घरजग्गाको मूल्य बढ्दो

घरजग्गाको मूल्य बढ्दो

काठमाडौं : विशेष गरेर सडक नजिकका घर र जग्गाको मूल्य दिनप्रतिदिन बढिरहेको छ। अझै विकासका पूर्वाधार सम्पन्न सहरी क्षेत्रका घर र जग्गाको भाउ अकासिएको छ। 

सरकारले तोकेको मूल्यमा भन्दा बजारमा चलनचल्तीमा प्रतिस्पर्धी मोलमोलाइबाट किनबेच हुँदा मूल्यवृद्धिको गति तीव्र बढेको छ। तर कुन गतिले बढेको छ भन्ने यकिन तथ्यांक भने थिएन। अब नेपाल राष्ट्र बैंकले घरजग्गाको समयअनुकूल मूल्यवृद्धिको स्थितिबारे निरन्तर जानकारी दिने भएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलो पटक प्रदेशगत आधारमा घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मूल्यवृद्धि (मुद्रास्फीति) केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ। 

यद्यपि जग्गाको मूल्य बढेकै छ। सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मूल्यवृद्धि (मुद्रास्फीति) २६.४५ प्रतिशत रहेको पाइएको छ। यस्तै, मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। यसैगरी, आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा यस्तो मूल्यवृद्धि बैंकको आधारमा १६.३१ प्रतिशत र मालपोत कार्यालयको आधारमा १२.५७ प्रतिशत रहेको छ। 

मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९ सय २० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९ सय ५६ मध्ये ८ हजार २ सय ४० वटा गरी कुल १० हजार ३ सय ३६ वटा कारोबारलाई नमुनाका रूपमा लिइएको थियो। यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३ सय ३२ र १ हजार १ सय ४४ गरी कुल २ हजार ४ सय ७६ वटा कारोबारलाई नमुनाका रूपमा लिइएको थियो।

बजारमा चलनचल्तीमा रहेको घरजग्गाको यकिन मूल्यलाई भन्दा मालपोतमा उल्लेख हुने मूल्य र बैंकमा कर्जा लिन राखिएको घरजग्गा धितो मूल्यांकनलाई आधार मानेर मूल्यवृद्धिको स्थिति पत्ता लगाउने कोसिस गरेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।

 उनका अनुसार सो सर्वेक्षणले देशव्यापी रूपमा घरजग्गाको मूल्यवृद्धिका अवस्थाबारे अध्यावधि (अपडेट) गर्ने अपेक्षा लिइएको छ। ‘घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको हो,’ उनले भने,‘यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गर्ने छौं।’

केन्द्रीय बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील  नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकांक महत्त्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको केन्द्रीय बैंकले बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.