु सेनामा अत्यधुनिक एफ-१६भी लडाकु विमान अनावरण गरेकी छन्। सो विमान ताइवानको कूल १४१ एफ–१६ ए-बी लडाकु विमानकै हिस्सा भएको बताइएको छ। सन् २०२३ को अन्त्यसम्म ताइवानले सबैखाले लडाकु विमान पूर्णरुपमा विकास गरिसक्ने योजना बनाएको बताइएको छ।

चीनले स्वशासित टापु ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। ताइवान टापुमाथि कसैले बोल्न नपाउने भन्दै चीनले चेतावनीसमेत दिँदै आएको छ। पछिल्लो समय चीनले ताइवानमाथि सैन्य अभ्यासको नाममा पटक-पटक हमला गर्दै आएको छ। चीनको सो कदमप्रति ताइवान र विभिन्न अन्तर्राष्ट्रिय निकायले समेत आपत्ति जनाउँदै आएका छन्।

अमेरिका जान २८ हजार बढीको आवेदन

काबुलः अमेरिकामा अस्थायी बसोबासका लागि करिब २८ हजारभन्दा बढी अफगान नागरिकले आवेदन भरेका छन्। मानवीय संकट र सहायताको कारण देखाउँदै अमेरिकाको अस्थायी बसोबासका लागि करिब २८ हजारभन्दा बढी अफगान नागरिकले आवेदन भरेका हुन्।

अधिकारीहरुले समाचार एजेन्सी एपीसँग बताएअनुसार अमेरिकामा अस्थायी बसोबास खोज्ने अफगान नागरिकको संख्या दिनानुदिन बढिरहेको छ। अफगानिस्तानमा नयाँ तालिबान सरकार आएदेखि हालसम्म त्यहाँका करिब २८ हजारभन्दा बढी नागरिकले अमेरिकाको लागि आवेदन भरेका छन्।

यद्यपि, २८ हजारमध्ये करिब एक सय नागरिकलाई मात्र अमेरिकाको अध्यायगमन विभागले अस्थायी बसोबासका लागि अनुमति दिएको एपीमा उल्लेख छ।

पाँच शंकास्पद व्यक्तिको प्रहरीबाटै हत्या

काम्पालाः युगान्डा प्रहरीले पाँच शंकास्पद व्यक्तिको हत्या गरेको छ। केही दिनअघि युगान्डाको राजधानी काम्पालामा दुईवटा छुट्टाछुट्टै आत्मघाति बम विस्फोट गराएको आशंकामा प्रहरीले पाँच शंकास्पद व्यक्तिको हत्या गरेको हो।

गएको मंगलबार राजधानी काम्पालास्थित संसद् भवन नजिकै र प्रहरी चौकी नजिकै दुईवटा आत्मघाति बम विस्फोट भएको थियो। छुट्टाछुट्टै विस्फोटमा परी ३ मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३३ घाइते भएका थिए। सो घटनाको जिम्मा आइएसआइएलले लिएको थियो।

प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको थियो। युगान्डाको आतंकवादविरोधी प्रहरी अधिकारीहरुले सो घटनामा संलग्न पाँच शंकास्पद व्यक्तिलाई मारेको त्यहाँका प्रहरी प्रवक्ता फ्रेड एनाङ्गाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएका छन्। घटनामा संलग्न रहेको आरोपमा अन्य २१ लाई प्रहरीले पक्राउ गरेको समेत उनले बताएका छन्।

प्रहरीले मारेका र पक्राउ गरेका सबै आतंकवादी समूह इस्लामिकका सदस्य रहेको स्थानीय मिडियामा खबर छ।

थियोपियामा शक्ति दुरुपयोगको आरोपमा पाँच प्रहरी पक्राउ

एडिस अवावाः शक्ति दुरुपयोगको आरोपमा पाँच इथियोपेली प्रहरी पक्राउ परेका छन्। संकटकाल घोषणाको समयमा सुरक्षाकर्मीलाई दिइएको शक्ति दुरुपयोग गरेको आरोपमा पाँच प्रहरी अधिकारी पक्राउ परेका हुन्।

एडिस अवावाका प्रहरी प्रवक्ताका अनुसार पक्राउ परेका प्रहरीहरुले संकटकालको समयमा विद्रोही समूह टायग्रेलाई साथ दिएका थिए। उनीहरुले गोप्य सूचना विद्रोही समूहलाई दिने गरेको र उनीहरुबाट पैसा लिने गरेको भेटिएको छ।

सोही आरोपमा पाँच प्रहरी अधिकारीहरुलाई पक्राउपछि हिरासतमा राखिएको बताइएको छ। ईथियोपियाले यही महिनाको सुरुवातमा संकटकालको घोषणा गरेको थियो। टायग्रे समूहका लडाकुले उत्तरी क्षेत्रमा कब्जा जमाएपछि राजधानीलगायत क्षेत्रमा करिब ६ महिनाको लागि संकटकालको घोषणा गरेको थियो।   

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.